2026 August 20/ 10:15: 38pm

७५ वटा योजनाको २० प्रतिशत बजेट कटौती 
    धुलिखेल/धुलिखेल नगरपालिका नगर सभाको सोह्रौं अधिबेशन सम्पन्न भएको छ । विशेष सभाको आयोजना गरी असोज १०–१२ मा परेको अविरल वर्षात्का कारण नगरका विभिन्न वडामा भएको क्षति र त्यस पछि भएको खोज तथा उद्धार, उपचार र पुनर्निर्माणका लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्न पुर्व विनियोजन गरिएका ७५ वटा योजनाहरुको बजेट संशोधन गर्ने सभाले निर्णय गरेको छ । 
    धुलिखेल नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम संशोधन गर्ने निर्णय भएको नगर प्रमुख अशोक ब्याञ्जुले बताए । नगर सभाले नगरपालिकाको कर्मचारी व्यवस्थापन सम्बन्धि (विशेष) विधेयक, नगरपालिकाको जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०८१, आर्थिक ऐन तथा राजश्वका दररेट संसोधन गर्ने निर्णय गरेको छ । त्यस्तै नगर सभामा धुलिखेल, पनौती नगरपालिका, पनौती वडा नं १२ र धुलिखेल खानेपानी उपभोक्ता समिति बीच भएको सहमति सर्वसम्मतरुपमा अनुमोदन गरेको छ । त्यस्तै विपदबाट भएको क्षतिको जानकारी गराउँदै नगरलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय नगर सभाले पास गरेको छ । नगर सभामा उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनी लगायतले सभामा उठेका सदस्यहरुका सवालका बारेमा जवाफ दिएका थिए । सभामा वडा अध्यक्षहरु नारायणप्रसाद बडाल, रोमीप्रसाद श्रेष्ठ, गोविन्द्रप्रसाद उपाध्यायले विधेयकहरु प्रस्तुत गरेका थिए भने उपप्रमुख निराजन जंगमले खानेपानीसँग सम्बन्धित सम्झौताका बारेमा जानकारी गराएका थिए । 
    नगर सभाले पास गरेको विधेयक मध्ये महत्वपूर्ण विधेयकका रुपमा विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन विधेयक २०८१ रहेको छ । विभिन्न क्षेत्रका ब्यक्तिहरु सदस्य रहने गरी नगर प्रमुखको संयोजकत्वमा विपद् ब्यवस्थापन समिति गठन गर्ने, वडा स्तरीय समिति गठन गर्ने, विपद ब्यवस्थापन सम्वन्धी विभिन्न कार्य गर्ने गरी ब्यवस्था गरिएको छ । कर्मचारी ब्यवस्थापन सम्वन्धी विशेष विधेयक २०८१ मा अविछिन्न रुपमा कार्यरत कर्मचारी २०६४ साल आश्विन मसान्त सम्म साविक स्थानीय निकायको स्वीकृत दरबन्दीमा अस्थायी÷करारमा नियुक्त भई कार्यरत रहेका कर्मचारीहरुको ब्यवस्थापन गर्नेछ । सभाले पूर्वाधार सम्बन्धी, खानेपानी, यातायात पूर्वाधार, भवन, आवास तथा शहरी विकास, वडा विशेष अनुदान, नगरस्तरीय भैपरी योजना, समपुरक तथा साझेदारी संघ र प्रदेशका योजनामा विनियोजन गरेको बजेटमा २० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ ।
    सभाले नगरपालिकाले धुलिखेल खानेपानी सरसफाई तथा उपभोक्ता समिति र पनौती वडा नम्वर १२ सँग अलग्गै सम्झौता गरेको थियो । जसमा ६ वटा बुँदा समावेश गरिएको थियो । धुलिखेलबासीलाई खानेपानीको ब्यवस्था मिलाउन पूर्वाधार निर्माण गर्ने र हाललाई अस्थायी प्रकृतिको कार्य गरेर तत्कालीन खानेपानीको समस्या समाधान गर्न कार्य गर्ने, पनौती १२ नम्वर वडा कार्यालय भित्रका बासिन्दालाई २०८२ को स्वास्थ्य विमा गरिदिने र २०८३ देखि धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट ६० प्रतिशत र सम्बन्धित जनताबाट ४० प्रतिशत बीमा खर्च ब्यहोर्ने गरी स्वास्थ्य बीमा गर्ने, काठमाडौ विश्वविद्यालयमा पनौती नगरपालिका वडा नम्वर १२ भूमिडाँडाका बासिन्दालाई योग्यता (मेरिट) मा आधारित भै विश्वविद्यालयमा अध्ययन गर्न २ जना (१ जना स्नातक र १ जना स्नातकोत्तर) लाई छात्रबृत्ति उपलब्ध गराउने, धुलिखेल अस्पतालमा विपन्न र सिमान्तकृतलाई उपचार खर्च ब्यहोर्न नसक्ने भएमा छुटका लागि धुलिखेल अस्पतालसँग पहल गर्ने, धुलिखेल खानेपानी उपभोक्ता समितिबाट पनौती १२ भूमेडाँडाका लागि उपलब्ध गराउँदै आएको आर्थिक अनुदानमा थप २ लाख रुपैया उपलब्ध गराउने र २०६७ सालमा भएको सम्झौता दुबै पक्षले पालना गर्ने सहमति २०८१ मसिंर ६ गते भएको थियो । ३ करोड ५१ लाख रुपैयाँ बराबरको पाईप लाईन र संरचनामा क्षति पुगेको तथ्यांक छ । एकीकृत खानेपानी तथा अन्य श्रोतहरुको ब्यवस्थापनका लागि धुलिखेल नगरपालिका, पनौती नगरपालिका, पनौती १२ नम्वर वडा कार्यालय र धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समिति बीच २०८१ मंसिर १४ गते सम्झौता भएको थियो ।