विकास तिमल्सिना
धुलिखेल
धुलिखेल अस्पतालमा जन्मँदै बहिरा हुने बालबालिकाहरूको पहिचानसँगै शल्यक्रिया गरिएको छ । पहिलो चरणमा ५ बर्षिया बालिका र १० वर्षका बालकको सफल शल्यक्रिया गरिएको अस्पतालले जानकारी दिएको छ । शल्यक्रिया पछि बालबालिकाहरु भित्री कानमा राखिएको डिभाईसको माध्यमबाट सुन्न र बोल्न सक्ने छन् ।
धुलिखेल अस्पतालमा पहिलो सफल प्रत्यारोपण र प्रत्यक्ष सर्जिकल प्रदर्शनको शुरुवात भएको घोषणा गरिएको छ । अस्पतालको नाक, कान, घाँटी विभाग र अस्पतालको लागि ऐतिहासिक कोसेढुङ्गा भएको विभाग प्रमुख डा.विकास श्रेष्ठले बताए । ‘फ्रेसेनियस फाउन्डेसन र विश्व चिकित्सक संगठन, साउथ टायरोल, इटाली लगायत सहयोगी साझेदारहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं’–डा.विकास श्रेष्ठले भने–‘प्रत्यारोपणको क्रममा डा.गाबी, डा.टोनी, डा. क्रिस्चियन र डा.नादियालाई अमूल्य सहयोगको लागि विशेष धन्यवाद ।’ शल्यक्रियामा डा.नादिया लगायतको टोलीले सहयोग गरेको थियो ।
उपचार अघि बालबालिकाहरुको समुदायमा पुगेर पहिचान गरिएको थियो । पहिचानसँगै उपचारका लागि अस्पतालका आउटरिच सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई दुई दिने तालिम उपलब्ध गराइएको थियो । धुलिखेल अस्पतालले ७ वर्ष अघि देखि जन्मँदै सुनाई कम हुने बच्चाहरूको पहिचान गरे पनि उपचार सुरु गरेको थिएन । पहिलो पटक दुई बालबालिकाको सफल शल्यक्रिया गरेको हो । शल्यक्रियासँगै एक महिनासम्म नियमित उपचार र त्यस पछिको बोलाई र सुनाईको थेरापी गरिने डा.आकाश प्रधानले बताए । धुलिखेल अस्पतालका विभागीय प्रमुख डा. विकासलाल श्रेष्ठले बच्चाहरूको सुनाई राम्रो गर्न २०१७ देखि धुलिखेल अस्पतालले बालबालिकाहरूको पहिचान सुरु गरेको बताए ।
कोरियामा भएको उपचार विधिका बारेमा डा.ओले सिकाए पछि धुलिखेल अस्पतालमा उनकै सहयोगमा बाललिकाहरुमा बहिरोपन पहिचान सुरु गरिएको थियो । ‘७ वर्षको अवधिमा १८ हजार बालबालिकाहरूको परीक्षण गरिएको छ’–डा.विकासलाल श्रेष्ठले भने– ‘एक सय जना बच्चाको परीक्षण गर्दा २–३ जना बच्चाहरुमा सुनाई कम हुने देखिएको छ ।’ बच्चाको सुनाई कम भयो उपचार भएन ? के गर्ने ? कोरियनहरुको सहयोगमा बच्चाहरुलाई सामाग्री उपलब्ध गराएको डा.विकासलाल श्रेष्ठले बताए । सुनाई कम हुने बच्चाहरुको शल्यक्रिया समेत शुरु गरिएको उनले बताए ।
धुलिखेल अस्पतालले त्यस्ता बच्चाहरुलाई सहज उपचार र प्रविधिको उपलब्ध गराउने उद्देश्यले जर्मन र इटलीको सहयोगमा धुलिखेल अस्पताल भित्र र बाहिरका केन्द्रहरुमा आउने बालबालिकाहरूको पहिचानसँगै उपचार सुरु गर्ने गरी कार्य प्रारम्भ गरेको थियो । त्यति गर्दा पनि बच्चाहरुले सुन्न सकेनन् भने अप्रेसन गर्ने गरी तयारी गरिएको थियो । पहिलो चरण सामाग्री उपलब्ध गराईएको थियो भने दोस्रो चरणमा अप्रेसन गरिएको हो । तेस्रो चरणमा विरामीलाई नियमित थेरापीको ब्यवस्था गरिएको छ ।
बच्चाहरुको अलावा थप उमेर समूहका व्यक्तिहरूका लागि पनि उक्त सेवा उपलब्ध गराउन धुलिखेल अस्पतालमा अलग्गै डेक्सको ब्यवस्थापन गर्ने तयारी गरिएको छ । बच्चाहरू जन्मँदै सुनाई कम भएको थाहा पाउन नसक्दा पछि आउने समस्या तथा उनीहरूले अध्ययन गर्न नसक्ने लगायतका थुप्रै जोखिमहरु न्यून हुने डा.श्रेष्ठले बताए । गर्भवती महिलाहरुले बच्चा पेटमा रहँदा खानपानमा ध्यान दिनु पर्ने विषयमा समेत सचेत गराउने गरी कार्यक्रमहरू सुरु गरिएको छ । बच्चा जन्मने अवधि भन्दा अघि नै जन्मिएको अवस्थामा, वंशाणुगत अवस्थामा तथा आमाको पेटमा बच्चा रहँदा आमाले खान नहुने खानेकुराहरु सेवन गरेमा सुनाइमा समस्या हुन सक्ने डा. श्रेष्ठले बताए ।









