2026 August 20/ 03:58: 39pm

    धुलिखेल/राजधानी उपत्यका तथा अन्य जिल्लामा समेत निर्यात भईरहेको काभ्रेपलाञ्चोक जिल्लाको प्रमुख उत्पादन मध्येको एक तरकारी बाली आलुखेतीको बास्तविक तथ्यांङ्कका लागि सर्वेक्षण शुरु भएको छ । 
    तथ्याङ्क समन्वय कार्यालय, काभ्रेपलाञ्चोकले जिल्लामा प्रमुख कृषि वालीको रुपमा रहेको आलुखेती सम्वन्धी सर्वेक्षण संचालन गर्ने भएको छ । तथ्याङ्क समन्वय कार्यालय, काभ्रेपलाञ्चोकका तथ्याङ्क समन्वय अधिकारी शान्त्वना शर्माका अनुसार कार्यालयको बार्षिक कार्यक्रम अनुसार आलुखेती सर्वेक्षण शुरु गरिएको जानकारी दिईन् । यस अघि राष्ट्रिय तथ्याङ्क कार्यालयबाट संचालन हुने विभिन्न गणना तथा सर्वेक्षणहरुको कार्यालयको कार्य क्षेत्र भित्रका जिल्लाहरुमा तथ्याङ्क संकलन कार्य मात्र गर्दै आईरहेकोमा तथ्याङ्क समन्वय कार्यालय आफैले जिल्ला स्तरको सर्वेक्षण नै संचालन गर्न लागेको यो पहिलो कार्यक्रम रहेको उनले बताईन् । 
    जिल्लाको आलुखेती सर्वेक्षण कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको माइलस्टोनमा रहेको छ । सर्वेक्षणको मुख्य उद्देश्य जिल्लामा आलुखेतीले कृषि क्षेत्रमा पु¥याएको योगदानको मापन गर्नु रहेको र यस सर्वेक्षणमा जिल्लामा आलुखेती हुने कूल क्षेत्रफल, संलग्न जनशक्ति, खेती हुने आलुको जात र प्रकार, आलुको उत्पादन तथा उत्पादकत्व, आलुखेती गर्दा हुने खर्चहरु तथा आम्दानी, आलुखेतीमा प्रयोग भएका रसायनीक मल तथा किटनाशक विषादीको परिमाण, आलुखेतीमा कृषकहरुले प्राप्त गरेका सरकारी अनुदान, बीमा तथा क्षतिका विवरणहरु लगाएतका विवरणहरु संकलन गरिनेछ । सर्वेक्षणका लागि तथ्याङ्क समन्वय कार्यालयबाट प्रश्नावली र निर्देशिका तयार गरि सकिएको तथा सर्वेक्षण संचालनका लागि प्राविधिक समिति गठन गरि सो समितिबाट सर्वेक्षणमा प्रयोग हुने प्रश्नावली र निर्देशिकालाई अन्तिमरुप दिईएको छ । 
    जिल्लाभरिका आलुखेती गर्ने कृषकहरुको सूचीकरण कार्य सम्पन्न भईसकेको र उक्त सूचीबाट मुख्य सर्वेक्षणका लागि कृषकहरुको नमूना छनौट समेत गरि सकिएको तथ्याङ्क समन्वय अधिकारी शर्माले बताईन् । सर्वेक्षणको नतिजा स्थानीय तह अनुसार यसै आर्थिक वर्ष भित्र प्रकाशन गरिने लक्ष्य रहेको छ । मुख्य सर्वेक्षणको तथ्याङ्क संकलन कार्यका लागि कार्यालयबाट कर्मचारीहरु माघ २१ गतेबाट खटाई सकिएको छ । कृषकहरुको घरदैलोमा आउने कर्मचारीहरुलाई यथार्थ विवरणहरु उपलब्ध गराई सहयोग गरि दिन तथ्यांक समन्वय कार्यालय काभ्रेले अनुरोध गरेको छ ।