धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर २ रविगाउँमा बैशाख ९ गते विहान ४ गते सन्तोषकुमार गौतमको गोठमा आगलागी हुँदा ५ वटा गाई जलेर घाईते भएको तथा ३ वटा गाई जलेर मरेको तथा बाछाबाछी समेत जलेको घटनामा नेकपा एमाले धुलिखेल नगर कमिटी तथा धुलिखेल नगरपालिका वडा नम्वर २ को अगुवाईमा संकलन गरिएको राहत रकम हस्तान्तरण गरिएको छ ।
वडा मार्फत संकलन भएको रकम नगर प्रमुख अशोक ब्याञ्जु र वडा अध्यक्ष अर्जुन न्यौपाने सहितले पिडीत सन्तोषकुमार गौतमलाई हस्तान्तरण गरेका थिए । उक्त रकम ४ लाख ३९ हजार ९ सय १० रुपैया थियो भने नेकपा एमाले धुलिखेल नगर कमिटी मार्फत संंकलित रकम १ लाख २० हजार नगर कमिटी अध्यक्ष विष्णु धिताल सहित पदाधिकरी र वडा कमिटीको उपस्थितीमा हस्तान्तरण गरिएको थियो । अन्य ब्यक्तिहरु मार्फत संकलित भएको रकम पनि सोहि अवसरमा हस्तान्तरण गरिएको थियो । सन्तोषकुमार गौतमले ७ लाख १३ हजार ५ सय २७ रुपैया नगद हस्तान्तरण गरिएको वडा अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिए ।
वडा कार्यालयबाट २० हजार, शिव कोईराला मार्फत दुग्ध विकास संस्थान अन्र्तगत ५२ हजार, इन्द्रेणी परिवारबाट ३० हजार, एसएसली २०५५ समुह लगायतका ब्यक्ति तथा क्षेत्रबाट संकलित रकम हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण गर्दै नगर प्रमुख ब्याञ्जुले नागरिकहरुका दुखमा स्थानीय सरकार स्थानीय नागरिकहरु सँगै रहेको बताए । दुखमा सबै क्षेत्रबाट साथ हुने भएकाले नआत्तिन र पुरानै हिसावबाट ब्यवसायीक पशुफार्ममा फर्कन अनुरोध गरे । आगो नियन्त्रण गर्ने क्रममा सन्तोष घाईते भएका छन् । आगलागीबाट गोठ, पराल तथा अन्य सम्पत्ती नष्ट भएको छ ।





