
पाँच वर्षको अवधीमा ६२ वटा बन्यजन्तुको उद्धार भएको छ । उद्धार भएका मध्ये २० वटा चितुवा मृत अवस्थाका हुन् । चितुवा बाहेक अन्य वन्यजन्तु समेत गरी २३ वटा मृत अवस्थामा र ३९ वटा जीवित अवस्थाबाट उद्धार गरिएको छ ।
मोतीराम तिमल्सिना
धुलिखेल
काभ्रेपलाञ्चोक जिल्लामा वन्यजन्तु हानी नोक्सानीका हिसाबले संबेदनशील क्षेत्र तोकिएका छन् । विशेषगरी वन पैदावार चोरी निकासीका मार्ग, वन्यजन्तु, अखेटो पहार, चोरी निकासी तथा ओसारपसार, वन अतिक्रमण र वन डढेलोका कारण वन्यजन्तुलाई हानि नोक्सानी पु¥याउने निश्कर्ष निकालिएको छ ।
खानीखोला–ढुंखर्क–पनौती र बनेपा, पाँचखाल–मण्डनदेउपुर–नगरकोट–भक्तपुर–काठमाडौ, बनेपा–साँगा–भक्तपुर–काठमाडौ रुटबाट वन पैदावार चोरी निकासी हुन सक्ने सम्भावित सूचीमा राखिएको छ भने काठमाडौ–भक्तपुर–बनेपा–तातोपानी,नेपालथोक–धुलिखेल–बनेपा–भक्तपुर–काठमाडौ रुटबाट वन्यजन्तु, अखेटो पहार, चोरी निकासी तथा ओसारपसार हुन सक्ने सम्भावित रुटमा निगरानी बढाईएको छ । वन अतिक्रमणका हिसावले सडकका किनार जस्तै यात्रु, पर्यटकहरुको आतेजाने हुने क्षेत्रहरु जस्तै धुलिखेल, पाँचखाल आसपास, नगरकोट क्षेत्रका आसपास भुभागहरु र अधिकांश सामुदायिक वन क्षेत्र रहेका छन् । वन डढेलोमा चौरीदेउराली, भुम्लु, तेमाल,बेथान्चोक, खानीखोला, महाभारतको दक्षिण मोहोडाको वन क्षेत्र र आकलझुकल शहर आसपासको वन क्षेत्रहरु रहेका छन् ।
२०७६/०७७ साल देखि २०८०/०८१ सम्म १२ प्रजातीका ६२ वटा वन्यजन्तुको उद्धार गरिएको छ । २० वटा चितुवा मृत अवस्थामा र ५ वटाको जीवित चितुवाको बच्चाको उद्धार गरिएको डिभिजन वन कार्यालय काभ्रका अधिकृत दिनेश सत्यालले जानकारी दिए । चरीबाघ एउटा मृत अवस्थाबाट उद्धार भएको छ । रतुवा मृग २२ वटा, सालक ४ वटा, सेतो मृग १ वटा, वन विरालो १ वटा, ब्लाक प्यान्थर एक वटाको उद्धार भएको छ । ब्लाक प्यान्थर मृत अवस्थामा फेला परेको थियो । निर विरालो तीन वटा, सुन कछुवा १ वटाको उद्धार भएको छ । मृत अवस्थाको एउटा दुम्सी, गोहोरो १ र गिद्ध एक वटाको जीवितै उद्धार भएको छ । चालु वर्षको ६ महिनामा ३ वटा रतुवा मृग मध्ये २ वटा जीवितै र एक मृत अवस्थामा उद्धार गरिएको छ । एउटा चितुवाको जीवितै उद्धार भएको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा पाँच वर्षको अवधीमा बन्यजन्तुका कारण भएको क्षति बापत् नागरिकहरुले डिभिजन वन कार्यालय मार्फत ९२ लाख २९ हजार ७३ रुपैयाँ क्षतिपूर्ति प्राप्त गरेका छन् । यो अवधीमा १ सय ३९ वटा पशुधनमा बन्यजन्तुले आक्रमण गरी क्षति पु¥याएको छ । ८ जना नागरिकलाई आक्रमण गरेको छ । १ हजार १ सय २६ कृषकहरुको अन्नबालीमा क्षति पु¥याएको छ । हरेक वर्ष अन्नबालीमा क्षति हुने क्रम बढेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा २१ वटा घटनामा २ लाख ५८ हजार २ सय, आर्थिक वर्ष २०७७/०७८ मा १ सय २५ वटा घटनामा १३ लाख ७५ हजार ३ सय ६७ रुपैयाँ, आर्थिक वर्ष २०७८/०७९ मा २ सय ६३ वटा घटनामा २७ लाख ७० हजार १ सय ७४ रुपैया, आर्थिक वर्ष २०७९/०८० मा ३ सय ८५ वटा घटनामा ४३ लाख १७ हजार ३ सय ३२ रुपैयाँ र आर्थिक वर्ष २०८०/०८१ मा ४ सय ७९ वटा घटनामा ५० लाख ८ हजार रुपैया भुक्तानी प्राप्त गरेका छन् । कयन कृषकहरु उक्त क्षतिपूर्ति पाउनबाट बञ्चित भएको गुनासो कायम नै छ ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधीमा ३२ जना कृषकहरुले कृषि बालीमा क्षति भएको भन्दै निवेदन दिएका छन् । जसमा ३ लाख २० हजार रुपैयाँ र १६ जना कृषकले पशुधनमा ३ लाख रुपैयाँ क्षति भएको भन्दै माग गरेका छन् । वन्यजन्तु चोरी निकासी तथा ओसारपसारमा संलग्न भएको अभियोगमा १२ वटा मुद्दा दर्ता भएका छन् । जसमा विना इजाजत चितुवाको छाला र हड्डी ओसारपसार सम्वन्धी ३ वटा, विना प्रमाण हुचिल जातको चरा ओसारपसार अभियोगको एक वटा, वन्यजन्तु रतुवा मृगको शिकार गरेको अभियोगमा २ वटा र वन्यजन्तु सालकको खपटा ओसार पसार सम्वन्धी ६ वटा मुद्दा दायर भएका छन् ।
आर्थिक वर्ष २०७३/०७४ देखि २०७९ आषाढ मसान्तसम्म ३८ वटा मुद्दामा ८८ जनालाई प्रतिवादी बनाईएको छ । काठ सम्बन्धी १९ वटा, चितुवा, रतुवा मृग, हुचील, कछुवाको एक एक वटा र बँदेलको २ वटा मुद्दा दर्ता भएका छन् ।