2026 August 19/ 12:43: 50am

    बनेपा/बनेपा नगरपालिका वडा नम्वर ४ ले नाला शेरामा जागरण प्राङ्गारिक मल कारखाना शुरु गरेको छ ।  बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले मल कारखानाको शुभारम्भ गरेका हुन् । 
    मल कारखाना उद्घाटन पछि नगर प्रमुख शान्ति रत्न शाक्यले नागरिकहरुका हरेक समस्यामा नगरपालिकाले समन्वय र सहजिकरण गरिरहेको बताउँदै आत्मनिर्भर उन्मुख कृषि ब्यवसायका लागि अर्गानिक खेती गर्ने उदेश्यले तयार गरिएको प्राङ्गारिक मल सबै कृषकहरुका लागि उपयुक्त हुन सक्ने बताए । नगरपालिकाले कृषि उत्पादन, उत्पादनसँगै बजारीकरण गर्ने उदेश्यले हाटबजार शुरु गरिएको बताउँदै नगर प्रमुख शाक्यले कृषि र पशुपालनका लागि नगरपालिकाले आवश्यक कार्यहरु गरिरहेको बताए । कार्यक्रममा उपप्रमुख विमला सापकोटा, वडा नम्वर ३ का अध्यक्ष रमेश दाहाल, वडा नम्वर ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, कृषि शाखाका टंकप्रसाद अधिकारी, स्थानीय संघ संस्थाका प्रतिनिधिहरु, उपभोक्ता तथा कृषकहरु र समुहका संचालकहरुको सहभागितामा प्राङ्गारिक मल कारखाना, त्यसले उत्पादन गर्ने क्षमता र आवश्यक पर्ने स्थानीय उत्पादनका बारेमा जानकारी गराएका थिए । 
    समुह अध्यक्ष निर्मला श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राङ्गारिक मल उत्पादन गर्ने विधी, त्यसको प्रयोगका बारेमा जानकारी गराएका थिए । १० जना प्रशिक्षक तयार गरी थप २५ जना कृषकहरुलाई मल उत्पादनका लागि तालिम दिन शुरु गरिएको छ । वडा नम्वर १ को पाण्डेगाउँ र वडा नम्वर ३ मा पनि उक्त तालिम दिन शुरु गरिएको छ । नगरपालिकाका विभिन्न वडाहरुमा प्राङ्गारिक मल उत्पादन सम्वन्धी तालिम प्रदान गरी आयआर्जन बृद्धी गर्न, उत्पादन बढाउन र रासायनिक मलको खपत घटाउन सहयोग पु¥याउने अध्यक्ष निर्मला श्रेष्ठले बताईन् । उक्त कारखानाका लागि प्रदेश सरकारले अनुदान उपलब्ध गराएको छ ।