2026 August 21/ 03:00: 27am

    धुलिखेल/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काभ्रेले उत्कृष्ट आइडिया सार्वजनिक गरेको छ । काठमाडौं विश्वविद्यालयमा आयोजित कार्यक्रममा उत्कृट १० आइडियाबाट सर्वाेत्कृष्ट ४ आइडिया पुरस्कृत गरेको हो । 
    अभिषेक सुवेदी सहित रिजेन नेपालको समुह प्रथम भएको छ । यस्तै नेपाल फिल्म समुहका विकल्प चौंलागाँई दोस्रो, यन्त्र किट समुहका तुषार ढकालको समुह र विद्या सागर स्कुल बनेपाका विद्यार्थीको समुह तेस्रो हुन सफल भएका छन् । सर्वाेत्कृष्ट भएका आईडियाहरुलाई नगद सहित पुरस्कृत गरिएको हो । प्रथम हुनेलाई ५० हजार, दोश्रो हुनेलाई ३० हजार र तेश्रो हुनेलाई २०÷२० हजार नगद पुरस्कार उपलब्ध गराइएको छ । कार्यक्रममा पुर्व मन्त्री एवं नेकपा एमालेका पोलिटव्युरो सदस्य गोकुल बास्कोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक बडाल, एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, अनेरास्ववियुका महासचिव नरेश रोकाया लगायत विभिन्न क्षेत्रका प्रमुख एवं प्रतिनिधिको सहभागीता रहेको थियो ।
    कार्यक्रममा बोल्दै पुर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन् । सीप सहितको व्यवहारिक शिक्षाले जीउन सिकाउने भन्दै उनले व्यवहारिक शिक्षामा जोड दिन आग्रह गरेका हुन् । हरेकले नयाँ कुरा खोज्नु स्वभाविक भएपनि पुराना कुराबाट भाग्ने कुरा सम्भव नहुने उनको भनाई थियो । विद्यार्थीको सिर्जनात्मकताले विद्यार्थी आन्दोलन नयाँ युगमा प्रवेश गरेको उनले बताए । यस अघि परिवर्तनका लागि ढुंगामुढा गर्नुपरेको भएपनि अबको आन्दोलन नविनता सहितको ज्ञानको भएको बास्कोटाले बताए ।
    उनले सबै चल्ने तर वर्षाै अध्ययन गरेर प्राप्त गरेको सफलताको सर्टिफिकेट नचल्ने हुन नसक्ने पनि बताएका छन् । खेतबारी नै बेचेर अध्ययन गरेको प्रमाणपत्र नचल्नु दुःखद् भएको बास्कोटाले बताए । सर्टिफिकेट धितोमा राखेर ऋण लिने व्यवस्थाका लागि अनेरास्ववियुले थालेको प्रयासको उनले प्रशंसा समेत गरेका छन् । अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक बडालले विद्यार्थीलाई उद्यम र स्वरोजगारसँग जोड्नको लागि अनेरास्ववियु काभ्रेले गरेको कार्यक्रम देशमै नमुना कार्यक्रमका रुपमा रहेको बताए । अहिले समाजमा निराशाको खेती गर्ने प्रयास भएको भन्दै उनले लडेर ल्याएको व्यवस्थालाई गाली गर्ने, दलहरुलाई गाली गर्ने चरित्र सहि नभएको दोहोर्याएका छन् । आफु बाहेक कोहि पनि सहि नदेख्ने प्रवृत्ति गलत भएको उनको भनाई थियो । सकारात्मक सन्देश प्रवाहका लागि अनेरास्ववियुले काम गर्ने उनले बताए । अब अनेरास्ववियुले उद्यम र रोजगारीसँग जोड्ने परिवर्तनको आन्दोलन थाल्ने उनले बताएका छन् ।
    अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलन गौतमले जिन्दावाद र मुर्दावादको नाराले ठुलो परिवर्तन भएको भएपनि अबको आन्दोलन बौद्धिक विकास र समाधानमुखी कार्यक्रम भएको बताए । उनले आइडिया बैंकलाई एक नयाँ सोच, सिर्जनशिलता र नवप्रवर्तनको रुपमा अथ्र्याएका छन् । आइडिया बैंक एक नयाँ सोचको सुरुवात भएको समेत उनले बताए । यो कार्यक्रमा विद्यार्थीको मात्रै नभई समाजको भविष्य र योजना निर्माण गर्न सहयोग पु¥याउने उनको धारणा छ । यो कार्यक्रमले विद्यार्थी भविष्यका नेता मात्रै होइनन्, वर्तमानका समस्या समाधानकर्ता पनि हुन् भन्ने सन्देश दिने उनको भनाई थियो । कार्यक्रममा बैंक तथा वित्तिय क्षेत्र, शिक्षक, विद्यार्थी लगायत विभिन्न क्षेत्रका प्रमुख एवं प्रतिनिधिको सहभागीता रहेको थियो । कार्यक्रम विमला तिमल्सिना र आयुष बडालले सञ्चालन गरेका थिए ।