प्रदेशले गाउँपालिकालाई दियो ‘ग्रामिण अल्ट्रासाउण्ड’ मेशिन
महाभारत/महाभारत गाउँपालिकामा बृहत्त निःशुल्क जनस्वास्थ्य शिविरको आयोजना गरिएको छ । मंसिर १८ गते मंगलबार महाभारत गाउँपालिका ६ बनखुचौरमा आजाद आधारभुत विद्यालय र मंसिर १९ गते बुधबार गोकुले स्वास्थ्य चौकी महाभारत १ धापमा शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।
दुई स्थानमा आयोजना गरिएको शिविरबाट विभिन्न सेवामा गरी करिब एक हजार नागरिकहरुले विभिन्न सेवा लिएका थिए । सोहि अवसरमा गर्भवति महिलाहरुका लागि आवश्यक स्वास्थ्य परिक्षणका लागि प्रदेश सरकारले गाउँपालिकालाई एउटा ग्रामिण अल्ट्रासाउण्ड मेशिन लगायत केहि स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । शिविरमा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक, ख्वप तिलगंगा आँखा अस्पताल भक्तपुर र नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, नेपाल परिवार नियोजन संघ काभ्रे शाखा, महाभारत गाउँपालिकाको स्वास्थ्य शाखा तथा अन्य विभिन्न संघ संस्थाहरुले समन्वय गरेका थिए । शिविरमा भिडियो एक्सरे, मुटु रोग, पाठेघर सम्बन्धी, छाला तथा यौन रोग, नाक, कान, घाँटी, नसर्ने रोगको पहिचान, परिवार नियोजन सेवा, आँखाको परिक्षण तथा आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा उपलब्ध थिए । बृहत्त निःशुल्क जनस्वास्थ्य शिविरको बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले उद्घाटन गरेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा सहित जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठ, उपाध्यक्ष सागर मोक्तान, प्रमुख प्रशासकीय अधिकृत हरिसिं विष्ट, नेपाल परिवार नियोजन संघका प्रबन्धक रमेश श्रेष्ठ, ख्वप तिलगंगा आँखा अस्पतालका धिरज अधिकारी लगायत विभिन्न शाखाका प्रमुखहरु, वडा अध्यक्षहरु, कर्मचारीहरु, शिक्षक तथा विद्यार्थी र स्थानीयहरुको सहभागिता रहेको थियो । महाभारत गाउँपालिकामा पहिलो पटक आँखाको मोतिविन्दुको अप्रेसन हुने भएको छ । यसअघिको शिविरहरुमा मोतियाविन्दु भएका विरामीहरुलाई बनेपा तथा काठमाडौ लगेर अप्रेसन गर्ने गरिएको थियो । यो पटक गाउँपालिकाले ख्वप तिलगंगा आँखा अस्पताल भक्तपुर र नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा मोतिविन्दुका विरामीहरुका लागि मंसिर २० र २१ गते विशेषज्ञ चिकित्सहरुको समुहले घर्तीछाप स्वास्थ्य चौकीमा शल्यक्रिया गर्ने ख्वप तिलगंगा आँखा अस्पतालका धिरज अधिकारीले जानकारी दिए ।
नेपाल परिवार नियोजन संघ काभ्रे शाखाले बृहत निःशुल्क बृहत्त प्रजनन् स्वास्थ्य शिविर आयोजना गरेको हो । बाढी र पहिरो प्रभावित क्षेत्रका समुदायका लागि आयोजना गरिएको उक्त शिविरमा महिलाहरुका लागि विशेष स्वास्थ्य परिक्षण गरिने शाखा प्रवन्धक रमेश श्रेष्ठले जानकारी दिए । विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण, उपचार तथा परामर्श सेवा, पेट तथा छाती सम्वन्धी रोगको परिक्षण, उपचार तथा परामर्श, बाल रोगको परिक्षण, उपचार तथा परामर्श, प्रसुती तथा स्त्रीरोगको परिक्षण, उपचार तथा परामर्श, मुख तथा दाँत, नाक, कान, घाँटी सम्बन्धी रोगको परिक्षण, उपचार तथा परामर्श सेवा, क्षयरोगको पहिचान, उपचार र परामर्श सेवा उपलब्ध गराईएको थियो । नर्सर्ने रोगको पहिचानका लागि रक्तचापको मापन, रगतमा चिनीको जाँच तथा पिसावमा चिनी र प्रोटिनको जाँच, निःशुल्क परिवार नियोजन सेवा अन्र्तगत पुरुषहरुको लागि स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) तथा महिलाहरुका लागि लामो अवधीको परिवार नियोजनका साधन (आईयुसिडी र इम्प्लान्ट) राख्ने शिविर, पाठेघरको मुखमा क्यान्सर देखिन सक्ने सम्भावना भएका महिलाहरुका लागि निःशुल्क सेवा उपलब्ध भएको थियो । भिडियो एक्स–रे र क्षयरोग पहिचानका लागि छातीको एक्सरे सेवा उपलब्ध हुनेछ । आँखा रोगको परिक्षण, उपचार तथा परामर्श सेवा, अपाङ्गता परिचयपत्र वितरणका लागि शारिरिक परिक्षण र आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा उपलब्ध गराईएको थियो । शिविरमा नागरिकहरुहरुको उल्लेख्य सहभागिता रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरि सिं विष्टले जानकारी दिए ।
जिल्लामा स्वास्थ्य सेवा उपलब्ध गराउने विभिन्न मापदण्डमा महाभारत गाउँपालिका २०८०÷०८१ मा उत्कृष्ट पालिकाका रुपमा गत असोज ११ गते सम्मानित भएको थियो । स्वास्थ्य शाखामा कार्यरत संगिता लामाका अनुसार शिविरमा विभिन्न खालका विशेषज्ञ सेवाहरु उपलब्ध भएकाले नागकिरहरुलाई सहज भएको हो । सोहि अवसरमा प्रदेश सरकारले अल्ट्रा साउण्ड मेशिन गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । मन्त्री किरण थापाले ग्रामिण क्षेत्रमा नै गर्भवती महिलाहरुले पेटमा भएको बच्चा र आमाको अवस्थाका बारेमा जानकारी पाउने गरी प्रदान गरिएको मेशिनको भरपुर उपयोग गर्न अनुरोध गरे ।









