धुलिखेल/वर्षाै पुराना, पड्काउँदा पनि नपड्कने, गाउँमा बाँदर धपाउन प्रयोग गरिने तर अनुमति नलिएका भरुवा बन्दुक घरमा राखेका ब्यक्तिहरु पक्राउ पर्दा वर्षाै जेल बस्नु पर्ने अवस्था रहे पनि अर्ध भुमिगत भएको पार्टी नेकपा माओवादी समुहमा सक्रिय, दुई दुई पटक लागु औषध कारोवारमा जेल सजायँ भोगेका, स्थानीय स्तरमा हतियार पड्काउँदै हिड्ने एक युवालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले धरौटीमा छाड्ने आदेश दिएको छ ।
लागु औषधमा दुई पटक जेल सजाँय भोगेका, अर्धभूमिगत पार्टीमा सहभागी भई विस्फोटक गतिविधीमा संलग्न, आफ्नै दाजुलाई पेस्तोल पड्काएर ज्यान मार्न खोज्ने पनौती १ रयालेका प्रेम तामाङलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकका जिल्ला न्यायाधीश शिवकुमार पोखरेलले अमेरिकन कम्पनीको चालु अवस्थामा रहेको एक थान पेस्तोल र तीन थान गोली सहित पक्राउ परे पनि एक लाख धरौटीमा छाड्ने आदेश दिएका हुन् । धरौटी नतिरेका कारण आईतबार उनि कारागार चलान भए । काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नम्वर १ स्थायी घर भई भक्तपुर सुर्यविनायक नगरपालिका वडा नम्वर ८ रानिकोट बस्ने ३६ बर्षिय प्रेम तामाङ र चितवन जिल्ला राप्ति नगरपालिका वडा नम्वर २ चौखिडाँडा स्थायी घर भई काठमाडौ टोखा ८ ग्रिनल्याण्ड बस्ने ४० बर्षिय समिर सिंह थापा उर्फ हरी भन्ने सञ्जिव तामाङ विरुद्ध जिल्ला अदालत काभ्रेपलाञ्चोकमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम हातहतियार तथा खरखजना सम्वन्धी कसुरमा मुद्दा दायर गरिएको थियो ।
जिल्ला न्यायाधीश शिवकुमार पोखरेलको इजलासले प्रेम तामाङ समेत संलग्न रहेको हातहतियार तथा खरखजना सम्वन्धी कसुर अभियोगमा साविति बयान गरेको, प्रहरी प्रतिवेदन, बरामदी÷खानतलासी मुचुल्का, घटना विवरण कागज गर्ने मानिसहरुको बयान लगायत तत्काल प्रमाणका आधारमा निर्दाेष भन्न नमिल्ने भएकाले उनलाई पुर्पक्षमा समेत राख्न नपर्ने समेत देखिएकाले १ लाख धरौटीमा छाड्ने आदेश गरेका हुन् । फरार रहेका समिर सिंह थापा उर्फ सञ्जिव तामाङ नख्खु कारागारमा रहेकाले सोहि कारागारबाट झिकाई बयान कार्य गर्न आदेश भएको छ । उनीबाट गोली ३ थान र पेस्तोल १ थान जफत गरी अपराध पिडित संरक्षण कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराई पाउन माग गरिएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोक प्रमुख जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारीले २०८१ कार्तिक २३ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकमा अभियोगपत्र दर्ता गरेकी थिईन् । अभियोगपत्रमा हातहतियार सहित पक्राउ परेका प्रेम तामाङले समिर सिंह थापा उर्फ हरी भन्ने सञ्जिव तामाङलाई अपराधिक लाभ (एक्सटर्सन) मुद्दामा १ लाख र सोहि प्रकृतिको अर्काे मुद्दामा १ लाख ५० हजार ललितपुर जिल्ला अदालतले धरौटी माग गरेको उल्लेख छ । उक्त धरौटी नतिरी उनिहरु नख्खु कारागारमा थुनामा छन् । २०८१ असोज २८ गते दिउँसो १२.३० बजे पनौती १ स्थित प्रेम तामाङको घरमा अबैद्य हतियार राखेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी लिएको थियो । उनको घरमा पालीमुनी तेर्साई राखेको काठमाथी लुकाई छिपाई राखेको अवस्थामा ब्यारेलको भागमा मेड इन युएसए लेखिएको म्याग्जिन भित्र ३ थान गोली समेत लोड भएको पेस्तोल एक थान फेला परेको थियो । प्रहरीले उक्त हतियार सहित तामाङलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका तामाङ यस अघि पनि पटक पटक हतियारको प्रर्दशन गर्दै स्थानीय स्तरमा आतंक मच्चाउँदै आएका थिए । २०७९ सालको स्थानीय तहको निर्वाचनमा पनि उनले मतदातालाई त्रसित बनाउँदै हतियार देखाएका थिए ।
पक्राउ परेका प्रेम तामाङले उक्त हतियार समिर सिंह थापा उर्फ सञ्जिव तामाङ र निजका बढी गार्ड सन्तोष तामाङले सुरक्षित साथ राख्न दिएकाले राखिएको बताएका थिए । उक्त हतियार राख्ने अनुमति कुनै निकायसँग नलिएको बताएका छन् । नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाईएकोमा चालु आवस्थामा रहेको ७.६५ मिमि क्यालिवर पेस्तोलको कार्तुसहरु प्रहार गर्न सक्ने घरेलु पेस्तोलका साथै सोहि पेस्तोलमा प्रयोग हुने कार्तुस म्याग्जिन, ७.६५ मिमि क्यालिवर पेस्तोलको मिसफायर कार्तुसहरु रहेको प्रमाणित गरेको छ । माओवादीको ब्युरो इन्चार्ज समिर सिंह थापा उर्फ हरी भन्ने सञ्जिव तामाङ र निजको बडी गार्ड सन्तोष तामाङबाट प्राप्त भएको बताएका थिए । प्रतिवादी प्रेम तामाङ र समिर सिंह उर्फ हरी भन्ने सञ्जिव तामाङको उल्लेखित कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा १३२ को उपदफा (२) बमोजिमको कसूर हुँदा सोही संहिताको दफा १३२ को उपदफा (२) बमोजिम सजाय हुन तथा प्रस्तुत वारदातपूर्व प्रहरी प्रतिवेदनले बादी नेपाल सरकार रहेको प्रतिवादी प्रेम तामाङ भएको भक्तपुर जिल्ला अदालतमा दायर भएको लागु औषध मुद्दामा प्रतिवादी प्रेम तामाङलाई एक वर्ष २ महिना कैद र १० हजार जरिवना हुने ठहरी २०८० मसिंर ७ मा फैसला भएको थियो । प्रहरी प्रतिवेदनले लागू औषध मुद्दामा प्रतिवादी प्रेम तामाङ भएको मुद्दामा २०७६ कार्तिक ६ गते फैसला भएको थियो । सोहि मुद्दामा २ वर्ष कैद र १ लाख जरिवना हुने भक्तपुर जिल्ला अदालतको फैसला भएको थियो । पटक–पटक लागु औषध मुद्दामा सजायँ तोकिएका प्रेम तामाङलाई प्रहरीले थप सजायँको माग गरेको थियो ।
प्रेम तामाङले आफु दुई महिना अगाडी देखि महेश चौधरी (महासचिव) को नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) मा आवद्ध भएको बताएका छन् । महेश चौधरी (महाविर) पार्टीको महासचिव हुन् । प्रेम तामाङले पक्राउ पर्नु अघि आफ्नै दाजुलाई एक राउण्ड गोली पड्काएर तर्साएका थिए । उनले दाजुभाईको झगडा हुँदा सोहि पेस्तोलबाट पड्काएका थिए । भोलिपल्ट प्रहरीको एक सय नम्वरमा फोन गरी हतियार भएको सूचना उपलब्ध गराईएको थियो । प्रहरीले अनुन्धानमा उक्त कुरा समावेश नै गरेको छैन ।









