धुलिखेल/जिल्ला समन्वय समिति काभ्रेको आठौं जिल्ला सभा तथा आर्थिक वर्ष २०८१÷०८२ को प्रगति समीक्षा धुलिखेलमा सम्पन्न भएको छ ।
पूर्व मन्त्री एवं काभ्रे क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य गोकुल बास्कोटाको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमको सभापतित्व रहेको कार्यक्रममा पालिकाका प्रमुख, उपप्रमुख, सरकारी कार्यालयका प्रमुख एवं सरोकारवालाको उपस्थिती रहेको थियो ।
कार्यक्रम पूर्व मन्त्री एवं प्रतिनिधी सभा सदस्य गोकुल बास्कोटाले जिल्ला समन्वय समिति काभ्रेले गरेको प्रयासप्रति धन्यवाद दिएका छन् । बास्कोटाले आर्थिक अनुशासनमा कुनै पनि सरकार बस्न नचाहेको बताए । संघ सरकारको बजेट पनि वडा र टोल केन्द्रित हुने परिपाटी रहेको भन्दै उनले पालिका वडा र टोलमा केन्द्रित भएपनि संघ सरकार र प्रदेश सरकारले रोजगारी सिर्जना गर्ने र दीर्घकालीन महत्व राख्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् । कम जनशक्ति, सिमित स्रोत साधनमा पनि असिमित आशा जगाउँदा असन्तुष्टि बढेको बास्कोटाको भनाई छ । प्राथमिकतामा योजना ओझेलमा पर्ने र बजेट छरिने कारण नागरिकको असन्तुष्टि बढेको उनले बताए । सांसद्को सिमा वुझाउन नसकेका कारण उपलब्धि ओझेलमा पर्ने र असन्तुष्टि चर्किने अवस्था बनेको उनले बताए । समाज हिरोइजमले नचल्ने उनको दाबी छ । उनले भने, ‘समाज हिरोइजमले चल्दैन, चल्ने थियो भने फिल्मका हिरोहरुले समाज चलाउँथे, इकोनोमी चलाउँथे । राजनीतिक व्यवस्था, अर्थ व्यवस्था, परम्परागत मान्यता, राज्य र स्रोतका सिमाले राज्यको समग्र क्षमता र सहकार्यका आधारमा आजको विश्व चलेको छ ।’
जिल्ला समन्वय समिति काभ्रे प्रमुख दिपक गौतमले जिल्ला समन्वय समितिलाई प्रभावकारी अनुगमन गर्ने गरी नदिने हो भने २०८४ सालमा जिल्ला समन्वय समिति लाई खारेज गरेपनि केहि फरक नपर्ने बताए । जिससलाई अधिकार नदिएपछि उनले एउटा गित सम्झिए–बुझ्नेले कुरा नबुझेपछि मनमा पीर त पर्ने नै भयो । जिल्ला समन्वय समितिले आफ्नो क्षमता अनुसार कसैको अधिकार क्षेत्रमा हस्तक्षेप नगरी अनुगमन र समन्वयको कार्य गरिरहेको प्रमुख गौतमले बताए । उनले भने, ‘नगरपालिका र गाउँपालिकाका उप–प्रमुख, अध्यक्ष अनुगमन समितिको संयोजक हुनुहुन्छ । उहाँहरुले अनुगमन गरेर भुक्तानी दिइसकेपछि हामीले गर्ने अनुगमन प्रभावकारी हुन्छ की हुँदैन ? हामीले अनुगमन त गछौं हामीले गरेको अनुगमनले कारवाही हुन्छ की हुँदैन ?’ बाध्यकारी अवस्था बनाइदिए प्रभावकारी काम गर्न तयार रहेको उनको भनाई छ । नागरिकको पक्षमा काम हुँदा हुँदै पनि जनप्रतिनिधि र कर्मचारीले गालि खाइरहेको भन्दै सकारात्मक विकास जरुरी रहेको बताएका छन् ।
कार्यक्रममा बागमति प्रदेश सभा सदस्य रत्न ढकालले अब तीन तहकै प्राथमिकता रोजगारी सिर्जना र आत्मनिर्भरता तर्फ केन्द्रित हुनुपर्ने बताए । काठमाडौं विश्वविद्यालयका उप–कुलपति डा. अच्युत प्रसाद वाग्लेले काठमाडौं विश्वविद्यालयले जिल्लाका १३ वटै पालिकाका दुई–दुई जनालाई बीएस्सी एग्रिकल्चर अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेका छन् । विश्वविद्यालय विपद् व्यवस्थापन तालिम केन्द्र स्थापनाको अन्तिम तयारमिा रहेको समेत उनले बताएका छन् । पालिकाहरुको तर्फबाट पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले कृषि नगर पाँचखालको विकासका लागि ध्यान दिनुपर्ने बताए ।
कृषि मार्फत आतमनिर्भरतासँगै रोजगारी सिर्जना गर्न सकिने उनको भनाई थियो । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले विपद् जोमिम न्यूनिकरण एकल प्रयासमा सम्भव नहुने भन्दै सहकार्यको जरुरी रहेको बताए । नेपाल पत्रकार महासंघ काभ्रेका कार्यवाहक अध्यक्ष कपिल कोइराला लगायतले समन्वय समितिले गरिरहेको काम, अबको प्राथमिकता लगायतको बारेमा धारणा राखेका थिए । कार्यक्रममा जिसस उपाध्यक्ष रिम बहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्ने पालिका, सरकारी कार्यालय लगायत विभिन्न क्षेत्रलाई सम्मान गरिएको थियो ।







