बनेपा/श्री माई चण्डेश्वरी जेष्ठ नागरिक आश्रमको मुलद्वार तथा गणेश मन्दिरको शिलान्यास गरिएको छ । बागमती प्रदेश सांसद तथा पूर्व राज्य मन्त्री कञ्चनबादे श्रेष्ठले मुलद्वार तथा गणेश मन्दिरको शिलान्यास गरेका थिए । नगर प्रमुख शान्तिरत्न शाक्य लगायत, स्थानीय समाजसेवी, जनप्रतिनिधिहरु, ब्यवसायीहरु तथा धार्मिक क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
अध्यक्ष उद्धव तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गणेश मन्दिर निर्माणका लागि तले शैलीमा स्व.पिता बद्रिनाथ नापित र स्व.माता चिरीमाया नापितको स्मृतिमा छोराहरु कुमार सहायक नापित, कुमार सेवक नापित र सगुन नापितले २५ लाख रुपैया सहयोगको घोषणा गरेका छन् । मन्दिर निर्माण सम्पन्न हुँदा लाग्ने सबै खर्च ब्यहोर्ने गरी मन्दिर शिलान्यास गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष बलराम अधिकारी, आश्रमका अध्यक्ष उद्धव तिमल्सिना, आश्रम निर्माण समितिका अध्यक्ष पुष्पकाजी श्रेष्ठ लगायतले आश्रमका बारेमा जानकारी गराएका थिए । मुलद्वार निर्माणका लागि बनेपा नगरपालिकाले २० लाख रकम उपलब्ध गराएको छ । जनश्रमदानबाट ३ लाख ५३ हजार ९ सय ३८ रुपेया सहित २४ लाख रुपैयाको मुल ढोका निर्माण हुनेछ ।
आश्रम निर्माणका लागि आवश्यक पर्ने जग्गा ब्यवस्थापनसँगै भवन निर्माण कार्य २०८१ बैशाखमा प्रारम्भ गरिएको थियो । चण्डेश्वरी गुठीका नाममा रहेको केहि रोपनी जमिनका मोहिहरुलाई रकम भुक्तानी गर्दै गुठीको जग्गालाई बार्षिक भाडा तिर्ने गरी थप केहि रोपनी जमिन खरीद गरी १५ रोपनी जमिनमा आश्रम निर्माण गर्न लागिएको हो । २०७० सालमा स्थापना गरिएको उक्त संस्थाले झण्डै एक दशक जग्गा ब्यवस्थापन लगायतका कार्यमा समय ब्यतित गरेको छ । आश्रम निर्माणका लागि जग्गा कम्पाउण्ड वाल, मुख्य प्रवेशद्धार गेट, गणेश मन्दिर निर्माण, सिंगल ब्लक भवन ४ वटा, डबल ब्लक भवन ४ वटा, कमन क्लक भवन, मल्टिपरपोज भवन, आध्यामिक भवन जसमा योग सहितका अभ्यास गर्ने सकिन्छ, स्वास्थ्य क्लिनिक, भान्सा घर लगायतका संरचनाहरु निर्माण हुनेछन् ।
दाताहरुको सहयोगमा निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको उक्त आश्रमका केहि संरचनामा समितिले सरकारका निकायको अपेक्षा गरेको छ । ‘केहि संरचना निर्माणमा सरकारका तीन तहकै सरकारको सहभागिता खोजेका छौ––समितिका अध्यक्ष उद्धव तिमल्सिनाले भने–‘बाँकी संरचना निर्माण, जग्गा ब्यवस्थापन तथा त्यसको कार्य संचालनमा समितिले योजना तय गरेको छ । डिपिआर भित्र रहेर आवश्यक संरचना सहितका पुर्वाधार निर्माण गरिनेछ । निर्माण सम्पन्न भए पछि संचालनमा ल्याईने छ ।’ सिंगल ब्लक निर्माणका लागि ३५ लाख रुपैया खर्च हुनेछ । जसमा दुईवटा कोठा हुनेछन् । एट्याच बाथरुम पनि हुनेछ । दाताहरुले एउटा ब्लक बनाएको अवस्थामा दुई मध्ये एउटा कोठा उहाँहरुकै सिफारिसमा प्रयोगमा आउने छ भने अर्काे समितिले ब्यवस्थापन गर्नेछ । कमन ब्लक बाहेकका सिंगल र डबल ब्लकका भवनहरुमा पैसा तिरेर जेष्ठ नागरिकलाई राखिनेछ । कमन ब्लकमा भने १५÷१५ जना महिला र पुरुष राख्न मिल्नेछ । त्यो निशुल्क हुनेछ । डबल ब्लक भवन निर्माणका लागि ७० लाख रुपैया खर्च हुनेछ । जसमा ४ वटा कोठा हुनेछन । आश्रमको कुल क्षमता ५४ जनाको हुनेछ ।
सबै जेष्ठ नागरिकहरुका लागि सहज हुने गरी निर्माण गरिएका संरचनाको हेरचाह, ब्यवस्थापन, मर्मत सम्भार र नियमित संचालन समितिले गर्ने सह सचिव मोहनकृष्ण श्रेष्ठले बताए । समितिले जग्गा खरिद तथा ब्यवस्थापनका लागि करिव ३ करोड रुपैया खर्च गरिसकेको छ । जसले ब्लक निर्माण गर्छ उसकै नामाकरण गरिनेछ । समितिमा अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, उपाध्यक्षद्धय सुरकृष्ण बैद्य र पुष्पकाजी श्रेष्ठ, सचिव उद्धव आचार्य, सह सचिव मोहनकृष्ण श्रेष्ठ, कोषाध्यक्ष ग्रुवेन तौजले रहेका छन् । त्यस्तै सदस्यहरुमा प्रताप बैद्य, अन्जना शाह, धर्मभक्त प्रधान, ध्रुर्वराज कर्माचार्य, रामराजा धौभडेल, रामगोपाल कायश्थ, मिनु रञ्जित, दिनेशरत्न कायश्थ, अरुणचन्द्र बादे, पुर्णदेवी कायश्थ, कमला श्रेष्ठ, रसेल पलाञ्चोके, नवराज शाक्य, बलराम अधिकारी, रविन कर्माचार्य, हर्षनारायण कर्माचार्य लगायत छन् ।
जेष्ठ नागरिक आश्रम निर्माणका लागि ग्रुवेन तौजले, कृष्णमान कायश्थ, स्व.बद्रि नापितको स्मृतिमा उनका परिवारका सदस्य, अमरनाथ बादे, श्यामचन्द्र बादे, विक्रम भैल, प्रकाशकुमार श्रेष्ठ, पुष्पकाजी श्रेष्ठ, दशनारायण पोटे, बालकृष्ण मानन्धर, सुनिल बैद्य, रवि श्रेष्ठ, उद्धवप्रसाद तिमल्सिना, किरण मानन्धर, पूणदेवी कायश्थ, दिलिप श्रेष्ठ, दिपक सरकार, लक्ष्मीलाल राजभण्डारी, रामप्यारी बज्राचार्य, डा.भुषण श्रेष्ठ लगायतले सहयोग गरिसकेका छन् ।





