2026 August 20/ 10:15: 34pm

    भुम्लु/प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीसँग कार्यसम्पादन गर्ने क्रममा काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा नम्वर ७ र ८ का नागरिकहरुले प्राप्त गर्न नसकेको जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने बुँदा उल्लेख गरिएको थियो । सोहि बुँदा कार्यान्वन गराउने क्रममा नापी कार्यालय काभ्रेको टोली भुम्लु गाउँपालिकामा खटिएको छ । 
    ‘विगतमा भएका अभ्यास तथा कार्यलाई थप जनशक्ति सहित भुम्लु गाउँपालिका वडा नम्वर ७ र ८ का नागरिकहरुलाई जग्गा धनी पूर्जा तयार गरी वितरण गर्ने गरी १० जनाको टोली खटिएको छ’–नापी कार्यालय काभ्रेका प्रमुख नापी अधिकृत अशोक कुमार भुसालले भने–‘यो पटक नागरिकहरुको सहभागितामा उहाँहरुले प्राप्त गर्ने पूर्जा उपलब्ध गराएर मात्रै नापी टोली सदरमुकाम फर्कनेछ ।’ प्रधानमन्त्री केपी ओलीले मन्त्री वलराम अधिकारीसँग गरिएको कार्यसम्पादन सम्झौता सचिव अर्जुनप्रसाद पोखरेलसँग भएको छ । सचिव पोखरेलले विभागीय प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् । सोहि सम्झौतालाई नापी विभाग र भूमि ब्यवस्थापन तथा अभिलेख विभाग मार्फत भूमि ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका तत्कालिन उपसचिव अनिल मरासिनी संयोजक रहेको टोलीले पेश गरेको प्रतिवेदन कार्यान्वन गर्न नापी कार्यालय काभ्रेपलाञ्चोक र मालपोत कार्यालय काभ्रेपलाञ्चोकलाई निर्देशन दिईएको थियो । 
    २०३२÷०३३ सालमा नाप जाँच भई झण्डै ९० प्रतिशत कित्ता दर्ता समेत गरी जग्गा धनी प्रमाण पूर्जा वितरण गर्न लाग्दा उक्त समयमा कायम फलाँटे र पिपलटार गाउँ विकास समिति विचको भौगोलिक सीमा विवादका कारण पूर्जा वितरण हुन सकेको छैन । नापी कार्यालय काभ्रेबाट २०७१ साल देखि सोहि स्थानमा टोली खटिई केहि कामकाजको थालनी भए पनि सम्भव भएको थिएन । विभिन्न कारण रोकिएको उक्त कार्यलाई पुनः प्रारम्भ गरिएको प्रमुख नापी अधिकृत अशोककुमार भुसालले बताए । ‘भुम्लु गाउँपालिकाले ६ जना प्राविधिक नियुक्त गरी नापी कार्यालयका टोली प्रमुख ४ सहित १० जना प्राविधिक कर्मचारीहरु जग्गा नाप जाँच गर्न खटिएका छन्’–प्रमुख नापी अधिकृत भुसालले भने–‘नापी कार्यालय र भुम्लु गाउँपालिकाले आवश्यक कार्यहरु गरिरहेका छन् ।’ 
    नापी कार्यालयले २ जना अधिकृत स्तरका कर्मचारीहरुलाई टोली प्रमुखको जिम्मेवारी तोकेर खटाईएको छ भने प्रत्येक टोलीमा कम्तिमा एक÷एक जना रहने गरी कर्मचारीको ब्यवस्था मिलाईएको छ । मालपोत कार्यालय काभ्रेबाट लगत भिडी आएका निवेदनहरुको आवश्यक कारवाहीका लागि टोलीमा पठाएको छ भने भुम्लु गाउँपालिकाले नियुक्त गरेका सर्भेयरहरुको छनौटमा नापी कार्यालयले सहयोग गरेको छ । फिल्डमा खटिएका सबै कर्मचारीहरुका लागि आवास, खानपिन तथा यातायातको ब्यवस्थापन भुम्लु गाउँपालिकाले गरेको छ । चार जना सर्भेयर नियुक्ति, २ जना अनुभवी नाप जाँचसँग विज्ञ नियुत्ति सहित ६ जनाको पारिश्रमिक समेत भुम्लु गाउँपालिकाले उपलब्ध गराउने छ । नाप जाँच गर्ने क्रममा सम्बन्धित वडाका जनप्रतिनिधिहरुको रोहवर रहने छ । मालपोत कार्यालय काभ्रेपलाञ्चोकले लगत भिडाउने प्रयोजनका लागि २४ वटा फाईल पठाएको छ । फलाँटे गाविस वडा नम्वर ९ बाट निवेदनको माग बमोजिम फिल्डको अवस्था अध्ययन गर्ने र पुनः लगत भिडाउने कार्यका लागि मालपोत कार्यालय पठाईएको छ । 
    नापी कार्यालयबाट खटिएको टोलीले प्रत्येक वडालाई नाप जाँच सहज बनाउने गरी ४ क्षेत्रमा विभाजन गरेको छ । त्यसका आधारमा निवेदन संकलन गर्ने, हक भोग अनुसारको कित्ता नापीको नक्सामा कित्ता अद्यावधिक गर्ने कार्यमा सहजता पु¥याउन निर्वाचित वडा सदस्यहरुको नेतृत्वमा प्रत्येक क्षेत्रमा नापीको टोलीहरु खटिएका छन् । यस अगाडि नै निवेदन प्राप्त भएको तर नक्सामा कित्ता अद्यावधिक नभएको भए त्यसलाई नक्सामा अद्यावधिक गर्दै जाने, नयाँ निवेदन लिँदा कित्ता खुलाउन लगाई निवेदन दर्ता गर्ने र माग गरे बमोजिमको नक्सामा कित्ता कायम गर्दै जाने तयारी गरिएको छ । कित्ता कायम भए पश्चात निवेदकबाट प्राप्त भएका फाईल लगत भिडाउने प्रयोजनका लागि मालपोत कार्यालय पठाउने र निवेदन भिडी आएका कित्ताहरुको फिल्डबुकमा दर्ता गरी जग्गाधनी दर्ता श्रेस्ता र जग्गा धनी प्रमाण पूर्जा तयार गर्ने तयारी गरिएको छ । 
    मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा सहज तरिकाले नभिडेको अवस्थामा २०३१÷०३२ सालमा फिल्डबुकमा जसका नाममा जग्गा दर्ता छ हाल पनि सोहि ब्यक्तिका नाममा उक्त जग्गा भएमा वा उक्त कित्तामा अंशवण्डा भई हकवालाले प्राप्त गरी सोहि ब्यहोरा मालपोत कार्यालयमा लिखत पास गरेको वा सोहि कित्ताको विजन फुटाई सम्वन्धित मालपोत कार्यालयबाट लिखत पास गरी अन्य ब्यक्तिले उक्त जग्गामा हक कायम गरेको जग्गाहरुको मालपोत कार्यालयमा लगत भिड्न जान्छ । तर कित्ता यसअघि नै घरायसी कागज गरी कुनै ब्यक्तिले आफ्नो हक कायम भएको मानी भोग गरिरहेको र सोहि ब्यक्तिले जग्गा दर्ताका लागि निवेदन दिएको अवस्थामा, बेजिल्ला पास गरी जग्गाको कारोवार भएको तर त्यसको रेकर्ड सम्बन्धित मालपोतमा प्राप्त नभएको अवस्थामा निवेदकहरुको लगत मालपोत कार्यालयमा हुन सक्दैन । जग्गा नाप जाँच ऐन २०१९ अनुसार लगत भिडाएर मात्र जग्गा दर्ता गर्नु पर्ने भएकाले मालपोत कार्यालयमा जमिनदार पठवारीले आफुसँग भएको लगत बुझाउनु पर्ने कानूनी ब्यवस्था रहेका छ । 
    नागरिकहरुले नापी टोलीले माग गरेको कित्ता सम्बन्धि ब्यक्तिको भोग भएको र सोही जग्गाको मालपोत तिरी रहेका जग्गाधनीहरुको तिरो तिरेको विवरण सम्वन्धित वडामा रहेकाट छ । आवश्यक कागजातहरु उपलब्ध गराउँदै नापी कार्यालयलाई लगतका बारेमा जानकारी गराउने र सोहि लगत भिडाई नापी टोलीले जग्गा दर्ता एवं जग्गा धनी श्रेस्ता एवं पुर्जा तयार गर्नेछ । २०७१ साल देखि हालसम्म २ सय वटा पूर्जा तयार भई प्रमाणित भएका छन् । निवेदनहरुको लगत भिडाउने कार्यमा हुने ढिलाई, लगत अद्यावधिक नभएका जग्गाको लगत तयार गर्ने, तत्कालीन समयमा कायम नक्सामा द्रुत रुपमा उतार्ने लगायतका समस्या समाधान भएमा तत्काल नाप जाँच टोलीले कार्य सम्पन्न गर्नेछ । 
    नापी कार्यालयको जस्तै मालपोत कार्यालयले लगत भिडाउने कार्यका लागि स्थानीय तहमा नै खटाउने, स्थानीय तहले तिरो लिएका र मालपोत कार्यालयले विजन भिडाई कारोवार गरिदिएका विभिन्न तरिकाबाट जग्गा आफुले लिई कमाई खाएका जग्गाधनीहरुको लगत स्थानीय तहको सहयोगमा मालपोत कार्यालयले कायम गरी जग्गा दर्ता र जग्गा धनी प्रमाण पूर्जा जग्गा धनी श्रेस्ता तयार गर्न नापी टोलीमा समयमा नै उपलब्ध गराउन सकेमा तत्काल स्थानीयहरुको समस्या समाधान हुनेछ । 
यस्तो छ तथ्य 
    भुम्लु गाउँपालिकामा साविक फलाँटे र पिपलटार अर्थात हालको वडा नम्वर ७ र ८ मा जग्गा नाप जाँच ऐन २०१९ अनुसार जाँच भई नापी नक्सामा आधारित भूमि लगतको आधारमा २०३२÷०३३ सालमा नापी नक्सा भई सोहि समयमा ९० प्रतिशत कित्ताहरु दर्ता भएको र जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने बेलामा राजनीतिक सीमा विवाद हुँदा पुर्जा वितरण हुन सकेको थिएन । पूर्जा नभएका कारण नागरिकहरुले हालसम्म विभिन्न प्रयोजनका लागि आवश्यक हुँदा पूर्जा प्रयोग गर्न सकेका थिएनन् । 
तत्कालीन समयमा पिपलटार गाउँ पञ्चायतमा विक्रम सम्वत २०३२÷०३३ सालमा वडा नम्वर १ देखी ९ सम्म नाप जाँच सम्पन्न भई नक्सा र फिल्डबुक कायम भए पनि दर्ता स्रेस्ता र पुर्जा तयार भई लागु भएकाले विक्रम सम्वत् १९९२ को लगत तथा विक्रम सम्वत २०५४ को तत्कालिन गाउँ विकास समितिबाट खेततर्फ माटो मुरी र पाखोतर्फ विजनको आधारमा क्षेत्रफल कायम गरिएको लगतका आधारमा अंशवण्डा, नामसारी, राजिनामा आदिको लिखत पारित गरी हक हस्तान्तरण मालपोत कार्यालयबाट भएको थियो । 
    उक्त क्षेत्रका २२ थान नक्सा, फिल्डबुकका १७ थान ६ वटा ठेली छन् । ब्यक्ति विशेषको नाममा दर्ता भएका ५१ सय ५ कित्ता र दर्ता गर्न बाँकी भएका ८ सय ८९ कित्ता जग्गा, सरकारी सार्वजनिक प्रकृतीका २ सय १२ कित्ता जग्गाको पूर्जा तयार हुन बाँकी छ । ८ सय ५८ वटा निवेदन दर्ता भएकोमा १ सय ५४ वटा फछर्याैट भएका छन् । १ सय ५४ वटा दर्ता प्रमाणपुर्जा तयार भएका छन् । ८ सय वटा कित्ता जग्गाधनी दर्ता प्रमाणपुर्जाका लागि तयार भएका छन् । २०७१ जेठ २५ गते, २०७५ माघ १४ गते, २०८० माघ २ गते तथा २०८० माघ २९ गते र २०८१ जेठ ३१ गते भुम्लुका समस्याका बारेमा कार्यदल गठन तथा टोली खटिएका थिए ।