
– जनसंख्या र मतदाता संख्यामा यसरी पर्छ फरक
मोतीराम तिमल्सिना
धुलिखेल
गणतन्त्रको प्रमुख उपलब्धी गाउँ र बस्ति खाली हुन थालेका छन् । नागरिकहरु थातथलो जन्म स्थान सँगै पालिका, जिल्ला र देश नै छाडेर हिडिरहेको कारुणिक दृश्यले विकास हुँदैछ कि विनाशतर्फ उन्मुख हुँदैछ भन्ने प्रश्न तेर्सिएको छ । चौरीदेउराली गाउँपालिकाका ७० प्रतिशत नागरिक जिल्ला बाहिर र ९ प्रतिशत नागरिक देश बाहिर छन् ।
तथ्यांकमा देखिन थालेका छन् । जनगणना २०७८ को तथ्यांकले पनि त्यसको पुष्टि गर्छ । २०७८ पछि लगातारका तीन वर्ष नागरिकहरुले देश छाड्ने क्रम रोकिएको छैन । काभ्रेपलाञ्चोक जिल्लाको कुल जनसंख्या ४ लाख ७९ हजार ५ सय २१ हो । तर गणनामा ३ लाख ६४ हजार ३९ मात्रै छ । त्यसको प्रमुख कारण भनेको नागरिकहरुले आफ्नो थातथलो छाडनु हो । जनगणनाले ब्यक्ति जहाँ बसेको छ त्यहिबाट गणना गरेका कारण नागरिकहरुले आफ्नो पालिकामा मतदाता हुँदा पनि जनगणनामा समावेश नभएका हुन् । त्यस्ता ब्यक्तिहरुको संख्या जिल्लामा ९५ हजार ६ सय २४ छ । जो पालिकामा बसोबास गर्दैनन् तर मतदाता सूचीमा उनिहरुको नाम उल्लेख छ । मतदाता सूचीमा ३ लाख २१ हजार ३ सय १६ जना ब्यक्तिले फोटो खिचाएका छन् । जिल्लाबाट विदेश जानेहरुको संख्या १९ हजार ८ सय ५८ छ । विदेशमा जाने, देश भित्रै बस्ने र स्थायी रुपमा पालिकामा बसोबास गर्नेहरुको संख्या समेत जोड्दा काभ्रेपलाञ्चोक जिल्लाको कुल जनसंख्या ४ लाख ७९ हजार ५ सय २१ हुन जान्छ । पालिकामा सबै भन्दा धेरै चौरीदेउराली गाउँपालिकाका नागरिक जिल्ला बाहिर छन् । चौरीदेउराली गाउँपालिकामा ४ हजार १ सय ५६ घर परिवार छन् । १४ हजार ७६ जनसंख्या छ । जसमध्ये ६६ सय ६१ पुरुष, ७४ सय १५ महिला रहेको तथ्यांक समन्वय कार्यालय काभ्रेपलाञ्चोकका सुपरिवेक्षक सन्तोष कार्कीले बताए ।
जनसंख्या र मतदाता संख्यामा फरक किन ?
राष्ट्रिय जनगणना, २०७८ अनुसार काभ्रेपलाञ्चोक जिल्लाको जनसंख्या ३,६४,०३९ जना रहेको छ भने जिल्लामा कूल मतदाता संख्या ३,१२,३१६ रहेको छ । स्थानीय तह अनुसार जनसंख्या र मतदाता संख्यामा चौरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, भुम्लु गाउँपालिका र नमोवुद्ध नगरपालिकाको जनसंख्या पालिकाहरुको मतदाता संख्या भन्दा कम रहेको छ । जनसंख्या र मतदाता संख्या विच फरक पर्नुको मुख्य कारण तथ्याङ्क संकलनका क्रममा अपनाईएको परिभाषा र विधि नै हो । कुनै निश्चित समयमा निश्चित सिमाना भित्र अक्सर बसोवास (वर्ष भरिमा जो व्यक्ति जहाँ धेरै समय बसोवास गर्दछन्) गर्ने सबै उमेरका व्यक्तिहरुको गणनाबाट त्यस स्थानको जनसंख्या निकालिने गरिन्छ भने १८ वर्ष पूरा भई सकेका व्यक्तिको स्थायी बसोवासको आधारमा मतदाता संख्या निकालिने गरिन्छ ।
काभ्रेपलाञ्चोक जिल्लाको जनसंख्या भन्दा धेरै मतदाता भएका पलिकाहरुका मानिसहरु अक्सर बसोबास तत्तत् पालिकाहरुमा भन्दा पालिका बाहिर अन्यत्र (स्वदेश भित्र वा विदेशमा) धेरै भएकोले ती पालिकाहरुमा जनगणनाको जनसंख्या भन्दा मतदाता धेरै भएको हो । राष्ट्रिय जनगणना २०७८ मा तथ्याङ्क संकलन गर्दा परिवारमा अक्सर बसोवास गर्ने संख्या जसको विस्तृत विवरण सोहि स्थानमा लिइएको थियो भने परिवारमा अनुपस्थित संख्या स्वदेश भित्र जसको विस्तृत विवरण स्वदेशको जुन स्थानमा हो त्यहिबाट र अनुपस्थित संख्या विदेशमा जसको केहि विवरणहरु जस्तै कुन देश गएको, विदेश जाँदाको उमेर, शैक्षिक योग्यता, विदेश जानुको मुख्य उद्देश्य, विदेशमा उक्त व्यक्तिले गरिरहेको काम जस्ता विवरणहरु संकलन गरिएको थियो । त्यहि कारण स्थानीय तहमा बसोबास गरिरहेका नागरिकहरुको संख्या भन्दा मतदाता सूचीमा भएको संख्या धेरै भएको हो ।
कुन स्थानीय तहमा कति अनुपस्थित ?
राष्ट्रिय जनगणना, २०७८ अनुसार काभ्रेपलाञ्चोक जिल्लामा परिवारमा अनुपस्थित (स्वेदेश भित्र) ९५,६२४ जना (२६.२७ प्रतिशत) जस मध्ये पुरुष ५२,०३८ जना (२९.०९प्रतिशत) र महिला ४३,५८६ जना (२३.५४ प्रतिशत) रहेको छ भने परिवारमा अनुपस्थित (विदेशमा) १९,८५८ जना (५.४५प्रतिशत) जसमध्ये पुरुष १४, ८१२ (८.२८प्रतिशत) जना र महिला ५,०४६ जना (२.७३ प्रतिशत) रहेका छन् । स्थानीय तह अनुसार स्वेदशमा अनुपस्थित संख्या सबैभन्दा धेरै चौरीदेउराली गाउँपालिकामा कम्तीमा एकजना अनुपस्थित स्वदेशमा भएको परिवार २५६३ मा जम्मा ७९.३१ प्रतिशत जसमध्ये पुरुष ८९.७८ प्रतिशत र महिला ६९.९१ प्रतिशत रहेको छ ।
तेमाल गाउँपालिकामा २९१९ परिवारमा जम्मा ७८.४९ प्रतिशत जसमध्ये पुरुष ८५.९२ प्रतिशत र महिला ७१.५ प्रतिशत, भुम्लु गाउँपालिकामा १९७७ परिवारमा जम्मा ५१.८५ प्रतिशत जसमध्ये पुरुष ५७.३३ प्रतिशत र महिला ४६.७ प्रतिशत, रोशी गाउँपालिकामा २८०० परिवारमा जम्मा ४९.१६ प्रतिशत जसमध्ये पुरुष ५४.५७ प्रतिशत र महिला ४४.१ प्रतिशत रहेका छन् । सवैभन्दा कम बनेपा नगरपालिकामा १७८५ परिवारमा जम्मा ६.३८ प्रतिशत जसमध्ये पुरुष ७.५७ प्रतिशत र महिला ५.२४ प्रतिशत रहेका छन् । अनुपस्थित जनसंख्या विदेशमा भएको जनसंख्या हेर्दा सवैभन्दा धेरै चौरीदेउराली गाउँपालिकामा कम्तीमा एक जना अनुपस्थित विदेशमा भएको परिवार ८२८ मा जम्मा ८.११ प्रतिशत जसमध्ये पुरुष १२.६६ प्रतिशत र महिला ४.०३ प्रतिशत रहेको छ भने तेमाल गाउँपालिकामा ९७६ परिवारमा जम्मा ७.८ प्रतिशत जसमध्ये पुरुष ११.९ प्रतिशत र महिला ३.९४ प्रतिशत, रोशी गाउँपालिकामा ११८७ परिवारमा जम्मा ६.८४ प्रतिशत जसमध्ये पुरुष १०.७९ प्रतिशत र महिला ३.१५ प्रतिशत, भुम्लु गाउँपालिकामा ६५८ परिवारमा जम्मा ६.७ प्रतिशत जसमध्ये पुरुष ८.९३ प्रतिशत र महिला २.६७ प्रतिशत रहेका छन् भने सवैभन्दा कम खानीखोला गाउँपालिकामा ३२२ परिवारमा जम्मा ३.३४ प्रतिशत जसमध्ये पुरुष ५.३१ प्रतिशत र महिला १.४ प्रतिशत रहेका छन् ।
राष्ट्रिय जनगणनाको नतिजा अनुसार स्थानीय तह तथा जिल्लाको जनसंख्यामा सोहि नतिजा अनुसार प्राप्त अनुपस्थित जनसंख्या स्वदेश भित्रको र विदेशमा भएको संख्या जोडने हो भने ती स्थानीय तहहरुको मतदाता संख्या भन्दा जनसंख्या धेरै हुन आउँदछ । स्थानीय तहहरुमा जनसंख्या भन्दा मतदाता संख्या धेरै रहेका छन् ती स्थानीय तहहरुमा अनुपस्थित जनसंख्या धेरै रहेको देखिन्छ जसबाट ती स्थानीय तहका धेरै जसो मानिस विभिन्न कारण बालवच्चाको राम्रो शिक्षा दिक्षा, रोजगारी, भौतिक सुविधा लगायतका लागि जन्मस्थान छाडेर अन्यत्र स्वेदश भित्र वा विदेसिएको पाइन्छ । विभिन्न कारणहरुले गर्दा ठुलो संख्यामा मानिसहरु वाहिरिने क्रम बढ्दो छ यसलाई रोक्नको लागि स्थानीय तहहरुले विशेष निती तथा कार्यक्रमहरु नै निर्माण गर्न आवश्यक छ ।