साना ठुला गरी २ सय भन्दा धेरै खानेपानी आयोजनामा १ अर्ब भन्दा धेरै क्षति पुगेको छ ।
मोतीराम तिमल्सिना
धुलिखेल
करिव तीन महिना अर्थात् ८८ दिनमा सदरमुकाम धुलिखेलमा विपत्ति पछि अवरुद्ध खानेपानी संचालनमा आएको छ ।
शिक्षा, स्वास्थ्य, पर्यटन, सरकारी कार्यालयहरु, नेपाली सेना, नेपाल प्रहरी तथा विभिन्न क्षेत्रमा संकट देखियो । नगरपालिकाले पनौती नगरपािलका वडा नम्वर १२ र पनौती नगरपालिकासँग अलग–अलग छलफल ग¥यो । पटक पटकको संवाद तथा छलफल पछि धुलिखेल नगरपालिकामा ल्याएको खानेपानी संचालनका लागि सहमति हुन पुग्यो । उता खानेपानी आयोजना सम्पन्न गरी उद्घाटनको मिति तोकिएका आयोजना ध्वस्त भई शुन्यमा पुगेका छन् । जिल्लामा १ सय ९८ आयोजनामा क्षति पुगेको छ । ८४ करोड १२ लाख ६२ हजार रुपैया उक्त आयोजनामा क्षति पुगेको छ । इन्टेक, पाईप लाईन, ईलेक्ट्रिक वर्कस लगायतका अन्य पूर्वाधारहरुमा क्षति पुगेको छ । प्रदेश अन्र्तगतका १ सय ३४ वटा आयोजनामा क्षति पुगेको छ । सविक फोरम, नेवा, युनिसेफ, रेडक्रस लगायतका संस्थाहरुले विपत्ति पछिको अवस्थामा सहयोग गरेका छन् । स्थानीय सरकार र संघ सरकारले संचालन गरेका केहि आयोजनाहरु यो सूचीमा छैनन् । बागमती प्रदेश सरकार, खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय, खानेपानी तथा सरसफाई डिभिजन नम्बर ३ सिन्धुपाल्चोककी डिभिजन प्रमुख, अधिकृत नवौं सृष्टि ख्वालापालाका अनुसार असोज २० गते उद्घाटनका लागि तयार भएका केहि आयोजना शुन्यमा पुगेका छन् । नाल्दुम, गोकुले तथा दाप्चा काशिखण्ड आयोजनामा पुगेको क्षतिले आयोजनाको भविश्य अन्योलमा परेका छन् । तत्कालै संघ र प्रदेश सरकारले बजेट उपलब्ध गराउन सकेका छैनन ।
पौष १० गते बुधबार धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिले विशेष साधारण सभाको आयोजना ग¥यो । सभामा नगर प्रमुख अशोक ब्याञ्जुले विषम परिस्थितीमा भएका सम्झौता, सहमति र समस्या तथा आगामी कार्ययोजना प्रस्तुत गरे । खानेपानी उपभोक्ता समिति र नगरपालिकाले भुमेडाँडा र पनौती नगरपालिकाले तिर्नु पर्ने दायीत्व तथा तत्कालका लागि मर्मत गर्न लाग्ने शुल्कका बारेमा सभामा प्रस्ताव गरिएको थियो । नगरपालिकाले धुलिखेल खानेपानी सरसफाई तथा उपभोक्ता समिति र पनौती वडा नम्वर १२ सँग अलग्गै सम्झौता गरेको थियो । जसमा ६ वटा बुँदा समावेश गरिएको थियो । धुलिखेलबासीलाई खानेपानीको ब्यवस्था मिलाउन पूर्वाधार निर्माण गर्ने र हाललाई अस्थायी प्रकृतिको कार्य गरेर तत्कालीन खानेपानीको समस्या समाधान गर्न कार्य गर्ने, पनौती १२ नम्वर वडा कार्यालय भित्रका बासिन्दालाई २०८२ को स्वास्थ्य विमा गरिदिने र २०८३ देखि धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट ६० प्रतिशत र सम्वन्धित जनताबाट ४० प्रतिशत बीमा खर्च ब्यहोर्ने गरी स्वास्थ्य बीमा गर्ने, काठमाडौ विश्वविद्यालयमा पनौती नगरपालिका वडा नम्वर १२ भूमिडाँडाका बासिन्दालाई योग्यता (मेरिट) मा आधारित भै विश्वविद्यालयमा अध्ययन गर्न २ जना (१ जना स्नातक र १ जना स्नातकोत्तर) लाई छात्रबृत्ति उपलब्ध गराउने सहमति भएको छ ।
धुलिखेल अस्पतालमा विपन्न र सिमान्तकृतलाई उपचार खर्च ब्यहोर्न नसक्ने भएमा छुटका लागि धुलिखेल अस्पतालसँग पहल गर्ने, धुलिखेल खानेपानी उपभोक्ता समितिबाट पनौती १२ भूमेडाँडाका लागि उपलब्ध गराउँदै आएको आर्थिक अनुदानमा थप २ लाख रुपैया उपलब्ध गराउने र २०६७ सालमा भएको सम्झौता दुबै पक्षले पालना गर्ने सहमति २०८१ मंसिर ६ गते भएको थियो । ३ करोड ५१ लाख रुपैयाँ बराबरको पाईप लाईन र संरचनामा क्षति पुगेको तथ्यांक छ । एकीकृत खानेपानी तथा अन्य श्रोतहरुको ब्यवस्थापनका लागि धुलिखेल नगरपालिका, पनौती नगरपालिका, पनौती १२ नम्वर वडा कार्यालय र धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समिति बीच २०८१ मसिंर १४ गते सम्झौता भएको थियो ।
जिल्लामा १ सय ३४ वटा आयोजनाका लागि पाईप वितरण गरिएको थियो । जसका लागि संघ सरकार मार्फत २३ वटा आयोजनामा ४६ हजार १ सय मिटर पाईप वितरण भएको छ भने प्रदेश सरकारको तर्फबाट १ सय ११ आयोजनामा ७८ हजार २७ मिटर पाईप वितरण गरिएको छ । ७८ किमी प्रदेश र संघले ४६ किमी पाईप उपलब्ध गराएको छ । युनिसेफ मार्फत २ हजार सेट आपतकालिन सामाग्री वितरण गरिएको थियो । प्रति सेटमा मग, बाल्टिन, हाईजेनिक किट, पियुष र विल्चिङ्ग पाउडर रहेको थियो । धुलिखेलमा १३, पनौतीमा १८, भुम्लुमा ५, मण्डनदेउपुरमा ३, बनेपामा ४, नमोबुद्ध ११, बेथान्चोकमा २६, तेमालमा १, पाँचखालमा २, रोशीमा ८, चौरीदेउरालीमा १ वटा आयोजनामा पाईप उपलब्ध गराईएको हो । महाभारत र खानीखोलामा तत्काल पाईप पठाउन सकिएको थिएन ।
नेपाल खानेपानी संस्थान बनेपा अन्र्तगत संचालन भएका ५ वटा आयोजना र एउटा मिनरल वाटर आयोजनामा क्षति पुगेको छ । जिल्लामा काभ्रे एकीकृत खानेपानी, पाँचखाल एकीकृत खानेपानी, तेमाल बृहत्त खानेपानी र नमोबुद्ध नगरपालिकामा संचालित आयोजनाहरुमा करोडौको क्षति पुगेको छ । यि सबै आयोजना संघ सरकारले दातृ निकाय मार्फत संचालन गरिरहेको छ । प्रदेश सरकारले संचालन गरेका पनि महत्वपूर्ण आयोजनाहरुमा क्षति पुगेको छ । महाभारत, बेथान्चोक, पनौती, धुलिखेल खानेपानी उपभोक्ता समिति लगायतका महत्वपूर्ण आयोजनामा पुगेको क्षतिमा अझै पुर्ननिर्माण हुन सकेको छैन ।
विपद जोखिम न्यूनीकरण र विपद ब्यवस्थापनमा सिकाई तथा कार्ययोजना विषयक कार्यशाला गोष्ठीको आयोजना गरी जिल्लाका विभिन्न पालिका र विषयगत क्लस्टरहरुको प्रस्तुती गरिएको थियो । पौष ३ गते पालिकाहरुले विपद जोखिम न्यूनीकरण र विपद् ब्यवस्थापनको सिकाई र विपद ब्यवस्थापनका सन्र्दभमा भएका उपलब्धता र आवश्यकता बीचको रिक्तताका विषयमा प्रस्तुती गरेका थिए । जिल्ला विपद ब्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुबास पौडेलले सहजीकरण गरेका थिए । कार्यक्रममा खानेपानी मन्त्री प्रदिप यादवले काभ्रेपलाञ्चोक जिल्लामा भएको विपत्तिमा सरकारले समन्वय र सहजिकरण गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । विपत्तिको तीन महिना वितिसक्दा समेत सरकारका तर्फबाट खानेपानी आयोजनाका लागि बजेट विनियोजन भएको छैन । संकटग्रस्त पालिकामा पठाएको रकम सडकको ट्रयाक खोल्न पनि नपुगेको स्थानीय सरकारका प्रमुखहरुले बताएका छन् ।









