2025 May 19/ 07:01: 43am

– २० पक्राउ, ४६ फरार

मोतीराम तिमल्सिना
धुलिखेल

    काभ्रेपलाञ्चोक जिल्लामा रहेका विभिन्न सहकारीहरु मार्फत बचतकर्ताहरुको रकम ठगी गरेको अभियोगमा २० जना पक्राउ परेका छन् भने ४६ जना फरार छन् । 
    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले दिएको जानकारी अनुसार ठगी विरुद्ध जाहेरी परेका ३ वटा सहकारीको अनुसन्धान सम्पन्न भई जिल्ला अदालतमा पेश भएको छ । पेश भएका सहकारीहरुमा पुण्यश्वरी सहकारीको ३ करोड ८० लाख ९३ हजार ४ सय १८ रुपैया बचत फिर्ता नभएको निवेदनकर्ताहरुको दावी छ भने गरुड सहकारीको १४ करोड भन्दा धेरै बचत फिर्ता नभएको जाहेरीका आधारमा अनुसन्धान सम्पन्न भई अदालतमा पेश भएको सूचना अधिकारी एवं प्रवक्ता डिएस्पी मिनबहादुर घलेले जानकारी दिए । त्यस्तै युनिटी सहकारीको ३ करोड ५० लाख भन्दा धेरै बचत फिर्ता नभएको अनुसन्धानबाट खुलेको छ । वाँकी ४ वटा सहकारीको अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । 
    जिल्लामा भएका का ७ वटा सहकारीका संचालकहरुलाई ठगी मुद्दामा अनुसन्धान भईरहेको छ । थप केहि सहकारी विरुद्ध ठगी सम्वन्धी मुद्दा दर्ता गर्ने गरी अनुसन्धान भएको छ । मुद्दा दर्ता भएका सहकारीका ६६ जना संचालक विरुद्ध ठगीमा मुद्दा दर्ता भएको छ । ‘जिल्लामा सबै भन्दा धेरै सहकारी ठगी र बैकिङ्ग कसुर सम्वन्धी घटना छन्’–जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काले भनिन–‘७ वटा सहकारीका ६६ जना संचालक विरुद्ध ठगी अभियोगमा मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएका संचालकहरु मध्ये २० जना पक्राउ परेका छन् । ४६ जना फरार छन् ।’ फरार संचालकहरुको खोजी भईरहेको प्रहरीले जानकारी दिएको छ । सहकारीमा बचत रहेको करोडौं रुपैयाँ बचतकर्ताहरुले प्राप्त गर्न सकिरहेका छैनन् । 
    उता सहकारी संचालकहरुले भने ऋण लिएर नतिरेका कारण बचत फिर्ता गर्न नसकेको बताएका छन् । सहकारी ऐन र कानून अनुसार संचालन भएका जिल्लाका नमूना सहकारीहरुमा भने अहिलेसम्म कुनै समस्या आएको छैन । सहकारीको रकम गैह् क्षेत्रमा लगानी गरी मुनाफा कमाउन खोजेका सहकारीहरुमा समस्या देखिएको छ । सहकारी सम्वन्धी ब्यवस्था अनुसार स्थानीय तहलाई हस्तान्तरण गर्ने अवधीमा जिल्लामा सहकारी दर्तामा किर्ते र ठगी भएको खुलासा भएको छ । डिभिजन सहकारीका केहि कर्मचारीहरुको मिलेमत्तोमा सहकारी खरिद विक्री भएको अनुसन्धानले देखाएको छ । केहि सहकारीहरुले बचत लिन र लगानी गर्ने अवधीमा पनि किलो मिटर ब्याज लिने दिने गरेको खुलेको छ । 
    बैकिङ्ग कसुर सम्बन्धी चालु वर्षको ९ महिनामा १ सय ३३ वटा मुद्दा दर्ता गरिएको छ । सहकारीका संचालकहरु विरुद्ध ठगी मुद्दा दर्ता भएका मध्ये बनेपा ७ स्थित तरकारी बजारमा कार्यालय रहेको मुकुल बचत तथा ऋण सहकारी पनि हो । उक्त सहकारीका संचालकहरुले निषेधाज्ञा मुद्दा दर्ता गराएका छन् । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुबै पक्षलाई छलफलका लागि बोलाउने आदेश गरेको छ । निषेधाज्ञा मुद्दामा साविक फुलबारी गाविस ३ हाल नमोबुद्ध २ घर भई बनेपा ८ बस्ने ५७ बर्षिय विष्णुप्रसाद नराल, ६३ बर्षिय कृष्णप्रसाद नराल, पनौती ५ की ५१ बर्षिय रिता केसी, बनेपा ७ कि ३८ बर्षिय सुस्मा प्रधान, पनौती ५ का ५० बर्षिय इश्वरलाल श्रेष्ठ र धुलिखेल ११ की २४ बर्षिय विपना आचार्य समेत ५ जनाले अन्तरिम आदेश माग गरेका थिए । उनिहरुले सहकारी तथा गरिवी निवारण मन्त्रालय हेटौडा, जिल्ला प्रहरी कार्यालय काभ्रे, काभ्रेपलाञ्चोक जिल्ला बनेपा ७ स्थित लामो समय देखि बन्द गरेर फरार भएको सहकारी मुकुल बचत तथा ऋण सहकारी र त्यसका संचालक तथा हालका अध्यक्ष सुनाम सुब्बा विरुद्ध अन्तरिम आदेश सहितको निषेधाज्ञा माग गरेका थिए । 
    २०६९ असोज १३ गते प्रथम प्रारम्भिक भेलाबाट विष्णुप्रसाद नराल अध्यक्ष, कृष्णप्रसाद नराल सचिव, रिता केसी कोषाध्यक्ष र सुस्मा प्रधान, इश्वरलाल श्रेष्ठ सदस्य रहने संचालक समिति गठन भएको थियो । विष्णुप्रसाद नराललाई विनियम मस्यौदा तयार गर्ने जिम्मेवारी दिदै २०६९ असोज १६ गते दोश्रो प्रारम्भिक भेला आयोजना गरिएको थियो । २०६९ कार्तिक २ गते उक्त संस्था दर्ता भएको थियो । सहकारी ठगीमा मुद्दा दर्ता भए पछि संचालकहरुले २०६९ भदौ ३१ गते डिभिजन सहकारी कार्यालयमा दर्ता गर्ने ब्यक्ति नै असम्वन्धित भएको दावी गरेका छन् । नवराज गौतमले उक्त सहकारी दर्ताका लागि आवेदन दिएका थिए । २०८१ पौष २९ गते बागमती प्रदेश सहकारी मन्त्रालयले जिल्ला प्रहरी कार्यालय काभ्रेलाई मुकुल सहकारी ठगीका बारेमा अनुसन्धान गर्न निर्देशन सहित पत्र पठाएको थियो । २०८१ माघ २५ गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा पत्र प्राप्त भए लगत्तै प्रहरीले उक्त सहकारी र सहकारीका संचालक विरुद्ध ठगीमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ । 
    बचतकर्ताहरुले पटक–पटक रकम फिर्ता माग्दा पनि नदिए पछि प्रहरी कार्यालयमा भएको छलफलमा २०८० जेठ २५ गते बनेपा नगरपालिकामा पछिल्लो पटक सहकारीका संचालकहरु मध्ये अध्यक्ष सुनम सुब्बाको एकाघरको पत्नी रोजिना श्रेष्ठको नाममा दर्ता श्रेस्ता कायम रहेको जग्गाहरुको सक्कल जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराई बचतकर्ताको बचत खाम्ने गरी सम्पत्ति रोक्का राख्ने प्रकृया अघि बढाउने सहमति भएको थियो । उजुरीकर्ता क्षितिज प्रधान, संस्थाका अध्यक्ष सुनम सुब्बा, संस्थाका प्रवन्धक सन्तोष नेवाङ समेतले गरेको सहमति पालना गरेनन् । तत्पश्चात बचतकर्ताहरु बागमती प्रदेशको सहकारी मन्त्रालयमा बचत फिर्ताको निवेदन बोकेर पुगेका थिए । मन्त्रालयले गरेको ताकेता अटेर गरे पछि मन्त्रालयले संस्था दर्ता देखि हालसम्म रहेका संचालक तथा संस्थामा रहेर रकम अनियमित गर्ने ब्यक्तिहरु विरुद्ध अनुसन्धान गरी कारवाही गर्न पत्राचार गरेको थियो । अनुसन्धानका क्रममा २०६९ सालमा संचालक रहेका ब्यक्तिहरु पक्राउ गर्न जिल्ला अदालत काभ्रेले अनुमति दिए पछि उनिहरु अन्तरिम आदेश सहित निषेधाज्ञाको माग गर्दै रिट दर्ता गराएका थिए । रिटका सन्र्दभमा अदालतले २०८१ चैत्र १४ गते संचालक र कर्मचारीहरु फरक रहेको, अनुसन्धान फरक ब्यक्तिहरुलाई गरिनुपर्ने माग गरिएकाले बाटोको म्याद बाहेक १५ दिन भित्र दुबै पक्षलाई छलफलमा बोलाउने गरी आदेश गरिएको थियो । 
    आदेशमा २०८१ चैत्र २७ गतेसम्म संचालकहरुलाई पक्राउ नगर्नु भनिएको थियो । तर अदालतले म्यादको तामेली नै चैत्र २५ गते मात्रै गरेको छ । आदेशमा भनिएको छ – ‘निवेदकलाई थाहा जानकारी नदिई निवेदकको सहमति मञ्जुरी नलिई उक्त सहकारी संस्थाको विभिन्न पदमा राखेको भन्ने निवेदन ब्यहोराबाट देखिँदा सुविधा र सन्तुलनका दृष्टिले निवेदकहरुलाई मिति २०८१÷१२÷२७ गतेसम्म नपक्रनु, पक्राउ गर्न नलगाउनु भन्ने अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएको छ ।’ अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने नदिने सम्वन्धमा दुबै पक्ष राखी छलफल गराई निश्कर्षमा पुग्नु उपयुक्त हुने हुँदा मिति २०८१ चैत्र २७ गतेको छलफल पेशी तारिख तोकी सोको सूचना निवेदक र विपक्षीहरुलाई दिई नियमानुसार पेश गर्न २०८१ चैत्र २० गते आदेश जारी भएको छ । 

यस्तो रह्यो वर्ष २०८१ 
    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८१ चैत्रसम्म गरेका गतिविधि, अपराध अनुसन्धान, नियन्त्रण र रोकथामका लागि भएका प्रयास, जिल्लाको शान्ति सुरक्षा तथा आगामी योजनाका बारेमा सम्पादित मुख्य कार्यहरुका बारेमा जानकारी गराएको छ । नयाँ वर्षको पुर्व सन्ध्यामा आयोजित कार्यक्रममा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले शुभकामना आदान प्रदानका साथै विगत वर्षहरुमा भएका घटना र चालु वर्षको चैत्र मसान्तसम्म भएका घटनाहरुको विश्लेषण सहितको तथ्यांङ्कीय प्रतिवेदन प्रस्तुती गरेकी थिईन् । 
    प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी प्रमुख बसुन्धरा खड्काले १४ महिने कार्यकालमा काभ्रेपलाञ्चोक जिल्लामा भएका मुख्य मुख्य गतिविधिहरुका बारेमा जानकारी गराएकी थिईन् । यो अवधीमा ५ सय १३ वटा विभिन्न प्रकारका उजुरी, निवेदन तथा मुद्दाहरु दर्ता भएका छन् भने जर्बजस्ति करणीका घटना १८ वटा दर्ता भएका छन् । अघिल्लो वर्ष जर्बजस्तिकरणीका घटना ४९ वटा दर्ता भएका थिए । कर्तब्य ज्यान सम्वन्धी अपराध अघिल्लो वर्ष ६ वटा र चालु वर्षमा ७ वटा भएका छन् । चोरी सम्वन्धीका घटनामा उल्लेख्य बृद्धी भएको छ । अघिल्लो वर्ष ३५ वटा घटना भएकोमा यो वर्ष ५१ वटा भएका छन् । साईबर अपराध, ठाडो उजुरी तथा अभद्र ब्यवहार सम्वन्धी घटनामा बृद्धी भएको छ । बैकिङ्ग कसुर, सहकारी ठगी, लागु औषध सम्वन्धी घटना बढेका छन् भने बालबालिका र महिला माथी हुने हिंसाका घटनामा कमी आएको छ । आत्महत्या प्रयास गरिएका १ सय १५ जनाको उपचार गरिएको छ । फैसला कार्यान्वयन अन्र्तगत चालु वर्षमा १ सय ८ जना पक्राउ गरी १ करोड ८५ लाख ११ हजार ७ सय ८ रुपैया जरिवाना असुल भएको छ । ६७ वर्ष ८२ महिना र २ सय ६० दिनको कैद असुल गरिएको छ । 
    नागरिकहरुलाई जिउधनको सुरक्षा दिनु पर्ने प्रहरीका १४ युनिटको जग्गा र भवन छैन । २ वटा भाडामा छन् भने ५ वटा विभिन्न संघ संस्थाको भवनमा बसिरहेका छन् । आफ्नै भवन भएको प्रहरी कार्यालय २५ वटा रहेका छन् । मानव बेचविखन सम्बन्धी अपराध २ वटा, बहु विवाह ४ वटा, जर्बजस्तीकरणी उद्योग ६ वटा, बाल यौनदुरुपयोग २ वटा र अप्राकृतिक मैथुन सम्वन्धी १ वटा घटना भएका छन् । ६ सय ५८ जनाको दरबन्दी रहेको प्रहरी कार्यालय काभ्रेमा ५ सय २५ जना मात्रै कार्यरत छन् । प्रहरीका ४९ वटा युनिट छन् । १० जना बालिकाले आत्महत्या गरेका छन् भने २ जना बालयौन दुरुपयोगमा परेका छन् । १३ जना बालिका करणीमा परेका छन् । सवारी ज्यानमा १ जना बालिकाको ज्यान गएको छ । अप्राकृतिक मैथुनमा एक जना, मानव बेचविखनमा १ जना बालबालिका पीडित भएका छन् ।