2026 August 20/ 02:03: 55pm

    धुलिखेल/चेष्टा मासिकका प्रकाशक एवं बाम्पन्थी नेता, संविधान सभा सदस्य विदुर सापकोटाको निधन भएको छ । ५९ बर्षिय सापकोटा केहि वर्ष अघि देखि अस्वस्थ थिए । २०८१ फागुन ८ गते विहिबार उपचारको क्रममा उनको निधन भएको हो । 
    नेकपा एमालेका विभिन्न कमिटीमा रहेर बाम्पन्थी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका सापकोटाको श्रीमती सहित एक छोरी छन् । २०७० सालको निर्वाचनमा उनी काभ्रे क्षेत्र नम्वर ४ मा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । पार्टी विभाजन पछि एमाले छाडेका थिए । एमालेमा फर्कने तयारीमा विभिन्न चरणमा छलफल गरिरहेका सापकोटा फागुन ३ गते देखि विरामी भए पछि अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा उनको निधन भएको अस्पतालले जानकारी दिएको छ । 

‘चेष्टा’ किन दर्ता गरियो ?
        ‘जतिबेला पत्रकारिताको विकास राम्रोसँग हुन सकेको थिएन । अझ मोफसलका समाचारहरु राष्ट्रिय पत्रपत्रिकाहरुमा आउँदैन थिए । मोफसलमा पत्रिकाहरु प्रकाशन समेत भएको थिएन । जनताका दैनिक समस्याहरुलाई ध्यानमा राखेर मोफसलबाट पनि पत्रकारिताको क्षेत्रमा केहि गर्न सकिन्छ भन्ने उद्देश्यले २०५० साल भाद्र ३० गते चेष्टा मासिकको रुपमा दर्ता ग¥यौं । दुर्भाग्य नै भन्नु पर्छ पत्रिकालाई निरन्तरता दिनुपर्छ भन्ने सोच भए पनि मेरो राजनीतिक ब्यस्तता र त्यसमा संलग्न ब्यक्तिहरु पत्रिका र पत्रकारिताकै माध्यमबाट मात्रै टिक्न सक्ने अवस्था नभएपछि निरन्तरता पाउन सकेन’–सापकोटाले भनेका थिए– ‘आफुले जिम्मेवार पूर्ण ढंगबाट पत्रिका चलाउन खोजे पनि सकिनँ । तर खुशीकै कुरा हो काभ्रेकै साथीहरुले चेष्टा मासिकलाई साप्ताहिक रुपमा संचालनमा ल्याउने प्रयास गर्नुभयो । र आजसम्म निरन्तरता दिईरहनु भएको छ । काभ्रेमा चेष्टा साप्ताहिकले देखाएको र खेलेको भुमिका प्रति काभ्रेली जनता असन्तुष्ट छन् भन्ने लाग्दैन । यसप्रति मेरो ब्यक्तिगत ढंगवाट चेष्टालाई शुभकामना ।’  
‘चेष्टा’ नै नाम किन राखियो ? 
          ‘पत्रिका प्रकाशन गर्ने सोच बनाईयो तर नाम राख्ने कुरामा हामी केहि दिन अलमल्लमा प¥यौं । एमाले काभ्रेका पूर्व अध्यक्ष गोकुल बास्कोटा सहित हामीहरुले चेष्टा शब्दको अर्थ खोज्न थाल्यौं । समाजमा रहेका भएका विभिन्न घटनाक्रम र समस्याहरुलाई उजागार गर्न सक्छ भन्ने उद्देश्यले पत्रिकाको नाम चेष्टा नै राख्यौं । जसको नाम अनुसार काम नै गरेको छ’–सापकोटाले भनेका थिए–‘पत्रकारिताको सन्दर्भमा देखिएका गलत भावनाहरुलाई तिरस्कृत गर्दै स्वच्छ पत्रकारितालाई अगाडी बढाउनु हाम्रो लक्ष्य थियो । अहिलेसम्म चेष्टाले खेलेको भुमिकाले चेष्टाले लक्ष्य पूरा गरेको मलाई अनुभव भएको छ । चेष्टा साप्ताहिकको रुपमा प्रकाशन हुनु पुर्व पत्रकारितामा देखिएका समस्या धेरै थिए । राजनीति बाहेक अरु समाचारै हुँदैनन् भन्ने खालको सोच थियो त्यसको चिरफार गर्नु नै हाम्रो उद्देश्य थियो । राजनीति बाहेक अन्य विषयहरु पनि समाचार बन्न सक्छन् भन्ने हाम्रो लक्ष्य चेष्टा मार्फत पुरा गरेका थियौं । यद्यपि मुलुक राजनीति विना संचालन हुन सक्दैनन् । राजनीति सबै नीतिको मुल नीति हो । सबै विषय त्यहि भित्र पर्छन् । राजनीतिलाई नै मुल विषय बनाउनु जरुरी नै थियो । त्यो बाहेक जनताका समस्याहरुलाई समेत पत्रकारिता मार्फत उजागार गर्नु नै थियो । हामी त्यो लक्ष्यमा पुगेका थियौं । आज पनि चेष्टाले त्यो काम पुरा गरेकोमा गर्व गर्नुपर्छ । काभ्रेली जनताले चेष्टाले गरेको योगदानको कदर गर्नेछन् ।’ 
    चेष्टा मासिकका क्रममा केशव बडाल सम्पादक, गोकुल बास्कोटा कार्यकारी सम्पादक, गोकुल गौतम ब्यवस्थापक थिए । २०५६ साल कार्तिक ११ देखि चेष्टा अशोककुमार ब्याञ्जुको नेतृत्वमा साप्ताहिक रुपमा प्रकाशन शुरु भएको हो ।