बनेपा/नापी कार्यालय बनेपा डिजिटलले बनेपा नगरपालिका वडा नम्बर १० का जग्गा धनीहरुलाई डिजिटल जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरेको छ ।
बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले नापी कार्यालयलाई धन्यवाद दिँदै १४ वटै वडामा जग्गा धनी प्रमाण पुर्जा वितरण गर्नुपर्ने बताए । शाक्यले भने नगरपालिका र वडा कार्यालयले कस्तो भुमिका वा सहजीकरण गर्नुपर्छ गर्न तयार छ तर सबै नगरबासीहरुको डिजिटल जग्गा धनी प्रमाण पुर्जा वितरण गर्नुपर्ने बताए । केहि महिना अगाडी मात्रै वडा नम्बर ६ का जग्गा धनीहरुको पुर्जा वितरण गरीएको र अब सिङ्गो नगरकै डिजिटल पुर्जा वितरण गर्नुपर्नेमा शाक्यको जोड रहेको थियो ।
कार्यक्रममा मालपोत कार्यालय धुलिखेलका अधिकृत दिपक कोईराला, नापी कार्यालय काभ्रेका नापी अधिकृत अशोक भुसालले उक्त डिजिटल जग्गा धनी पुर्जा वितरण सबै जग्गा धनीहरुले चाँडो लिन आग्रह गरेका थिए । निवेदन दिन बाँकी रहेका जग्गा धनीहरुले चाँडो भन्दा चाँडो निवेदन दिई पुर्जा लिन आग्रह गरेका थिए । बनेपा नापीले जिल्लामा फाईल र श्रेष्ता हस्तान्तरण सके पछि समय लाग्ने भएकाले चाँडो निवेदन दर्ता गरी पुर्जा लिन आग्रह गरेका थिए । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चन्द्रबहादुर खड्का लगाएतले मन्तब्य राखेका थिए । कार्यक्रममा बनेपा डिजिटल नापी कार्यालयका प्रमुख सुरेश जोशीले १० नम्बर वडामा १ हजार ४ सय भन्दा बढी जग्गा धनीहरु रहेकोमा १ सय ९० जनालाई पुर्जा वितरण गरिएको बताए । बाँकीलाई छिटै वितरण गरिने र निबेदन दिन बाँकी रहेका जग्गा धनीहरुलाई चाँडो निवेदन दिन आग्रह गरेका गरेका थिए । कार्यालयले बनेपा, धुलिखेल र पनौतीमा डिजिटल जग्गाधनी पुर्जा वितरण गरिरहेको जोशीले बताए ।







