2026 August 21/ 03:00: 22am

धुलिखेल/जिल्ला विपद् ब्यवस्थापन समिति काभ्रेपलाञ्चोकको आयोजनामा विपद् जोखिम न्यूनीकरण तथा विपद् ब्यवस्थापनमा सिकाई तथा आगामी कार्ययोजना विषयक कार्यशाला गोष्ठी आयोजना गरिएको छ । खानेपानी तथा सरसफाई मन्त्री प्रदीप यादवले गोष्ठीको शुभारम्भ गरेका छन् । गोष्ठी आज विहिबारसम्म चल्नेछ । 
    जिल्ला विपद ब्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षता सहित कार्यशाला गोष्ठीका बारेमा जानकारी दिदै जिल्लामा भएको असोज १०–१२ को विपद तथा अन्य समयमा हुने विभिन्न खालका विपद्का सन्दर्भमा राष्ट्रिय, अन्र्तराष्ट्रिय तथा प्रदेश र स्थानीय सरकारले खेल्नु पर्ने भूमिका, कानूनी ब्यवस्था, वर्तमान अवस्था र चुनौतीका बारेमा जानकारी गराएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी सुबास पौडेलले संचालन गर्नु भएको कार्यक्रममा जिल्लाका प्रतिनिधि सभा, प्रदेश सभा, जिल्ला समन्वय समिति, स्थानीय सरकार, कार्यालय प्रमुख तथा नागरिक समाज र सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको छ । कार्यशाला गोष्ठीमा पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, विपद ब्यवस्थापन समिति अन्र्तगत क्लस्टरका संयोजक तथा प्रतिनिधिहरुको सहभागिता छ । 
    कार्यक्रममा बोल्दै मन्त्री यादवले सरकारले विपद पछिको ब्यवस्थापन तथा नागरिकहरुको जीउधनको सुरक्षाका लागि विभिन्न तयारी गरिरहेको बताए । काभ्रेपलाञ्चोक जिल्लामा विपदले विभिन्न क्षेत्रको क्षति भए पनि खानेपानीको संकट समाधान हुन कठिन रहेकाले त्यसको ब्यवस्थापनमा सहयोग गर्न स्थानीय जनप्रतिनिधिहरुले अनुरोध गरेका थिए । मन्त्री यादवले सरकारले खानेपानी ब्यवस्थापनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि सहयोग गर्ने बताए । कार्यक्रममा पुर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटा, सुर्यमान दोङ, प्रदेश सभा सदस्यहरु लगायतको सहभागिता रहेको थियो । 
    कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटा, प्रतिनिधि सभा सदस्य सुर्यमान दोङ्ग, प्रदेश सभा सदस्यहरु कञ्चनचन्द्र बादे, रत्न ढकाल, लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष विनोदकुमार न्यौपाने लगायतले विपदमा भएको क्षति, खोज, उद्धार तथा उपचार र पुर्ननिर्माण तथा आगामी दिनमा ध्यान दिनु पर्ने विषयमा धारणा राखेका थिए । 
    २०८१ मंसिर २० गते सम्पन्न जिल्ला स्तरीय विपद ब्यवस्थापन समितिको बैठकले पौष ३ र ४ गते कार्यशाला गोष्ठीको आयोजना गर्ने निर्णय गरेको थियो । बैठकको निर्णय अनुसार असोज १०–१२ गते परेको अविरल वर्षातका कारण बेपत्ता भएका ६ जनाका आफन्तलाई मृत्यु भए सरहको राहत उपलब्ध गराईएको छ । तेमाल गाउँपालिका वडा नम्वर २ स्थित ६ बर्षिया बालिका अपृया तामाङ र ३ बर्षिया बालिका पृया तामाङ, चौरीदेउराली गाउँपालिका वडा नम्वर ६ की ४० बर्षिया शान्ता रिमाल, धुलिखेल ८ की ४२ बर्षिया गिता श्रेष्ठ, बेथान्चोक ४ की ज्ञानु परियार र खानीखोला ६ की देविमाया स्याङ्गतान बेपत्ता थिए । उनिहरुका आफन्तले प्रति मृतक २ लाखका दरले संघ सरकारको र प्रदेश सरकारको समेत राहत पाएका छन् । 
    विपदको तथ्यांक हालसम्म पनि उपलब्ध हुन सकेको छैन । उक्त बैठकले १० दिन भित्र स्थानीय विपद ब्यवस्थापन समिति मार्फत तथ्यांक उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरेको थियो । कार्यशाला गोष्ठीमा तथ्यांक सम्वन्धी छलफल भएको थियो । तथ्यांक उपलब्ध भए पछि १५ हजार र २० हजारको दरले तत्काल उपलब्ध गराउनु पर्ने अस्थायी राहत उपलब्ध गराउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी सुबास पौडेलले जानकारी दिए । तथ्यांक अध्यावधिक गर्न सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समिति समेत गठन गरिएको थियो । जाडोको मौषम भएकाले बाढी पीडितहरुका लागि न्यानो कपडा लगायतका सामाग्रीहरु उपलब्ध गराउने, बाढीले बगाएका रुखहरु ढलेर अलपत्र रहेकाले त्यसको ब्यवस्थापनका लागि आवश्यक कानूनी प्रकृया वन कार्यालय मार्फत शुरु गरिएको, बनेपा र धुलिखेल नगरपालिका अझै संकटग्रस्त घोषणा नभएकाले तत्कालै घोषणाका लागि सरकारसँग अनुरोध गर्ने, अवरोध भएका सडकहरु खुलाउन, खुलेका सडकहरुलाई दुईतर्फि गर्न र दुईतर्फी भएका सडकहरुको मर्मत र स्तरोन्नतीमा ध्यान दिन गरिएको निर्णयका बारेमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मन्त्री यादवलाई स्मरण गराएका थिए । बैठकले बस्ती स्थानान्तरण, पुर्नस्थापना, खानेपानी, तटबन्ध, अस्थायी आवास, स्थायी आवासका विषयमा प्रदेश र संघ सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो । 
सडकहरुको मर्मत र स्तरोन्नतीमा ध्यान दिन गरिएको निर्णयका बारेमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मन्त्री यादवलाई स्मरण गराएका थिए । बैठकले बस्ती स्थानान्तरण, पुर्नस्थापना, खानेपानी, तटबन्ध, अस्थायी आवास, स्थायी आवासका विषयमा प्रदेश र संघ सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो । 
असोज १०–१२ मा भएको क्षति 
    असोज १०–१२ सम्म परेको अविरल वर्षातका कारण भएको क्षति पछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापनका लागि संकटग्रस्त क्षेत्र घोषणा भएका पालिकाहरुलाई रकम उपलब्ध गराएको छ । रोशी, तेमाल, पनौती, बेतान्चोक र नमोबुद्ध नगरपालिकाले १÷१ करोड अनुदान पाएका छन् भने मण्डनदेउपुर, भुम्लु, चौरीदेउराली र महाभारत गाउँपालिकाले ७५÷७५ लाख रुपैयाँ पाएका छन् । पाँचखाल नगरपालिकाले ५० लाख अनुदान प्राप्त ग¥यो । बनेपा र धुलिखेल अझै संकटग्रस्त पालिकामा समावेश भएका छैनन । जिल्लाका ११ वटा पालिकामा ९ करोड २५ लाख अनुदान उपलब्ध गराएको सहायक प्रमुख जिल्ला अधिकारी सुबास पौडेलले बताए ।
    त्यस्तै बाढीपहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई प्रति ब्यक्ति १ लाख रुपैयाँका दरले बागमती प्रदेश सरकारका तर्फबाट प्राप्त राहत पनि पालिकाहरुलाई पठाईसकिएको छ । संघ सरकारका तर्फबाट यसअघि नै २÷२ लाख रकम उपलब्ध गराईसकिएको छ । काभ्रेमा ७९ जनाको निधन भएको छ भने ६ जना अझै बेपत्ता छन् । संघ सरकारले सोहि अवधीमा वेपत्ता भएकाहरुलाई पनि मृत्यु भएको सरह मानेर स्थानीय सरकार र प्रहरीको मुचुल्काको आधारमा राहत उपलब्ध गराउन परिपत्र गरेको छ । अरवौको संरचनामा क्षति पुगेको छ । सडक, पुल, विद्यालय, अन्य पूर्वाधार, निजी आवास, खेतिपाती तथा कृषि उपज, पशुपालन क्षेत्रमा विपद्ले क्षति गराएको छ ।