रोशी, कटुन्जे/रोशी गाउँपालिका वडा नम्वर ७ स्थित कटुञ्जेबेशी स्वास्थ्य चौकीको आयोजना तथा रोशी गाउँपालिकाको सहयोगमा ३० देखि ६० वर्ष उमेर समुहका महिलाहरुको पाठेघरको मुखको परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ ।
एक दिने शिविरको आयोजना गरी महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्वन्धी परीक्षण गरिएको हो । शविरमा सहभागि भई परीक्षण गरिएका महिलाहरु मध्ये ८ जनामा पोजेटिभ देखिएको छ । ‘वडा नम्वर ७ का सबै टोलमा पुगेर महिला स्वास्थ्य कार्यकर्ताहरुले दिनु भएको सूचनाका आधारमा ९० जना महिलाहरुले सेवा लिनु भयो’–इन्चार्ज राजकुमार महत्तोले भने–‘शिविरमा उपचार तथा परीक्षण गराएका मध्ये ८ जनामा पाठेघरको मुखको क्यान्सरको लक्षण देखिएको छ । तीन जना महिलाको आङ खसेको भेटियो भने २ जनामा पाठेघरको मुखमा डल्लो जस्तो सामान्य समस्या देखिएको छ । चार जना महिलामा इन्फेक्सन भएको देखियो ।’ त्यहि उपचार गरी औषधी उपलब्ध गराउन मिल्ने अवस्थाका महिलाहरुलाई उपचार सहितको औषधी उपलब्ध गराईएको छ भने ८ जनालाई गाउँपालिकाको समेत सहयोगमा निशुल्क उपचार गराउने गरी धुलिखेल अस्पताल रिफर गरिएको इन्चार्ज महत्तोले बताए ।
कटुञ्जेबेशी स्वास्थ्य चौकीका इन्चार्ज एवं सिनियर अहेव राजकुमार महत्तोका अनुसार शिविरमा ९० जना महिलाहरुको सहभागिता रहेको थियो । शिविरमा सहभागि महिलाहरुलाई पाठेघरको मुखमा हुन सक्ने क्यान्सरका बारेमा सचेतना समेत गराईएको थियो । शिविरमा स्वास्थ्यकर्मीहरु अनमी प्रसुना मोक्तान, हेल्थ असिस्टेन्ट सुजेश श्रेष्ठ, विद्यालय नर्स विमला हायु लगायतले परीक्षण तथा उपचार गरेका थिए ।
सरकारले पहिलो चरणमा १० वर्ष देखि १४ वर्ष सम्मका बालिकाहरुलाई खोप लगाएको थियो भने दोश्रो चरणमा महिलाहरुको पाठेघरको मुखको उपचार तथा परीक्षण शिविर संचालनका लागि स्वास्थ्य कार्यालय, स्थानीय तह तथा स्वास्थ्य चौकीहरु मार्फत अभियान संचालन गर्ने निर्णय गरेको थियो । रोशी गाउँपालिकाका विभिन्न वडामा यस अघि पनि महिलाहरुको मुखको पाठेघर परीक्षण तथा उपचार सम्वन्धी शिविर आयोजना हुँदै आएका थिए । विशेषगरी ग्रामिण भेगमा महिलाहरुमा यस्ता खाले समस्या भए पनि पहुँच, आर्थिक अभाव तथा लाजका कारण रोग लुकाएर बस्न बाध्य भएका छन् । स्थानीय सरकारले वडा वडामा यस्ता अभियान संचालन गर्न सके महिलाहरु क्यान्सर जस्तो गम्भिर प्रकृतिको रोगबाट बच्न सक्ने सहभागि महिलाहरुले बताए ।









