मंगलटार/२०८१ चैत्र १२ गते साँझ साढे ५ बजे रोशी गाउँपालिका वडा नम्वर ९ मंगलटार स्थित कालोपुलमा विपी राजमार्ग सडक खण्डमा बा १७ च ३५७४ नम्वरको बोलेरो गाडी रोकेर डाँका गर्ने तीन युवा धरौटीमा छुटेका छन् ।
मंगलटारबाट भकुण्डेबेशी तर्फ जाँदै गरेका चालक सरोज मोक्तानलाई रोशी गाउँपालिका वडा नम्वर ९ मंगलटारका २५ बर्षिय युनिश लामा, पिन्थलीका २५ बर्षिय रोहन तामाङ र पिन्थलीकै १९ बर्षिय करुण तामाङले बाटो छेकेर चक्कु देखाउँदै गाडी रोकेर भित्र प्रवेश गरी हेल्मेट र डुंगाले संवेदनशिल अंग टाउकोका साथै शरिरका विभिन्न भागमा प्रहार गरेका थिए । उनलाई प्रहार गरेसँगै उनिसँग साथमा रहेको १ लाख ८० हजार नगद लुटेका थिए । सरोज मोक्तानलाई लुटेर फरार भएकाहरुलाई प्रहरीले बा ६३ प ९६०५ नम्वरको स्कुटर र गाडीबाट लुटेर लगेको चावी बरामद गरेको थियो ।
पक्राउ परेका युनिश लामाले बोलेरो चालकले स्कुटरलाई पेलेर आएकोले चालकलाई रोकेर थप्पड हानेको बताए । थप्पड हान्दा पनि उसले मुख छाडेकाले हेल्मेट प्रहार गरेको साविती बयान दिएका थिए । उक्त घटनामा संलग्न मध्येका रोहन तामाङ भक्तपुर जिल्ला अदालतको २०८१ माघ २२ गते चोरी मुद्दामा २१ दिन कैद र ५ हजार जरिवना पछि छुटेका थिए । उनलाई पटके कसुरदारका रुपमा प्रस्तुत गरिएको थियो ।







