2026 August 20/ 07:11: 12pm

    बनेपा/आदर्श विद्या मन्दिर स्कुल बनेपाले सडक सुरक्षा सचेतना कार्यक्रम संचालन गरेको छ । पनौती बनेपा सडकको केन्द्र पर्ने श्रीखण्डपुर चोकमा विद्यार्थी, शिक्षक, अभिभावक तथा विभिन्न सरोकारवाला निकायहरुको सहभागितामा विद्यालयले सडक सुरक्षा सचेतना कार्यक्रम संचालन गरेको हो । 
    संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्का, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, इलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी ज्ञानबहादुर खड्का, एसओएस बालग्रामका प्रिन्सिपल नरेश्वर आचार्य, मानवअधिकारकर्मी एवं प्राध्यापक भोजराज तिमल्सिना लगायतले सडक सुरक्षामा विद्यार्थीहरु मार्फत समुदाय र अभिभावकलाई समेत सचेतना फैलाउन सकिने बताएका थिए । एसपी खड्काले चालकहरुले ध्यान दिनुपर्ने विषयसँगै सडक प्रयोगकर्ता र सवारीसाधनमा चढ्ने यात्रुहरुले समेत ख्याल गर्नुपर्ने विषयमा जानकारी गराएकी थिईन् । सडकमा प्रयोग हुने अनेक विषयमा चनाखो हुनुपर्ने बताउँदै एसपी खड्काले सचेतना जीवन रक्षाको पहिलो आधार भएको बताईन् । 
    विद्यार्थीहरुले अभिभावकहरुले बालबालिकाहरुले कम उमेरमा प्रयोग मोटरसाईकल खरिद गर्न दिएको दबाब, लागु औषधको प्रयोगसँगै मोटरसाईकलको प्रयोगका कारण भएको दुर्घटना, दुर्घटना पछिको अवस्थामा अभिभावकहरुलाई परेको असर तथा अपाङ्गता, मृत्यु, उपचार खर्च लगायतका विषयमा सचेतनामुलक सडक नाटक प्रर्दशन गरेका थिए । विद्यार्थीहरुले सडकमा सचेतनामुलक ¥याली आयोजना गरेका थिए ।