2025 March 15/ 10:39: 28pm

मोतीराम तिमल्सिना
इन्द्रावती, सिन्धुपाल्चोक

    ‘२०७७ सालसम्म बालबालिकाहरु कक्षा कोठा भित्र बस्नै मान्दैन थिए । कतिबेला शिक्षकलाई बाहना बनाएर कक्षा छाडेर निस्कम भन्ने योजनामा रहने बालबालिकाहरु २०७८ साल पछि कक्षा कोठा छाडेर निस्कनै मानिरहेका छैनन्’–पञ्चकन्या आधारभुत विद्यालय इन्द्रावती गाउँपालिका ८ ज्यामिरेमानेका प्रधानाध्यापक ध्रुर्वराज सिग्देलले भने–‘कक्षाकोठा भित्र उपलब्ध पर्याप्त शैक्षिक सामाग्री, बालमैत्री कक्षाकोठा, अध्ययन सामाग्री तथा शिक्षकको बालमैत्री ब्यवहार र सिकाईले बालबालिकाहरु कक्षा कोठामा रमाएका मात्रै छैनन् । सिकाई उपलब्धीमा समेत महत्वपूर्ण उपलब्धी हासिल भएको छ । बालबालिकाहरु पुराना कक्षा कोठामा रमाउन सकेका थिएनन् । अहिले कक्षा कोठा भित्रको ब्यवस्थापनले कक्षा छाड्न मानेका छैनन् ।’ 
    २०७७ सालमा विद्यालयका प्रधानाध्यापक सिग्देल, शिक्षकद्वय गोमा आचार्य अर्याल र शान्ता अधिकारीले बहुकक्षा बहु शिक्षण अर्थात् एमजीएमएल कार्यक्रम अन्र्तगतको तालिम प्राप्त गरे । २०७८ साल देखि विद्यालयमा उक्त कार्यक्रम मार्फत बालबालिकाहरुलाई अध्यापन गराउन शुरु गरे । कक्षा १ देखि ३ सम्म एउटै कक्षामा राखेर पाठ्यपुस्तक विना नै अध्यापन शुरु गराउँदा अभिभावकहरुले अविश्वास गरेको प्रधानाध्यापक सिग्देलले बताए । ‘शुरुमा शिक्षक, विद्यार्थी दुवै अलमलमा प¥यौं’–प्रधानाध्यापक सिग्देलले भने–‘अभिभावकहरुले समेत विद्यालयमा आएर बालबालिकाहरुलाई गृहकार्य नदिएको, पाठ्यपुस्तक नभएको तथा तीनवटा कक्षाका विद्यार्थीहरु एउटैमा राखेर पढाउँदा बालबालिकाहरुको सिकाई र कक्षास्तरोन्नतीमा समेत असर पर्ने भन्दै गुनासो बोकेर विद्यालय धाउन थालेका थिए । जतिखेर प्रधानाध्यापक र शिक्षकहरुलाई अभिभावक बुझाउन हम्मे हम्मे प¥यो । अभिभावकहरुलाई पनि विद्यार्थीहरुलाई जस्तै कक्षा लिएर पठाए पछि अहिले ढुक्कले भन्न थालेका छन् । बहुकक्षा, बहु शिक्षण विधीले बालबालिकाहरुको सिकाई उपलब्धीमा फड्को मारेको छ । सिकाई उपलब्धीमा छलाङ्ग मारेको छ । कक्षा ४ र ५ मा पनि सोहि विधीबाट पढाउन विद्यालयलाई अभिभावकहरुले अनुरोध गरेका छन् ।’ 
    पञ्चकन्यामा ७२ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । पञ्चकन्या र ओमराम प्रावि बीच २०७४ सालमा एकीकरण भयो । अभिभावक गाउँ नबस्ने, भएका अभिभावकहरुका सन्तान कम जन्मने, टोल टोलमा भएका विद्यालयहरुका कारण पर्याप्त विद्यार्थी नभए पनि भएका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले इन्द्रावती गाउँपालिकाले पहिलो चरणमा शैक्षिक सशक्तिकरण केन्द्रको सहकार्यमा पञ्चकन्या लगायत १३ वटा विद्यालयमा एमजीएमएल कार्यक्रम शुरु गरिएको हो । विद्यार्थीहरुको आनीबानी परिवर्तन, विद्यार्थीहरुमा निडरता, विद्यार्थीको सिकाईमा बृद्धि, नियमित विद्यालय आउने तथा सिकाईका बारेमा हरेक दिन अद्यावधिक गर्न सकिने, क्षमताको पहिचान गर्न सहज भएकाले सिकाई उपलब्धी बढेको प्रधानाध्यापक सिग्देलले बताए । विद्यार्थीहरु कथंकदाचित कक्षामा आउन सकेनन् र उक्त दिनको सिकाई छुटेको अवस्थामा पनि आफुले सिकेकै पाठबाट सिक्न सकिने गरी सहज भएकाले हरेक बालबालिकाहरुको सिकाई र क्षमतालाई पछ्याउन सकिने भएकाले सहज भएको शिक्षक गोमा आचार्य अर्यालले बताईन् । 
    ‘सिकाई उपलब्धीमा सफलता प्राप्त गर्नुमा प्रमुख शिक्षकहरुको मेहनत हो । जबसम्म शिक्षक अल्छी हुँदैनन् । शिक्षकले आफ्नो भन्दा विद्यालय र विद्यार्थीको हितमा समय खर्चन्छन् त्यतिबेला उपलब्धी हासिल हुन सक्छ’– प्रधानाध्यापक सिग्देलले भने–‘२०८२ का लागि शैक्षिक क्यालेण्डर तयार हुँदैछ । हरेक दिन, साता, पाक्षिक, मासिक, त्रैमासिक, चौमासिक गर्दै बार्षिक उपलब्धीको योजना निर्माण, कार्यान्वयन र मुल्यांकन हुनेछ । बालबालिकाहरुले सम्झन सक्ने, हरेक ब्यक्तिसँग निडरताका साथ आफ्ना कुरा राख्न सक्ने, सरसफाई, नियमितता, बसाई ब्यवस्थापन, अनुशासन लगायतमा परिवर्तन आएको छ ।’ ‘विद्यार्थीहरुले पाठ्यक्रमको सिकाईसँगै संस्कार जानेका छन् । शिक्षक जति खट्न सक्यो, विद्यार्थीको सिकाई उपलब्धी त्यति बढाउन सकिन्छ’– शिक्षक शान्ता अधिकारीले भनिन् । विकासका लागि एकता कार्यक्रममा कार्यरत सामाजिक परिचालक सुमन रम्तेलले हरेक विद्यालयमा एमजीएमएल कार्यक्रम प्रभावकारी भएको बताए । इन्द्रावती गाउँपालिका शिक्षा शाखाका प्रमुख मिनबहादुर धामीले लगानी साझेदारी हुँदा सहज भएको बताए । खेल्दै, सिक्दै बालबालिकाहरुका लागि सहज भएको उनले बताए । वडा स्तरीय परीक्षा लिएर बालबालिकाहरुको सिकाई उपलब्धी परिक्षण गर्दा एमजीएमएल कार्यक्रममा सहभागी भएका र नभएका विद्यार्थीहरु बीच अन्तर पाईएको उनले बताए । 
    प्रविधिको प्रयोगसँगै बालबालिकाहरुलाई ‘ट्याब’को प्रयोगबाट समेत पढाउन शुरु गरिएको छ । पाठ्यक्रम तथा पाठका केहि अंशहरु, लेखन र बोल्न अभ्यास हुने गरी ट्याबमा पाठ्यपुस्तक समावेश गरिएको छ । शिक्षकहरुले विद्यार्थीहरुलाई मोबाईलको विकल्प प्रविधिको प्रयोग गरी कक्षा कोठामा बालबालिकाहरुलाई सिकाउने गरेका छन् । धुलिखेल नगरपालिकाका २ वटा विद्यालय र सिन्धुपाल्चोकको एउटा विद्यालय र अन्यत्र गरी ६ वटा विद्यालयमा यो प्रविधिको प्रयोग शुरु गरिएको शैक्षिक सशक्तिकरण केन्द्रका कार्यकारी निर्देशक दिपक रोक्काले बताए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद आचार्यले अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीय तहको समन्वयमा उक्त कार्यक्रम प्रभावकारी बनाईएको बताए । विद्यालय शिक्षक तारा तामाङले बालबाकिलाहरुको सिकाई उपलब्धीमा सहज भएको बताए । 
    इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले एमएजीएमएल कार्यक्रमको प्रभावकारीता बढेको बताए । ‘सिकाई उपलब्धी एभरेजमा ४७ प्रतिशतबाट ६५ प्रतिशत पुगेको छ । गाउँपालिकाका बाँकी सबै विद्यालयमा उक्त कार्यक्रममा संचालन भए पछि उपलब्धी प्रतिशत ७५ पुग्ने लक्ष्य लिएका छौं’–अध्यक्ष नेपालले भने–‘प्रधानाध्यापकहरुलाई तालिम, शिक्षकहरुलाई उत्प्रेरणा सहितको सुविधा, इसिडी शिक्षकको पारिश्रमिक बृद्धि लगायतका कार्यक्रम मार्फत शिक्षामा गुणस्तर कायम गरिनेछ ।’ प्राप्त श्रोत र साधनलाई अधिकतम् उपयोग गरी असिमित चाहनालाई समेत मध्यनजर गर्दै शिक्षामा गुणस्तरीयता, ब्यवहारिकता, संस्कारयुक्त शिक्षामा जोड दिएको अध्यक्ष नेपालले बताए । श्रोत र साधन, श्रोत साधनको परिचालन गर्ने सक्ने दक्ष जनशक्ति र ऐन कानून निर्माण तथा कार्यान्वयन महत्वपूर्ण हुने भएकाले संघ सरकारले समेत एमजीएमएल कार्यक्रमलाई बार्षिक बजेट ब्यवस्थापन गर्न शुरु गरेको अध्यक्ष नेपालले बताए । उक्त कार्यक्रम लागु भएका विद्यालयहरुलाई सरकारले ५० हजार रकम मसलन्द खर्च दिन शुरु गरेको छ । 
    धुलिखेल नगरपालिकाले २२ वटा विद्यालयमा उक्त कार्यक्रम संचालन गरेको केहि वर्ष भएको छ । धुलिखेलले प्राप्त गरेको उपलब्धीलाई अझै फराकिलो बनाउन र बृद्धि गर्न अन्य जिल्लामा संचालित उक्त कार्यक्रममा असल अभ्यास सिक्ने उद्देश्यले आयोजित अवलोकन भ्रमणमा सहभागीहरुले बालबालिकाहरुको सिकाईमा आएको हसलाई बढाउन वा सिकेको कुरा सम्झिरहने गरी टिकाउन पनि उक्त कार्यक्रम प्रभावकारी भएको अनुभव सुनाए । 

अवलोकन पछि अल्लगै अनुभुति
    धुलिखेल नगरपालिकासँगको समन्वय र सहकार्यमा शैक्षिक सशक्तिकरण केन्द्रले छिमेकी जिल्ला सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ८ स्थित पञ्चकन्या आधारभूत विद्यालयमा शैक्षिक अवलोकन भ्रमण आयोजना गरेको छ । अवलोकन भ्रमणले संस्कारयुक्त सिकाई, बालबालिकाहरुको निडरता तथा अन्य विविध विषयको अनुभुति भएको सहभागी प्रधानाध्यापक तथा शिक्षकहरुले बताएका छन् । अवलोकन भ्रमणमा धुलिखेलमा रहेका २२ वटा विद्यालयका प्रधानाध्यापक, एमजिएमल कार्यक्रम अन्र्तगत तालिम प्राप्त भई कार्यरत शिक्षकहरु ६ जना, नगरपालिकामा कार्यरत शिक्षा तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक केन्द्रमा कार्यरत कर्मचारीहरु, शैक्षिक सशक्तिकरण केन्द्रमा कार्यरत कर्मचारी तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो । शैक्षिक सशक्तिकरण केन्द्रका कार्यकारी निर्देशक दिपक रोक्काले बालबालिकाहरुको सिकाई उपलब्धी बृद्धिका लागि विद्यालयहरुले गरिरहेको अभ्यास तथा अनुभवका बारेमा जानकारी लिने उद्देश्यले अवलोकन भ्रमण गराईएको बताए । 
    एमजीएमल पद्दतिको सफल अभ्यास तथा प्रभावकारीताबारे अवलोकन गरी आफ्नो विद्यालयमा प्रभावकारी संचालनका लागि आवश्यक रणनीति तयार गर्न भ्रमण सफल हुने विश्वास ब्यक्त गरिएको प्रधानाध्यापक गायत्री तिमल्सिनाले बताईन् । आधारभूत शिक्षाको गुणस्तर सुधारका निमित्त जर्मन नेपाल सहयोग संघ र धुलिखेल नगरपालिकाको सहकार्यमा शैक्षिक सशक्तिकरण केन्द्रले कक्षाकोठा तथा विद्यालय बालमैत्री तवरमा पुनव्यवस्थापन गर्ने, बालकेन्द्रित पठनपाठनमा आधारित कृयाकलाप तथा प्रकृया संचालन गर्ने, आवश्यक शैक्षिक तथा पठन सामाग्री प्रयोग गर्ने, शिक्षकहरुको दक्षता अभिबृद्धि गर्ने र सरोकारवालाहरुसँगको साझेदारी तथा समन्वयमा बढावा दिने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । 
    अवलोकन भ्रमणमा पञ्चकन्या आधारभुत विद्यालयले गरिरहेको अभ्यास, कक्षाकोठा ब्यवस्थापन तथा सामाग्रीको पर्याप्तता, विहानी बैठक, विषयगत शिक्षण तथा शिक्षण सिकाई पद्दती र सामाग्रीहरुको प्रयोग, मुल्यांकन पद्दती, शिक्षक–शिक्षक तथा प्रधानाध्यापक र शिक्षक बीचको समन्वय र सहकार्य, आमा समुह, अभिभावक तथा सरोकारवालासँगको समन्वय र सहकार्य, एमजीएमल संचालनको प्रभावकारीता, चुनौती र समाधान, दिगोपनाका बारेमा छलफल गरिएको थियो । विद्यालयका प्रधानाध्यापक ध्रुर्वराज सिग्देलले एमजीएमल कार्यक्रम प्रभावकारी रहेकाले बालबालिकाहरुको सिकाई अभिबृद्धिका साथै संस्कार र ब्यवहारीक तथा बालबालिकाहरुमा निडरता प्राप्त गरेको बताए । शिक्षिकाहरु गोमा आचार्य अर्याल र शान्ता अधिकारीले शुरु शुरुमा बालबालिका र अभिभावकहरुलाई अभ्यास गराउन कठिन भए पनि विस्तारै सहज हुँदै गएको बताए । 
    गाउँपालिकाका शिक्षा शाखा प्रमुख मिनबहादुर धामीले एमजीएमल कार्यक्रम प्रभावकारी भएको बताए । एमजीएमएल कार्यक्रम प्रभावकारी भएकैले गाउँपालिकाले यो वर्ष थप ११ वटा विद्यालय र आगामी शैक्षिक सत्रबाट सबै विद्यालयमा लागु गर्ने गरी कार्यक्रम र बजेट विनियोजन गरेको बताए । कक्षा ५ को वडास्तरीय परिक्षाबाट एमजीएमएल प्रभावकारी भएको तथ्यांक प्राप्त भएकाले बालबालिकाहरुको सिकाई उपलब्धी बढाउन उक्त कार्यक्रम सशक्त रुपमा अघि बढाउने धामीले बताए । बालबालिकाहरुको सिकाई, सिकाई उपलब्धी तथा दिगोपनामा उक्त कार्यक्रमलाई तीन तहकै सरकार, अभिभावक र विद्यालयले परामर्श तथा समय समयमा प्रविधिमैत्री बनाउन अन्र्तक्रिया लगायतका आवश्यक छलफल गर्न सरोकारवालाहरुले सुझाव दिए । 
    इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपालले एमजीएमल कार्यक्रम प्रभावकारी मात्रै नभई बालबालिकाहरुको सिकाई बृद्धिमा अत्याश्यक भएकाले गाउँपालिकाले आगामी ३ वर्ष भित्र सबै विद्यालयमा लागु गर्ने बताए । उक्त पालिकामा ४४ वटा विद्यालय मध्ये एकीकरण पछि ३८ वटा विद्यालय संचालनमा छन् । १२ वटा माध्यमिक विद्यालय छन् । १३ वटामा अहिले एमजीएमल कार्यक्रम संचालनमा छ । आगामी शैक्षिक सत्रमा ११ वटामा थप हुनेछ ।