2026 August 20/ 02:02: 51pm

    बनेपा/चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको वार्षिक कार्यक्रम अनुसार मातातिर्थ औसिका अवसरमा संंस्थामा आबद्ध ७५ वर्ष भन्दा माथिका जेष्ठ माता सदस्यहरुलाई सम्मान गरेको छ । 
    बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटाले जेष्ठ सदस्यहरुलाई सम्मान गर्दै जेष्ठ सदस्यहरु जिउँदो देउता भएकाले मन्दिर भन्दा पहिला जेष्ठ सदस्यलाई सम्मान गर्नुपर्ने बताईन् । नगरपालिकाले जेष्ठ सदस्यहरुलाई ध्यानमा राखेर विभिन्न सुविधा उपलब्ध गराएको बताउँदै प्रत्येक वडा मार्फत जेष्ठ सदस्यहरु सम्मान, दाँत नभएका जेष्ठ सदस्यहरुलाई दाँत राख्ने र आँखामा हुने मोतिबिन्दुको अप्रेशन र उपचार, नगरबासीहरुका लागी उपचारका क्रममा रगतको आवश्यक भएमा निःशुल्क रगत उपलब्ध गराएको बताईन् ।
    उपप्रमुख सापकोटाले भनिन–‘तपाईहरु कुनै चिन्ता नलिनु तपाईहरुको घर पछिको दोस्रो घर स्थानीय सरकार छ । तपाईहरुलाई परेका हरेक समस्यामा हामी छौं । घरमा परिवारले नहेरेमा वा दुःख दिएमा चुप लाएर नबसी स्थानीय सरकारमा आउन अनुरोध गर्दछु ।’ कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ८ की वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, संस्थाका सल्लाहकार ईन्द्रनारायण भैल, विकास बादे, लेखा सुपरिवेक्षण समितिका संयोजक रामप्रसाद श्रेष्ठ कार्यक्रम संयोजक मनोहरी पोटे लगायतले संस्थाले गरेका उत्कृष्ट कामका बारेमा बताएका थिए । कार्यक्रममा १०३ वर्षिय सुन्दरीमाया सुवाल, तुलसी माया कटवाल, ९८ वर्षिय कमलालक्ष्मी बादे, ९६ वर्षिय मिठाई सागर लगायत १ सय ३० जनालाई सम्मान गरिएको थियो । त्यसैगरी संस्थामा उच्चतम् वित्तिय कारोबार गरी संस्थामा गरेको योगदानको कदर गर्दै संरक्षित पुंजीकोषबाट उच्चतम् प्रतिफल पाउने ३ जनालाई समेत सम्मान गरिएको थियो । 
    कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष नविनभक्त वादेले संस्थाको वार्षिक कार्यक्रम अन्र्तगत सदस्यहरुलाई सम्मान गरिएको बताए । संस्थाले रक्तदान, स्वास्थ्य शिविर, सदस्यहरुलाई तिर्थाटान, सरसफाई लगायत विभिन्न सामाजिक कामहरु गर्दै आएको बताए । सदस्यहरु लक्षित संस्थाले कार्य गर्दै आएको अध्यक्ष नविन भक्त बादेको भनाई रहेको थियो । कार्यक्रम सञ्चालन संस्थाकी उपसमिति सदस्य रिता बादेले गरेकी थिईन् ।