पनौती/पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८१÷२०८२ मा स्वीकृत पशुपन्क्षी तथा मत्स्यजन्य पदार्थ उपभोग प्रर्वद्धन कार्यक्रम अन्र्तगत प्राणनाथ माईती बृद्धाश्रम पनौती ९ मा रहेका जेष्ठ नागरिकहरुलाई दुग्धजन्य सामाग्री उपलब्ध गराएको छ ।
कार्यालय प्रमुख डा.सृजा वाग्लेले बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुका लागि दुध, खुवा, पनिर तथा घिउ लगायतका सामाग्रीहरु उपलब्ध गराएको बताईन् । अध्यक्ष रघुनाथ तिमल्सिनाले प्राणनाथ माईती बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुको अवस्था तथा उनिहरुको दैनिक जीवन संचालनमा कार्यालयले गरेको सहयोग प्रति अभार ब्यक्त गर्दै जेष्ठ नागरिकहरुको आत्माले दिएको खुशीले सबैको कल्याण हुने बताए । डा.वाग्लेले जेष्ठ नागरिकहरुलाई आवश्यक पर्ने पौष्टिक तत्व दुध र दुग्धजन्य सामाग्रीबाट उपलब्ध गराउने भएकाले सहयोग गरिएको बताईन् । एक गिलास दुध दैनिक सेवन गर्ने ब्यक्तिलाई १० वटा फाईदा हुने बताउँदै डा.वाग्लेले नियमित दुध र दुधका परिकारहरु सेवन गराउन जेष्ठ नागरिकहरुलाई अनुरोध गरिन् ।
कार्यक्रम अन्र्तगत कार्यालयले कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थी, गर्भवती तथा सुत्केरी महिला, स्त्री रोग सम्वन्धी उपचार गराउन अस्पतालमा पुगेका महिला, कार्यस्थलमा कार्यरत मजदुर, अनाथ बालबालिका, बहिरा विद्यालयमा अध्ययन गर्ने बालबाकिलाहरु, बौद्दिक अपाङता भएका बालबालिकाहरु, बृद्धाश्रम लगायतका क्षेत्रमा पशुपन्क्षी तथा मत्स्यजन्य पदार्थको पौस्टिक महत्व, आवश्यकता र खानपर्ने मात्राका बारेमा जानकारी गराएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका ४ स्थित जागृती मावी, पनौती १ को भालचन्द्र मावी, धुलिखेल अस्पतालको गाईनो वार्ड, अरनिको राजमार्गको धुलिखेल बनेपा खण्डमा कार्यरत मजदुरहरु, सेवक नेपाल समुह मण्डन देउपुर, मानव कल्याण समाज बाल सेवा घर पनौती ५, तथा सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकामा रहेको बाघ भैरव मावी, मेलम्ची नगरपालिकाको फटकशिला मावी, चौतारा साँगाचोकगढीको श्रीहरी आत्ध्यामिक सेवा आश्रम, सिन्धु बहिरा आधारभुत विद्यालय बाह्रविसे र मेलम्चीको इन्द्रेश्वरी माध्यमिक विद्यालयमा दुध तथा दुग्धजन्य पदार्थ, अण्डा, मासु उपलब्ध गराईएको थियो । पनौतीमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने लगायतको सहभागिता रहेको थियो ।







