2026 August 20/ 10:15: 32pm

४६ करोड बजेट कटौती
विकास तिमल्सिना
पनौती

    पनौती नगरपालिकाको १६ औं नगर सभा नगर प्रमुख रामशरण भण्डारीको अध्यक्षतामा सम्पन्न भएको छ । असोज १०–१२ को अविरल वर्षातका कारण भएको क्षति पछिको नगर सभाले ४६ करोड बजेट कटौती गर्ने निर्णय गरेको छ । 
    चालु आर्थिक वर्ष २०८१÷०८२ मा प्रस्तुत गरिएको १ अर्ब ६० करोड रुपैयाँको बजेटमा संशोधन सहित १ अर्ब १४ करोड कायम गरिएको छ । ४६ करोड बजेट योजना सहित कटौती गरिएको नगर प्रमुख भण्डारीले बताए । प्रस्तुत बजेट संशोधन सहित ३० करोड घाटामा थियो । ३७ करोड रुपैयाँ अघिल्लो आर्थिक वर्षबाट मौज्दात हुने अपेक्षा गरिएको भए पनि ७ करोड मात्रै मौज्दात भएकाले ३० करोड रुपैयाँ घाटा भएको थियो । घाटा बजेटको संशोधन सहित ४६ करोड रुपैयाँ कटौती गरी केहि योजना हटाईएको र केहि नयाँ विपत्तिका योजनाहरु थपिएको नगर प्रमुख भण्डारीले बताए । विपत्ति पछि रोकिएका खानीहरु केहि अघोषित र नविकरण भएकाहरुलाई संचालनको अनुमति दिएसँगै नगरपालिकाले आन्तरिक रुपमा राजश्व उठाउन शुरु गरिएको छ । उक्त श्रोतबाट नगरपालिकाले चालु वर्षमा १७ करोड उठ्ने अनुमान गरिएको छ । 
    नगर सभामा आर्थिक ऐन २०८१ को लागि स्वीकृत बजेट तथा कार्यक्रममा पुनरावलोकन सम्बन्धी प्रस्ताव उपप्रमुख गिता बञ्जाराले प्रस्तुत गरेकी थिईन् । चालु आर्थिक वर्ष २०८१÷०८२ को मसिंर मसान्त सम्मको आम्दानी खर्च अनुमोदन सम्बन्धी प्रस्ताव वडा अध्यक्ष दिपकप्रसाद दाहाल र १५ औ नगर सभा पश्चात हालसम्म कार्यपालिकाले विभिन्न मितिमा गरेका निर्णयहरुको अनुमोदन सम्वन्धी प्रस्ताव वडा अध्यक्ष पुरुषोतम अधिकारीले प्रस्तुत गरेका थिए । सभामा वडा अध्यक्ष मोहनबहादुर भण्डारीले धन्यवाद प्रस्ताव पेश गरेका थिए । नगर प्रमुख रामशरण भण्डारीले छलफलमा उठेका विषयबस्तुहरुलाई सम्बोधन गरेका थिए । सभामा प्रस्तुत भएका विषयहरु सर्वसम्वतबाट पास भएका छन् । 
    उपप्रमुख गीता बन्जाराले नगर सभामा विपत्ति तथा अन्य समसामयीक विषयमा धारणा राखेकी थिईन् । सभाले संघीय सरकार, प्रदेश सरकार, राजश्व बाँडफाँड, आन्तरिक श्रोत, जनसहभागिताका योजनाहरुमा विनियोजन गरिएको बजेट कटौती गरेको छ । विपदजन्य कृयाकलापका लागि ११ करोड ७३ लाख ७५ हजारका कार्यक्रमहरु समावेश गरी १ अर्ब १४ करोडको शंशोधित बजेट पास भएको छ । सभाले धुलिखेल नगरपालिका खानेपानी उपभोक्ता समितिका तर्फबाट पनौती नगरपालिका श्रोतमा आधारित भई खानेपानी उपभोग गरेबापत प्राप्त हुन आएको १० लाख रुपैयाँ खानेपानी ब्यवस्थापन कार्यमा खर्च गर्ने गरी पनौती नगरपालिका वडा नम्वर १२ लाई उपलब्ध गराउने निर्णय अनुमोदन गराउने निर्णय सदर गरेको छ । सभाले सम्पती कर संशोधित गरेको छ । वडा नम्वर र क्षेत्र निर्धारण गरी करकमा ५० देखि १ सय प्रतिशत सम्म छुट दिने निर्णय गरेको छ । 
    प्रकोप ब्यवस्थापन कोषमा ३ करोड ११ लाख ६७ हजार ४ सय ९७ रुपैयाँ जम्मा भएकोमा १ करोड ८० लाख ९६ हजार ३ सय ५ खर्च भएको छ । संघ, प्रदेश, काठमाडौ महानगरपालिका, तथा विभिन्न ब्यक्ति तथा निकायबाट प्राप्त रकम प्रकोप ब्यवस्थापन कोषमा जम्मा गरिएको थियो । असोज १०–१२ मा पनौतीमा १ जना विदेशी नागरिक सहित १९ जनाको निधन भएको थियो भने १ जना बेपत्ता छन् । ५ सय ८६ वटा घर पूर्ण क्षति भएका छन् भने ९ सय ४४ वटा घर आंशिक क्षति भएका छन् । सडक, सिचाई, खानेपानी, पुल लगायतका संरचनामा पुर्ण र आंशिक क्षति भएको छ ।