मुख्यमन्त्रीद्वारा विपत्तिले क्षति गराएका वडाहरुको अवलोकन
बेथान्चोक/बेथान्चोक गाउँपालिकाले असोज १०–१२ गते परेको अविरल वर्षातका कारण भएको क्षति र पुर्ननिर्माण तथा पुर्नस्थापनाका लागि आवश्यक सहयोग गर्न बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिं लामाको ध्यानार्षण गराएको छ । अध्यक्ष भगवान अधिकारीले लिखित जानकारी गराउँदै सहयोगका लागि बजेट ब्यवस्थापनका लागि अनुरोध गरेका छन् । बेथान्चोक गाउँपालिकाका विभिन्न वडा तथा विपत्ति भएका स्थानहरुको अवलोकन गर्दै मुख्यमन्त्री लामाले आवश्यक सहयोग र बजेट ब्यवस्थापनका लागि पहल गर्ने बताए ।
गाउँपालिका अध्यक्ष भगवान अधिकारीले गराएको ध्यानाकर्षण पत्रमा भनिएको छ–‘बेथानचोक गाउँपालिका ऐतिहासिक नगर बनेपाबाट २५ किमि दक्षिण महाभारत लेकमा अवस्थित सुन्दर पर्यटकीय गाउँको रुपमा परिचित छ । २०८१ असोज १०–१२ गते परेको अविरल वर्षाका कारण बेथानचोक जोड्ने मुल सडक, पालिका केन्द्र जोड्ने वडाबाट आउने शाखा सडकहरु, सिँचाई, खानेपानी कृषियोग्य जग्गा आदि खण्डहरमा परिणत भएका छन् । तत्काल विपद् हुनासाथ विपद् व्यवस्थापन अन्तर्गत विपद् प्रतिकार्य, विपद् पुनर्लाभ अन्तरगतका कार्यहरु तदारुकताका साथ भएका छन् ।
यस गाउँपालिकामा विपदबाट १३ जनाले ज्यान गुमाउन पुगेकोमा मृतकका हकवालाले संघीय सरकारको सहयोगमा प्रति परिवार २र२ लाख रकम राहत प्राप्त भइसकेको, बागमती प्रदेश सरकारबाट प्राप्त प्रति परिवार १ लाखका दरले रकम निकासा भईसकेको, राहतजन्य सामग्री एकद्वार प्रणालीबाट वितरण भएको, पालिका जोड्ने मुल सडक अस्थायी रुपमा सञ्चालनमा आएको, पालिका केन्द्र जोड्ने वडाबाट आउने शाखा सडक सञ्चालनमा आइसकेको, विपद्का कारण विद्युत पोल ३५० भन्दा बढी नष्ट भएकोमा त्यसलाई प्रतिस्थापन गरी प्रत्येक वडामा विजुली बलिसकेको, विपद् व्यवस्थापन सामनाका लागि संघीय सरकार, बागमती प्रदेश सरकार, काठमाण्डौ महानगरपालिका, विभिन्न संघसंस्था र स्थानीय जनसमुदायबाट गरी १ करोड ५७ लाख सहयोग प्राप्त भई विपद् प्रतिकार्य र पुर्नलाभमा १ करोड ४० लाख खर्च भईसकेको छ । यसमा अधिकांश खर्च सडक मर्मतमा भएको छ । अहिले विपद् पछि बनाइएका संरचनाहरु अस्थायी प्रकृतिका भएकाले दीगो रुपमा बनाउन करिब ७ अर्ब रुपैयाँ लाग्ने गाउँपालिकाले आँकलन गरेको छ ।’
‘विपद्को दुःखद् घडीमा सामुहिक प्रयत्नबाट हामीले द्रुत गतिमा पूर्वाधार संरचना निर्माण गर्न सफल भएका छौँ । विपद्लाई हामीले अवसरका रुपमा लिई आगामी दिनमा विपद् जोखिम न्यूनीकरण विश्लेषणका अवयवहरुलाई विकास व्यवस्थापनका प्रत्येक चरणमा मूल प्रवाहीकरण तथा आन्तरिकीकरण गरी अझ राम्रो अझ बलियो (द्यगष्मि द्यबअप द्यभततभच) भएर बेथानचोक गाउँपालिका फेरी उठ्नेछ । यसका लागि खुल्ला हृदयले बागमती प्रदेश सरकारले सहयोग गर्ने अपेक्षा लिएको छु । वर्तमान समयमा बेथानचोक गाउँपालिकाको वस्तुस्थिति विवरण बमोजिम पेश गरेको छु । पुनश्चः माथि उल्लेख गरिएका कार्यक्रमहरु बागमती प्रदेश विपद् व्यवस्थापन ऐन, २०७५ दफा ३ प्रदेश विपद् व्यवस्थापन निर्देशक समिति दफा ६ कार्यकारी समिति, दफा १० प्रदेश विपद् व्यवस्थापन कोष तथा दफा ११ कोषको प्रयोग अन्तर्गत तुरुन्त गर्ने कार्यका लागि बजेट विनियोजन र अन्यका लागि वार्षिक नीति कार्यक्रममा समावेश गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’









