2026 August 18/ 08:35: 32pm

धुलिखेल/जुन १ अर्थात विश्व दूध दिवसको अवसर पारी धुलिखेल नगरपालिकामा दूधको खपत बढाऔं, अर्थतन्त्रलाई सबल बनाऔं भन्ने नाराका साथ अन्र्तक्रिया कार्यक्रम अयोजना गरेको छ । 
    विश्व दुध दिवसको अवसरमा पशु सेवा कार्यालय काभ्रे तथा धुलिखेल नगरपालिकाले संयुक्त रुपमा विभिन्न कार्यक्रम आयोजना गरेका थिए । दुग्ध क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुसंँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघ,  जिल्लामा रहेका दुग्ध क्षेत्र सँग सम्बन्धित सरोवारवाला निकायहरुको सहभागिता रहेको थियो ।
    पशु सेवा कार्यालय प्रमुख डा. सृजा वाग्लेले दुध दिवसको महत्वलाई दर्साउदै दुग्ध क्षेत्र सँग सम्बन्धित विविध विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिईन । कृषकहरुको प्रतिनिधित्व गर्दै सेती देवी दुग्ध उत्पादक सहकारी संस्थाबाट कार्यपत्र प्रस्तुत गरिएको थियो । धुलिखेल नगरपालिका तथा पशु सेवा कार्यालयमा सेवा लिन आउने सेवाग्राहिहरुलाई निःशुल्क दुग्ध पदार्थ वितरण गरेको थियो ।
    दुधको महत्वलाई विश्वव्यापी रुपमा दर्साउन विश्वभर जुन १ तारिखलाई विश्व दूध दिवसको रुपमा मनाइदैँ आइएको हो । विश्व खाद्य संगठनले सन् २००१ बाट अन्तर्राष्ट्रिय दूध दिवस मनाउने निर्णय गरेकोमा नेपालले सन् २०११ बाट दिवस मनाउन थालेको हो । दुधको फाइदा र महत्वका साथै दूधले स्थानीय अर्थतन्त्र र समुदायलाई कसरी फाइदा पु¥याउँछ भन्ने बारे सर्वसाधारणमा जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले हरेक वर्ष जुन १ तरिकमा यो दिवस मनाईन्छ ।  
    काभ्रेपलाञ्चोक जिल्लाले समग्र बागमती प्रदेशमा दुध उत्पादनको क्षेत्रमा ठूलो योगदान पु¥याएको छ । जिल्लालाई दुध उत्पादनको क्षेत्रमा आत्मनिर्भर जिल्लाको रुपमा चिनिन्छ । जिल्लागत तथ्यांकका आधारमा १ लाख ४७ हजार ८ सय ७४ गाई र १ लाख ३८ हजार ४ सय ९९ भैंसी मार्फत १ लाख ४९ हजार २ सय ८० मेट्रिक टन दूध उत्पादन हुँदै आएको छ । 
    दिवसको अवसरमा दुध तथा दुग्ध पदार्थको उत्पादन, पौष्टिक महत्व तथा उपभोगलाई प्रवद्र्धन गर्न धुलिखेल नगरपालिका, नगर कार्यपालिकाको कार्यालय र पशु सेवा कार्यालयले आगामी दिनहरुमा कार्यलयमा संचालन हुने कार्यक्रमहरु गोष्ठी, सेमिनार, तालिम, वैठकमा प्रयोग हुने खाजामा दुध तथा दुग्ध पदार्थहरुलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ । सोहि प्रयोजनका लागि सम्बन्धित स्थानीय तहका स्थानीय बजार, पशुपालक कृषक, फर्म, संस्था, कम्पनीबाट उत्पादित दुध तथा दुग्ध पदार्थहरुलाई प्राथमिकता दिने  निर्णय गरेको छ ।