बनेपा/बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ग्लोबल मनी विकको १३ औँ श्रृंखला अन्तर्गत ‘बुद्धिमानीपूर्वक खर्च गर्नुहोस्, भोलि राम्रो हुनेछ’ भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रहरु गरी मनाएको छ ।
जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिका र युवाहरुलाई लक्षित गरी संस्थाले चैत्र ४ गतेदेखि १० गतेसम्म सञ्चालन गरेको विद्यालयमा बुसा कार्यक्रम मार्फत ३ सय ३१ जनालाई वित्तीय सारक्षता प्रदान गरेको प्रमुख कार्यकारी अधिकृत विबेकराज ठकुरीले बताए । कार्यक्रम मार्फत बालबालिका, किशोरकिशोरीहरू र युवाहरूलाई संस्थाले श्रव्य दृश्य सामग्रीको प्रस्तुती मार्फत वित्तीय बजार, वित्तीय संस्था र यसका प्रकारहरु, बचतको महत्व, पैसाको प्रयोग, ऋणको परिचय, व्यक्तिगत बजेट निर्माण, सहकारीको परिचय, जंक फुडको प्रयोग र यसले पार्ने नकारात्मक असर लगायतका विषयमा प्रशिक्षण गराएको थियो । संस्थाको व्यवस्थापनमा सञ्चालित कार्यक्रममा पूर्ण सञ्जिवनी लंखनामाई धुलिखेलको कक्षा ११ र १२ मा अध्ययनरत ३६ जना, आदर्श विद्यामन्दिर स्कुल बनेपाको कक्षा ११ मा अध्ययनरत ६५ जना, प्रगति प्रभात स्कुल बनेपाको कक्षा ११ मा अध्ययनरत ५६ जना, सिद्धार्थ मा.वि. बनेपाको कक्षा ११ मा अध्ययनरत ५१ जना, पञ्चकन्या आधारभूत विद्यालय धुलिखेलको कक्षा ६, ७ र ८ मा अध्ययनरत ४५ जना, निस्ट स्कूल बनेपाको कक्षा ११ मा अध्ययनरत ५० जना र संस्थाको मुख्य कार्यालयमा २८ जना गरी ३ सय ३१ जालाई प्रशिक्षण दिईएको ठकुरीले बताए ।
प्रशिक्षण पश्चात विद्यालयहरुले निकै व्यवहारिक शिक्षाको माध्यमबाट विद्यार्थीहरुलाई पैसाको व्यवस्थापन गर्न सिकाएको हुँदा कार्यक्रम निकै प्रभावकारी भएको र आगामी दिनहरुमा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए । बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ आर्थिक सहयोग र विकास संगठनको संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको छ । यसै सन्दर्भ पारेर साकोसले वित्तीय सारक्षता सम्बन्धी विभिन्न कार्यक्रम गर्दै हरेक वर्ष ग्लोबल मनी विक मनाउँदै आएको छ । विद्यालय तथा संस्थामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विबेक राज ठकुरी, कार्यकारी अधिकृत रन्जना सुवाल र बरिष्ठ अधिकृत उमेश आचार्यले ग्लोबल मनी विकका बारेमा प्रशिक्षण दिएका थिए ।





