2026 August 20/ 12:06: 20pm

धुलिखेल/सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको रोजगार प्रबद्र्धन कार्यक्रमसँग सम्वन्धित सुरक्षित आप्रवासन ब्यवस्थापन निर्देशक समितिको बैठक धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न भएको छ । 
    प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनी, वडा अध्यक्षहरु, शाखा प्रमुखहरु तथा सामी कार्यक्रममा संलग्न विभिन्न तहका ब्यक्तिहरुको सहभागिता रहेको थियो । सामी कार्यक्रम नेपालका सबै जिल्ला र स्थानीय तहमा संचालनमा हुँदैछ । सिविक फोरमले सहजीकरण गरिरहेको उक्त कार्यक्रममा सामी कार्यक्रमका कार्यक्रम संयोजक बसन्त कुँवरले सूचना तथा परामर्श, न्यायमा पहुँच, मनोसामाजिक परामर्श, वित्तिय साक्षरता र सीपमुलक तालिमका बारेमा जानकारी गराएका थिए । 
    वैदेशिक रोजगारमा जान चाहनेहरुका लागि परामर्श, गएका ब्यक्तिका परिवारका सदस्यहरुलाई तालिम तथा परामर्श, फर्केकाहरुलाई पनि आवश्यक तालिम तथा विविध विषयमा जानकारी गराउँदै आएको कार्यक्रम संयोजक बसन्त कुँवरले बताए । कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले बैदेशिक रोजगारमा गएका, जान चाहेका र गएर फर्केकाहरुका लागि स्थानीय सरकारले पनि विशेष कार्यक्रम संचालन गरिरहेको बताए । कार्यक्रममा सामी कार्यक्रमको प्रभावकारीताका बारेमा छलफल भएको थियो । यो कार्यक्रम २०८५ असारसम्म संचालन गर्ने गरी चौथो चरणमा संचालन भएको छ ।