2026 August 20/ 07:11: 22pm

अध्यक्षमा शेषनाथ
    पनौती/नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती नगर कमिटीको १७ औं अधिबेशन संगठनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष नवराज घिमिरेको प्रमुख आतिथ्यता तथा संगठनका नगर कमिटी अध्यक्ष सुनिल धाँजुको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा जेष्ठ तथा उत्कृष्ट चालक र परिचालक सम्मानित भएका छन् । 
    अधिबेशनको बन्द सत्रले शेषनाथ (नवराज) घिमिरेको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्ष विष्णु बहादुर तामाङ, सचिव रामकृष्ण न्यौपाने, सहसचिव बलकुमार श्रेष्ठ, कोषाध्यक्ष राजु खत्री र सदस्यहरुमा रामबहादुर राउत, कुमार तामाङ, रामचन्द्र तिम्सिना, राजु सिताङ, सागर गुरुङ, उपेन्द्र तामा·, युवराज तामाङ, शान्त कुमार खत्री, दिपक बस्नेत, दिपक बोहोरा र सोनाम लामा निर्वाचित हुनुभएको छ । अधिबेशनको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी केन्द्रिय बरिष्ठ उपाध्यक्ष नवराज घिमिरेले मजदुरहरुका तमाम समस्याका बाबजुत स्वरोजगार तथा अधिकारका निमित्त राज्यसँग असहमति रहेका विविध विषयमा जानकारी गराएको भए पनि सम्बोधन हुन नसकेकाले आन्दोलनको पुर्व तयारी गरिरहेको बताए । ‘कानूनहरु निर्माण गर्ने क्रममा मजदुरहरुका हक, अधिकार तथा मजदुरसँग सम्बन्धित विषयमा सरोकारवालाहरुसँग छलफल समेत गरिदैन र एकतर्फी कानून जारी गरिन्छ, त्यसले कानून कार्यान्वयनमा भन्दा जटिलता निम्तिने खतरा छ’–घिमिरेले भने–‘यातायात क्षेत्रका कानूनहरु निर्माण गरिँदा हामी मजदुरका प्रतिनिधिहरुलाई पनि सहभागि गराउन र हाम्रा कुराहरु पनि समावेश गर्न सरकार, संसद तथा कानून निर्माण गर्ने निकायसँग अनुरोध गर्दर्छाै ।’
    बरिष्ठ उपाध्यक्ष घिमिरेले मजदुरहरुले प्राप्त गर्ने सवारी लाईसेन्सका आधारमा ऋण जारी गर्न सरकारसँग माग गरिएको बताए । विभिन्न क्षेत्रका ब्यक्तिहरुले धितो राखेर ऋण पाउने र आत्मनिर्भर हुने बाटो देखाईरहँदा मजदुरहरुले पनि सवारी अनुमतिपत्र राखेर ऋण लिएर स्वरोजगार हुन पाउनु पर्ने माग उठाएको उनले बताए । त्यस्तै सामाजिक सुरक्षा कोषको कार्यक्रम कार्यान्वनमा मजदुरहरुलाई सहभागि गराउन, गाडी आयात नीति शंशोधन गरी साना ब्यवसायीहरुको हितमा हुने गरी बनाउन, सेवालाई मर्यादित बनाउन, दुर्घटना न्यूनीकरण अभियान संचालन गर्न, विमा ऐन शंशोधन गर्न, दक्ष जनशक्ति उत्पादनका लागि राज्य स्तरबाट आवश्यक तालिमहरु प्रदान गर्न, विदेश पलायन हुने वातावरण निर्माण गर्न बरिष्ठ उपाध्यक्ष घिमिरेले सरकारसँग अनुरोध गरे । दैनिक भएका सवारी दुर्घटनाबाट ८ जनाको निधन हुने गरेको छ भने अर्बाैको सम्पति क्षति भईरहेको छ । दुर्घटनामा निधन भएका ब्यक्तिलाई दिने क्षतिपुर्ति तथा घाईतेको उपचारका लागि तोकिएको सिमा बढाउन मजदुर नेता घिमिरेले माग गरे । 
    कार्यक्रममा जिफन्टका नेता एवं जिल्ला समन्वय समिति काभ्रेका पूर्व प्रमुख उद्धव केसी, काभ्रे पुण्यवती यातायात प्रालीका अध्यक्ष राजेशसुन्दर सैँजु, नेकपा एमाले पनौती नगर कमिटी अध्यक्ष सुरेश हुमागाई, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका बरिष्ठ सई विष्णु थापा, वडा नम्वर ४ का अध्यक्ष दिपक दाहाल, महिला नेतृ निर्मला काफ्ले, संगठनका बागमती प्रदेश कमिटी सचिव शिवकुमार श्रेष्ठ, संगठनका नगर उपाध्यक्ष विकास श्रेष्ठ, सचिव परशुराम सापकोटा लगायतले मजदुरहरुको हक हितका लागि ब्यवस्था गरिएका ऐन कानूनहरु शंशोधन गरिनु पर्ने मर्यादित पेशा बनाउनु पर्ने सुझाव दिएका थिए । कार्यक्रममा मजदुर संघ संगठन तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । 

जेष्ठ चालकलाई 
एक लाख पुरस्कार

    नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती नगर कमिटीले संगठनमा आबद्ध भई निरन्तर सक्रिय सदस्य जेष्ठ मजदुर चालक गोविन्द श्रेष्ठलाई १ लाख रुपैयाँ सहित सम्मान गरेको छ । दुर्घटना नगराउने तथा निरन्तर पेशामा सक्रिय चालक श्रेष्ठलाई जेष्ठ मजदुर चालक सम्मानबाट सम्मान गरिएको हो । हरेक वर्ष संगठनले उत्कृष्ट चालक र परिचालकलाई सम्मान गर्दै आएको छ । उत्कृष्ट परिचालक देवशरण श्रेष्ठलाई नगद २५ हजार सहित सम्मान गरिएको थियो ।  त्यस्तै मेडल सहित सम्मानित हुनेहरुमा उत्कृष्ट चालकहरु पूर्णबहादुर साउद, राम परियार, राजकुमार कार्की, दिपक गिरी, विजय श्रेष्ठ रहेका छन् । त्यस्तै परिचालकहरुमा गणेश आचार्य, रमेश विक, दिपक सापकोटा र रामसुन्दर श्रेष्ठ रहेका छन् ।