2026 August 20/ 10:15: 26pm

    धुलिखेल/केहि वर्ष देखि जिल्लामा सक्रिय भएको रेबिज रोगको संक्रमणले एक महिलाको निधन भएको छ भने पशुहरु मर्न थालेका छन् । बनेपा नगरपालिका वडा नम्वर ६ मा ४० बर्षीया एक महिलाको रेबिजका कारण निधन भएको छ । 
    ‘एक महिना अघि महिलालाई कुकुरले टोकेको रहेछ । कुकुरले टोकेको कुरा उहाँले कसैलाई भन्नु भएन । केहि दिन पछि उहाँ विरामी पर्नु भयो । तत्कालै बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा पु¥याईयो । त्यहाँ रेबिजको शंका गर्दै टेकु रिफर गरियो । टेकु पु¥याएको ३÷४ दिन पछि उहाँको निधन भयो’–महिलाका आफन्तले भने–‘विरामी भए पछि पनि उहाँले कुकुरले टोक्यो भन्नु भएन । तपाईलाई रेबिजको लक्षण देखियो भने पछि एक महिना अघि जति सडकमा हिडिरहेको कुकुरले टोकेको जानकारी गराईन् ।’ जतिबेला उनको उपचार सम्भव भएन । तत्कालै घाउ सफा गरेर रेबिज विरुद्धको सुई लगाउन सकिएको भए महिलाको निधन नहुने चिकित्सकहरुले बताएका छन् । टेकुमा रहेको सरुवा रोग नियन्त्रण तथा उपचार गर्ने अस्पतालमा उपचारका लागि भर्ना भएकी बनेपा नगरपालिका वडा नम्वर ६ घर भएकी ४० बर्षिया महिलाको रेबिजका कारण २०८१ मंसिर २९ गते दिउँसो १.२३ बजेको समयमा निधन भएको प्रमाणित गरिएको छ । महिलाका ससुरा र श्रीमान्को निधन भएको छ भने सासु र एक छोरा छन् । आर्थिक अवस्था कमजोर भएको उक्त परिवारले उपचार गराएको रकम समेत तिर्न सकेको थिएन । 
    रेबिजबाट रोशी गाउँपालिका वडा नम्वर ४ महादेवटार स्थित सिग्देलटोलमा एउटा भैंसी मरेको छ । साविक महादेवटार गाविस वडा नम्वर ७ स्थित सिग्देल टोलमा कुकुरले टोकेको २० दिन पछि भैंसी मरेको रोशी गाउँपालिकाको पशु स्वास्थ्य शाखामा कार्यरत पशु सेवा प्राविधिक विक्रम केसीले जानकारी दिए । भैंसी लगातार विरामी भएको चार दिन पछि केसीलाई उपचारका लागि कृषकहरुले खबर गरेका थिए । गर्भवती भैंसी केहि समस्या भएका कारण खानेकुरा खाएन होला भन्दै कृषकहरुले एक दुई दिन पर्खी बसेका थिए । तेश्रो दिन पशु सेवा प्राविधिकलाई खबर गरे । उपचार सेवा शुरु नहुँदै ६ महिनाको गर्भवती भैंसीको रेबिजबाट निधन भयो । स्वास्थ्य शाखा र पशु स्वास्थ्य शाखाको पहलमा पशुको रेखदेखमा संलग्नलाई रेबिज विरुद्धको खोप उपलब्ध गराईएको छ । रोशी गाउँपालिकामा अघिल्लो वर्ष रेबिजका कारण वडा नम्वर ७ कटुन्जे थानसिङ्गबेशीमा बाख्रा मरेका थिए । अन्यत्र पनि पशुमा रेबिज देखिएको थियो । भैसीले टोकेको कुकुर बेपत्ता छ । केहि दिन देखि स्थानीयले कुकुरको खोजी गरेको भए पनि कुकुर फेला नपरेको केसीले जानकारी दिए ।
    पशु सेवा कार्यालय काभ्रेका प्रमुख बरिष्ठ भेटेरिनरी डा.सिर्जा वाग्लेले रेबिज महामारी फैलन नदिन रेबिजको लक्षण देखिएका स्थानका नागरिक र सामुदायिक कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाउने अभियान शुरु गरिएको बताईन् । स्थानीय तहसँगको समन्वयमा पहिलो चरणमा करिव चार सय सामुदायिक कुकुरहरुलाई खोप लगाईएको छ । जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपतिले रेबिज संक्रमणका बारेमा सचेतना फैलाउन, रेबिजबाट बच्न नागरिकहरुलाई खोप सेवा लिन र रेबिज लक्षण भएका कुकुर तथा जंगली जनावर तथा अन्य पशुहरु देखिए तत्काल खबर गर्न अनुरोध गरिएको बताईन् । जिल्ला स्थित कार्यालय प्रमुखहरु, स्थानीय तहसँगको समन्वयमा रेबिज रोगको संक्रमणका बारेमा सचेतना फैलाउन आवश्यक रहेको कक्षपतिले बताईन् । 
    विगत वर्षहरुमा खानीखोला, महाभारत, चौरीदेउराली, भुम्लु, मण्डनदेउपुर, रोशी, धुलिखेल, बनेपा, पनौती, पाँचखाल लगायतका पालिकाहरुमा रेबिज रोगको संक्रमण देखिएको छ । जनस्वास्थ्य कार्यालय, पशु सेवा कार्यालय, स्थानीय पालिकाहरुको समन्वयमा रेबिज खोप लगाइएको छ । ‘जंगली तथा सामुदायिक पशुपंक्षी तथा जनावरको सहज बस्तीमा प्रवेश तथा नयाँ–नयाँ सामुदायिक कुकुरको प्रवेशका कारण रेबिज फैलन सक्ने सम्भावना छ’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागीश्री कक्षपति श्रेष्ठले भनिन्–‘पछिल्लो समय रेबिज देखिएका पालिकाहरुमा विशेष निगरानी बढाइएको छ ।’ 
    जंगली जनावरबाट बच्न बाख्राको गोठालो तथा विद्यालय जाँदा बालबालिकाहरुको साथी बनेको छ सामुदायीक कुकुर । त्यसकारण कुकुरलाई स्थानीयले माया गरेर हुर्कउने गरेका छन् । रेबिजका कारण दर्जनौँ पशुपंक्षीहरु मरेका छन्  । रेबिज भएका पशुहरुको काँचो मासु तथा दूध प्रयोग गरेका कारण समुदायमा त्रास फैलने गरेको छ । ‘बस्ती खाली हुँदै गयो, सुगम र सहजताका लागि सर्वसाधारण शहर जान थालेकाले खेतबारी बाँझो हुँदै जङ्गल हुन गयो’– भुम्लु गाउँपालिकाका वडा नम्बर १ का सदस्य रामज्योति पहरीले भने –‘समुदायमा खुलेआम जंगली जनावरहरु बँदेल, मृग, स्याल, कालिज प्रवेश गर्न थालेका छन् । खुल्ला गोठ, नयाँ नयाँ कुकुरहरुको गाउँ प्रवेश तथा स्थानीयहरुको सचेतना नहुँदा रेबिज जंगली जनावरबाट समुदायमा आउन सक्ने अनुमान गरेका छौं ।’ समुदायमा हुने हरेक कुकुरलाई खोप र बन्ध्याकरण गरी रेबिज पशुपंक्षीबाट मानवमा सर्न नदिन अभियान संचालन गर्ने पशु सेवा कार्यालय काभ्रेका प्रमुख बरिष्ठ भेटेरिनरी डा.सिर्जा वाग्लेले बताईन् । जिल्लामा जुनसुकै बेला रेबिज फैलन सक्ने भएकाले खोप तथा अन्य तयारी गरिएको स्वास्थ्य कार्यालय काभ्रे प्रमुख रागीश्री कक्षपति श्रेष्ठले बताईन् । विशेष गरी जिल्लाका हरेक क्षेत्र र वडाहरुमा सचेतना अभियान आवश्यक रहेको उनले बताईन् ।