2025 January 19/ 04:33: 00am

गोमा थापा/पनौती
    पनौती नगरपालिका वडा नम्वर ५ ढलमले स्थित गैरिगाउँमा मानव कल्याण समाज (सेवा घर) को नवनिर्मित भवन उद्घाटन गरिएको छ । शुक्रबार बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले भवन उद्घाटन गरेकी हुन् । 
    विपद्मा परेका बालबालिकाहरुको संरक्षणका लागि बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले भवन निर्माणको लागि ५ करोड बजेट बिनियोजन गरेको थियो । यसै बिच मानव कल्याण समाज (सेवा घर)मा रहेका दुईजना बालबालिकाको अन्नप्राशन गरिएको छ । सुयस मानव र दर्शिका मानवलाई सामाजिक विकास मन्त्री हरीप्रभा खड्गी श्रेष्ठले खाना खुवाएकी थिइन् । भवन उद्घाटन एवं अन्नप्राशन समारोहलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री खड्गीले मानवता, सम्पदा, संस्कृति, कला नेपालको पहिचान भएको बताइन् । नेपालीको अमुल्य पहिचान संरक्षणको लागि सबैजना एकजुट हुनुपर्ने उनको भनाई थियो । आफूले आफ्नो पहिचान गर्न सक्नुपर्ने भन्दै मन्बी खड्गीले गृहणी महिलाको सशक्तिकरणको लागि प्रदेश सरकारले बजेट छुट्याएर काम गरिरहेको जानकारी दिइन् ।
    मानव कल्याण समाजले सडक तथा सार्वजनिक स्थलहरुबाट उद्धार गरिएका ४५ जनालाई गुणस्तरीय शिक्षा दिक्षा सहित आश्रय प्रदान गरिरहेको अध्यक्ष सुमित्रा चौंलागाँईले जानकारी दिइन् । यस्तै ३० बालबालिकालाई स्वास्थ्य उपचार पश्चात घर पत्ता लगाई पारिवारिक पुनर्मिलन गरिएको उनले बताइन् । काठमाडौं, काभ्रे, दाङ, बारा लगायत ६ वटा जिल्लामा मानव कल्याण समाज रहेको अध्यक्ष सुमित्रा मानवले जानकारी दिइन् । पनौती नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष बिनोद खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सांसद् कन्चन चन्द्र बादे, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा र संविधान सभा सदस्य रामहरि सुवेदी लगायतको उपस्थिति रहेको थियो ।