2026 August 20/ 10:18: 21am

    ढुंखर्क, बेथान्चोक/विपत्ति पछि भग्नावशेष अवस्थामा पुगेको बेथान्चोक गाउँपालिकाको खण्डहर जमिनलाई उर्वर र ब्यवसायीक बनाउन गाउँपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको गौरव कार्यक्रमका रुपमा रहेको युवा तथा कृषकहरुलाई ब्यवसायीक बनाउने अभियानको प्रारम्भ भएको छ । 
    ‘हामी आफै आफ्ना लागि केहि गर्ने प्रयत्नमा जुटेका छौं । यो अभियानमा विभिन्न संघ संस्था तथा ब्यक्तिहरु जोडिने क्रममा विन्धबासिनी सहकारीले साझेदारीता गरेको छ’–गाउँपालिका अध्यक्ष भगवान अधिकारीले भने–‘कृषि तथा पशुपालनका लागि महत्वपूर्ण क्षेत्र मानिएको बेथान्चोक गाउँपालिकामा बसोबास गर्ने नागरिकहरुका लागि उद्यमशिलता विकासका लागि सहुलियत ब्याज अनुदान सम्वन्धी सम्झौता गरेका हौं ।’ उक्त कार्यक्रमका लागि गाउँपालिकाले ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने छ भने ब्यवसायी कृषकले ४ प्रतिशत ब्याज तिर्नेछन् । ब्यवसायीक सम्झौताका लागि सहकारीले ९ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउनेछ । 
    सम्झौता पत्रमा गाउँपालिकाका तर्फबाट अध्यक्ष भगवान अधिकारी र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले हस्ताक्षर गरेका छन् भने सहकारीका तर्फबाट अध्यक्ष शान्तकुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत के.बि.लामा स्याङतानले हस्ताक्षर गरेका छन् । बेथान्चोक गाउँपालिकाले जिल्लाकै नमुना कार्यक्रम अन्र्तगत बैदेशिक रोजगार प्रतिको आर्कषण कम गर्न तथा बैदेशिक रोजगार गएर फर्किएका युवाहरुलाई लक्षित गरी ब्याजमा अनुदान कार्यक्रम शुरु गरेको छ । पहिलो चरणमा १९ वटा ब्यवसायलाई गाउँपालिकाले अधिकतम २० लाख रुपैयासम्म ६ महिना देखि ३ वर्ष अवधीसम्मको ब्याज अनुदान उपलब्ध गराउने छ । 
    २१ वर्ष देखि ४५ वर्षसम्म उमेर समुहका नागरिकलाई उद्यमी बनाउन ब्यवसायिक कर्जामा ब्याज अनुदान उपलब्ध गराउन स्वीकृत गरिएको कार्यविधी अनुसार गाउँपालिकाले सहुलियत कर्जा प्रवाहमा सहकार्य गर्ने वित्तिय संस्था छनौट गरेको छ । ‘गाउँपालिकाले स्विकृत गरेको कार्यविधि अनुसार खुल्ला आब्हान गरिएको प्रस्तावमा मापदण्ड भित्र रहेर केहि वित्तिय संस्थाहरुले गाउँपालिकाले शुरु गर्न लागेको उद्यमीहरुलाई ब्यवसायीक कर्जामा प्रदान गरिने ब्याज अनुदानका लागि सहमति सहितको प्रस्ताव पेश गरेका थिए’–गाउँपालिका अध्यक्ष भगवान अधिकारीले भने–‘प्रस्ताव पेश गरेका वित्तिय संस्थाहरु मध्ये ९ प्रतिशत ब्याजमा सहुलियत कर्जा लगानी गर्न इच्छुक रहेको विन्धबासिनी सहकारीलाई गाउँपालिकाले ब्याज अनुदान कार्यक्रममा सहकार्य र साझेदारीका लागि छनौट गरेको हो ।’ विन्धबासिनी सहकारीले २०५७ साल देखि बेथान्चोक गाउँपालिकाको साविक ढुंर्खक गाविसमा सेवा प्रारम्भ गरेको थियो । छनौट गरिएको वित्तिय संस्थासँग सम्झौता पछि सहकार्य शुरु गरिने अध्यक्ष अधिकारीले बताए । 
    गाउँबासीलाई उद्यममा आर्कषित गर्दै समग्र आर्थिक विकास र स्वरोजगारलाई अभियानका रुपमा प्रभावकारी बनाउन बास्तविक उद्यमीहरुलाई प्रदान गरिने ऋणमा अनुदान सहायता प्रदान गर्न ब्यवासायीक कर्जामा ब्याज अनुदान दिने कार्यविधि गाउँ सभाले पास गरेको प्रवक्ता तथा वडा अध्यक्ष मधुसुदन तिमल्सिनाले बताए । पशुपंक्षी र घाँस बाली उत्पादन प्रशोधन भण्डारणका लागि ३ वर्ष अवधीको सहुलियत कर्जा प्राप्त गर्न सकिनेछ । नेपाल सरकारबाट मान्यता प्राप्त कृषि ब्यवसायहरु, मसला बाली विउ विजन उत्पादन प्रशोधन भण्डारणका लागि २ वर्ष अवधीको सहुलियत कर्जा उपलब्ध हुनेछ । तरकारी उत्पादन प्रशोधन तथा भण्डारण, विउ विजन उत्पादन तथा भण्डारण, पुष्प ब्यवसाय, फलफुल उत्पादन प्रशोधन र भण्डारण, दुग्ध उत्पादन प्रशोधन विक्री वितरण, पशुबधशाला एवं मासुजन्य उत्पादन ब्यवस्था, जडिबुटी उत्पादन प्रशोधन र भण्डारण, उखु, कोदो, मकै, अलैची, अकबरे, अदुवा, चियाखेतीको प्रशोधन भण्डारण र विक्री वितरण, मौरी पालन, जौ, फापर, सिलाम, सिमी, आलु, कागती, स्याउ, उत्पादन भण्डारण तथा विक्री वितरण, तरकारी बाली उत्पादन प्रशोधन भण्डारण तथा कृषि उत्पादन तथा संकलन तथा विक्री वितरणका लागि एक वर्षसम्मको सहुलियत कर्जामा अनुदान उपलब्ध गराउनेछ । 
    मत्स्ये पालन भण्डारण तथा विक्री वितरणका लागि ८ देखि १२ महिने अवधी र च्याउ उत्पादन तथा विक्री वितरणका लागि ६ देखि १२ महिनका लागि सहुलियत कर्जामा ब्याज अनुदान उपलब्ध गराउने कार्यविधि पास गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भण्डारीले बताए । उक्त ब्यवसायका लागि गाउँपालिकाले ५ प्रतिशत सहुलियत कर्जामा ब्याज अनुदान उपलब्ध गराउने छ । उद्यमी ब्यवसायीका तर्फबाट ४ प्रतिशत मात्रै ब्याज बुझाउनु पर्नेछ । सोहि कार्यविधिमा रहेर गाउँपालिका र सहकारी बीच सम्झौता गरिएको हो । यो सम्झौता २०८२ असार मसान्तसम्म लागु हुनेछ । ऋण चुक्ता नहुञ्जेलसम्मका लागि हरेक आर्थिक वर्षका लागि आवश्यकताका आधारमा श्रावण महिनाको पहिलो हप्ता भित्र सम्झौता नविकरण हुनेछ । 
    विन्धबासिनी सहकारीका अध्यक्ष शान्तकुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत केवी लामा सहितका पदाधिकारीहरुले बेथान्चोक गाउँपालिकासँग सहुलियत कर्जा प्रवाहमा सहभागि हुने गरी सम्झौता गरिएको बताए । ‘कार्यक्रममा उद्यमी ब्यवसायीहरुले कर्जामा सेवा शुल्क तिर्नु पर्दैन, ९ प्रतिशत ब्याज बाहेक कर्जा सूचना केन्द्रमा लाग्ने न्यूनतम शुल्क २ सय ५० देखि ८ सयसम्म बाहेक अरु शुल्क लाग्ने छैन’–अध्यक्ष शान्तकुमार श्रेष्ठले भने–‘संस्थाले गाउँपालिकासँगको सहकार्य र समन्वयमा सम्झौता अनुसार १० करोड सम्म ऋण लगानी गर्नेछ ।’ गाउँपालिकाले पहिलो चरणमा ५० जना उद्यमीहरु छनौट गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक मापदण्ड तयारी गरी सूचना प्रकाशन गर्ने प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताए । 
    बेथान्चोक गाउँपालिका कृषि र पर्यटनको सम्भावना बोकेको पालिका हो । युवा पलायन रोक्न र विदेशबाट फर्किएका युवाहरुले प्राप्त गरेको ज्ञान र सीपलाई उद्यममा जोड्न उदेश्यले स्थानीय स्तरमा नै उत्पादन बृद्धी गरी ब्यवसायीकरण मार्फत आर्थिक उर्पाजन गर्ने गरी उक्त कार्यक्रम ल्याईएको अध्यक्ष अधिकारीले बताए । उपाध्यक्ष तारा राना तिमल्सिनाले कृषि र पशुपालन क्षेत्रलाई ब्यवसायीक बन्न उक्त सम्झौता थप महत्वपूर्ण हुने बताईन् । कार्यक्रममा वडा अध्यक्षहरु, कर्मचारीहरु तथा सहकारीका पदाधिकारी तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।