मोतीराम तिमल्सिना
धुलिखेल
राष्ट्रिय जनगणना २०७८ अनुसार काभ्रेपलाञ्चोक जिल्लाका ५.४५ प्रतिशत नागरिक पर–देश अर्थात विदेशमा छन् । अध्ययन तथा रोजगारका लागि विदेश जाने नागरिकहरुको संख्या दिन प्रतिदिन थपिए पनि तीन तहका सरकारले प्रभावकारी कार्यक्रम ल्याउन नसक्दा नागरिकहरु विदेशिन बाध्य भएका हुन् ।
‘मुलुकमा शान्ति होला, अवसर सिर्जना होला भन्ने सोच थियो । माओवादी सशस्त्र द्वन्द्वले आक्रान्त भईरहँदा माओवादी र शाही नेपाली सेनामा जानु पर्ने डरले गाउँ छाडेर हिडियो । गाउँ छाडेर शहर आउँदा पनि अवसर पाउन सकिएन । विदेशिनुको विकल्प रहेन’–चौरीदेउराली गाउँपालिकाका शिव पन्तले भने–‘जनआन्दोलन, संविधान सभा निर्वाचन, संविधान निर्माण, तीन तहका सरकार निर्माण भए । जे–जे भए पनि नेताहरुले कार्यकर्ता ब्यवस्थापन गर्ने थलो बाहेक केहि भएन । नागरिकहरुको चाहना र रोजगारको अवसर सिर्जना हुन सकेन ।’ मुलुकमा जस्ता परिवर्तन भए पनि नागरिकलाई आत्मनिर्भर बन्ने वातावरण सिर्जना नहुँदासम्म टोलबाट वडा, वडा हुँदै पालिका र पालिकाबाट जिल्ला हुँदै विदेशिनुको विकल्प नरहेको उनले बताए । राज्य विदेश जाने नागरिकहरुले पठाएको रेमिट्यान्सबाट चलिरहेको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा ९१ हजार ४ सय २८ घर परिवार छन् । तथ्यांक अनुसार १५ हजार १ सय ९४ घर परिवारका १९ हजार ८ सय ५८ जना नागरिक विदेश गएका छन् । कुल घर परिवारको १६.६२ प्रतिशत नागरिक विदेश गएका छन् । जसमा ३ लाख ६४ हजार ३९ जनसंख्याको थप ५.४५ प्रतिशत नागरिक विदेशिएका हुन् । जसमा पुरुष १४ हजार ८ सय १२ अर्थात ८.२८ प्रतिशत र महिला ५ हजार ४६ जना २.७३ प्रतिशत विदेशिएका छन् । विदेशिएका मध्ये सबै भन्दा धेरै चौरीदेउराली गाउँपालिकाका छन् । चौरीदेउराली गाउँपालिकाका ८२८ घर परिवारका १९.९२ अर्थात ११ सय ४२ जना विदेशिएका छन् । ८४३ जना पुरुष र २ सय ९९ महिला छन् । उक्त पालिकाका ११ हजार १ सय ६४ नागरिक पालिका बाहिर छन् । जनसंख्या भन्दा धेरै मतदाता भएको पालिका चौरीदेउराली हो ।
चौरीदेउराली गाउँपालिका पछि धेरै विदेश जाने नागरिकहरु तेमाल गाउँपालिकामा छन् । तेमालमा ९७६ घर परिवारका १३ सय २२ जना नागरिक विदेशमा छन् । जसमा पुरुष ९ सय ७८ र महिला ३ सय ४४ जना छन् । रोशी गाउँपालिकाका छन् । रोशी गाउँपालिकाका ६.८४ प्रतिशत नागरिक विदेशमा छन् । ११ सय ८७ घर परिवारका १६ सय २७ जना विदेशिएका छन् । जसमा १२ सय ३९ पुरुष र ३ सय ८८ जना रहेका छन् । नमोबुद्ध चौथो नम्वरमा परेको छ । नमोबुद्ध नगरपालिकाका ११ सय ३४ घर परिवारबाट १४ सय ५८ जना विदेशमा छन् । जसमा पुरुष ११ सय ९ र महिला ३ सय ४९ जना रहेका छन् । पनौती, बेथान्चोक, धुलिखेल, बनेपा, भुम्लु लगायतका पालिकाबाट ५ प्रतिशत भन्दा धेरै नागरिक विदेशिएको तथ्यांक समन्वय कार्यालय काभ्रेपलाञ्चोकका सुपरिवेक्षक सन्तोष कार्कीले बताए ।
जिल्लामा सबैभन्दा कम ३ सय २२ घर परिवारका ४ सय ७ जना विदेश गएको खानीखोला गाउँपालिका हो । उक्त पालिकामा कुल २३ सय ९८ घर परिवार छन् । १२ हजार २ सय १ जनसख्या छ । ३ सय २१ जना पुरुष र ८६ जना महिला खानीखोलाबाट विदेश गएका छन् । भुम्लुका ९ सय ९४, मण्डनदेउपुरका १४ सय ३१, बनेपाका ३५ सय २८, धुलिखेलका १८ सय ६३, पाँचखालका १८ सय ८६, पनौतीका २७ सय ४४, बेथान्चोकका ७ सय ९७ र महाभारत गाउँपालिकाका ७ सय ५९ जना नागरिक विदेश गएका छन् । उनिहरु अक्सर विदेश बस्दै आएका छन् । स्थानीय तह अनुसार स्वेदशमा अनुपस्थित संख्या सबैभन्दा धेरै चौरीदेउराली गाउँपालिकामा कम्तीमा एकजना अनुपस्थित स्वदेशमा भएको परिवार २५६३ मा जम्मा ७९.३१ प्रतिशत जसमध्ये पुरुष ८९.७८ प्रतिशत र महिला ६९.९१ प्रतिशत रहेको छ भने तेमाल गाउँपालिकामा २९१९ परिवारमा जम्मा ७८.४९ प्रतिशत जसमध्ये पुरुष ८५.९२ प्रतिशत र महिला ७१.५ प्रतिशत, भुम्लु गाउँपालिकामा १९७७ परिवारमा जम्मा ५१.८५ प्रतिशत जसमध्ये पुरुष ५७.३३ प्रतिशत र महिला ४६.७ प्रतिशत, रोशी गाउँपालिकामा २८०० परिवारमा जम्मा ४९.१६ प्रतिशत जसमध्ये पुरुष ५४.५७ प्रतिशत र महिला ४४.१ प्रतिशत रहेका छन् भने सबैभन्दा कम बनेपा नगरपालिकामा १७८५ परिवारमा जम्मा ६.३८ प्रतिशत जसमध्ये पुरुष ७.५७ प्रतिशत र महिला ५.२४ प्रतिशत रहेका छन् ।









