
धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा विभिन्न कारण अपराधिक घटना बढिरहेका छन् । साउन देखि पौष मसान्तसम्म जिल्लामा ३ सय १ वटा घटना भएका छन् । २ सय ५२ जना अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको अर्ध बार्षिक प्रतिवेदनमा शान्ति सुरक्षा अपराध नियन्त्रण र विपद् ब्यवस्थापन अन्र्तगत भएका विभिन्न घटनाको विश्लेषण सहितको तथ्यांक सार्वजनिक गरेको छ ।
सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १० रहेको छ । सडक दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्यामा पनि बृद्धि भएको छ । दुर्घटनामा परेर ७८ जना घाईते भएका छन् । ३ जनाको हत्या भएको छ । ५७ जनाले आफै प्राण त्यागेका छन् । प्राकृतिक प्रकोपका घटना ४९ वटा भएका छन् । प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेको संख्या ८१ रहेको छ । ९७ जना घाईते भए । १०३ जना विशिष्ठ ब्यक्तिले भ्रमण गरेका छन् । यो अवधीमा ३ सय २५ वटा पसल अनुगमन गरिएको छ । ६ वटा फर्मलाई जरिवाना गरिएको छ । १ सय ३२ वटा पसलबाट सामान जफत गरी ५५ हजार जरिवाना गराईएको छ ।
जिल्ला प्रशासन कार्यालयमा चालु वर्षको ६ महिनामा १० करोड ८३ लाख राजश्व संकलन भएको छ । द्वन्द्व, शहिद परिवारका लागि ७६ लाख ८० हजार भुक्तानी गरिएको छ । २३ करोड ८० लाख रुपैयाँ विपद्मा परेकाका परिवारका सदस्यलाई राहत वितरण गरिएको छ । चालु वर्षमा ५२ वटा मुद्दा दर्ता भएका छन् । १९ वटा फछ्र्याैट भएका छन् । २ सय २६ वटा ठाडो उजुरी परेको छ । २ सय १४ वटा फछ्र्याैट भएका छन् ।