लक्ष्मण तिमल्सिना
बनेपा
२०८१ साउन १८ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहितको सरकारी टोलीले अरनिको राजमार्गको विस्तारित सडक आयोजना भक्तपुरको सुर्यविनायक देखि धुलिखेलसम्मको सडक क्षेत्र अवलोकन ग¥यो ।
दशक देखि बनेपाको पुलबजार क्षेत्र डुबानमा परी राजमार्गमा आवतजावत बन्द हुने गरेको, ब्यक्तिका घरहरु डुबानमा परी समस्या भएको र पानीको निकास ब्यवस्थापन गर्न नसक्दा उत्पन्न परिस्थितिका बारेमा सरोकारवालाहरुसँग उक्त टोलीले जानकारी लियो । लगत्तै जिल्लाका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुसँग अन्र्तक्रिया ग¥यो । तर पनि निकास निस्कन सकेन । जसका कारण अवरुद्ध बनेपा खण्डको काम हुन सकेको छैन । पाँच महिनासम्म बनेपा खण्डमा अवरोध हुँदा निर्माण ब्यवसायीले धुलिखेलबाट कालोपत्रे लगायतका कार्य प्रारम्भ गरेको छ । बनेपा खण्डको काम अवरोध हुँदा स्थानीयहरुले समेत असहजता महसुस गरिरहेका छन् । बनेपाको अवरोधले आयोजना सम्पन्न हुने मिति पनि धकेलिदै गएको छ ।
‘धुलिखेल नगरपालिका क्षेत्र भित्र पर्ने सडक खण्डको बाँकी कार्य सकिने गरी निर्माण ब्यवसायीसँग छलफल भई आवश्यक वातावरण समेत निर्माण गरि कालोपत्रे लगायतका कार्य प्रारम्भ भएका छन’–वडा अध्यक्ष गणेश आचार्यले भने–‘आयोजना शुरु भए लगत्तै आयोजना कार्यालय, निर्माण ब्यवसायी, स्थानीय सरकार र सरोकारवाला निकायको समन्वयमा सडक क्षेत्रमा गर्नु पर्ने आवश्यक कार्यहरुको सूचि निर्माण गरी द्रुत गतिमा सम्पन्न गर्ने तर्फ केन्द्रित भयौं । जसका कारण बसपार्क देखि धुलिखेल क्षेत्रमा पर्ने सबै सडक खण्डमा कालोपत्रेका लागि आवश्यक कार्य शुरु भएको छ ।’ धुलिखेलले तत्कालै खानेपानीको पाईप, ढल निकास, पानीको कटान लगायतका क्षेत्रमा समन्वय र सहजीकरण गरिदिएको अध्यक्ष आचार्यले बताए ।
लामा कन्ट्रक्सन प्रालीले जिम्मेवारी पाएको साँगा धुलिखेल खण्डको निर्माण कार्यको प्रगति भने न्यून छ । सम्झौता अवधीको एक वर्ष मात्रै बाँकी रहँदा २९ प्रतिशत मात्रै कार्य सम्पन्न भएको छ । २७ मंसिर २०७९ मा सम्झौता भएको उक्त आयोजना २०८२ मंसिर २६ गते हस्तान्तरण गर्नु पर्ने सम्झौतामा उल्लेख छ । तीन वर्ष अवधीको उक्त आयोजनाको निर्माण कार्य २ वर्ष सकिँदा ३० प्रतिशत समेत कार्य हुन सकेको छैन । बजेट अभाव, स्थानीय स्तरमा समन्वयको कमी र विपद् पछि सामाग्री ढुवानीमा असहजता लगायतका कारण आयोजना समयमा सम्पन्न नहुने अवस्था सिर्जना हुँदै गएको सरोकारवालाहरुले बताएका छन् । विशेषगरी बनेपा क्षेत्रमा भएको अवरोध हटाउन र त्यहाँ भएको समस्या सुल्झाउनतर्फ स्थानीय सरकार अग्रसर हुन नसकेको आयोजनाले बताएको छ । आयोजना शुरु भएको करिब २ वर्ष पछि अवरोध सिर्जना गरेर बनेपा नगरपालिकाले आयोजना पछाडी धकेल्न खोजेको आशंका बढाएको छ । आयोजनाका लागि ४ अर्ब ५ करोड ६४ लाख ७५ हजार ८ सय ४८ रुपैयाँ मध्ये ४ अर्ब ३९ करोड ७४ लाख ९ हजार २ सय १८ रुपैयाँमा सम्झौता भएको छ । निर्माण कार्य सकिएको मध्ये १ अर्ब १७ करोड ४१ लाख ३४ हजार ६ सय १८ रुपैयाँ भुक्तानी भएको छ ।
आयोजनाको प्रगति, आयोजनाले बनेपा तथा आसपासका क्षेत्रमा पार्ने प्रभाव र त्यसको दीगोपनाका बारेमा समेत अनुगमन गर्न मन्त्री दाहालसँगै मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, मन्त्रिका निजी सचिव प्रकाश आचार्य, स्वकीय सचिव हर्कराज राई लगायत, सुर्यविनायक धुलिखेल सडक खण्ड आयोजनाका प्रमुख, इन्जिनियर, निर्माण कम्पनीका प्रतिनिधिहरु सहभागी थिए । साँगा क्षेत्रको निर्माण र त्यसले पारिरहेको प्रभाव, साँगा देखि बनेपा खण्डको निर्माण र स्थानीयहरुले गरेको अवरोध, मु–आब्जा वितरण, सडकका अन्य समस्याका बारेमा मन्त्री दाहाललाई सोहि अवसरमा जानकारी गराएका थिए । चालु वर्षका लागि पुल, मुआब्जा लगायतका विषयलाई प्राथमिकतामा राख्दै नागरिकहरुले उठाएका सवाललाई सम्बोधन गर्दै सडक निर्माण समयमा नै सम्पन्न गर्न मन्त्री दाहालले सडक विभाग र आयोजनालाई निर्देशन दिएका थिए । बनेपा क्षेत्र हरेक वर्षातमा डुब्दै आएको छ । नगरकोट, नाला लगायतका क्षेत्रमा पानी पर्दा बनेपा, श्रीखण्डपुर क्षेत्र डुबान हुने गरेका छन् । स्थानीयहरुले पुल र सडकको उचाई बढाउन नहुने बताउँदै आएका छन् ।
साईड वाल, कल्र्भट लगायतका महत्वपूर्ण निर्माणका कार्यहरु भने ८८ प्रतिशत सकिएको छ । पूर्वाधार निर्माणको धेरै कार्य सकिएकाले अब देखिने प्रगतिमा धेरै खर्च हुनेछ । उक्त खर्चको रेसियो आगामी वर्ष झण्डै ३ अर्ब बराबरको हुनेछ । तर सरकारले आयोजनाको सम्पूर्ण खर्च समेत गरी एक अर्ब २४ करोड रुपैया विनियोजन गरेको छ । श्रोत सुनिश्चित नहुँदा निर्माण ब्यवसायीहरुले मजदुर तथा निर्माण सामाग्री ब्यवस्थापनमा ढिला सुस्ति गर्नेछन् । जसका कारण तोकिएको समयमा आयोजनाको कार्य सम्पन्न हुने छैन । सडक आयोजनाले निर्माण सकिए लगत्तै सडकमा ग्राभेल, कालोपत्रेका लागि बेस विछ्याउने र पिचको कार्य शुरु हुने निर्माण ब्यवसायीले बताए । उक्त कार्य शुरु भए पछि प्रगति र खर्च दुबै धेरै देखिन्छ । तर पनि सरकारसँग पर्याप्त बजेट नभएकाले समयमै उक्त कार्य हुनेमा आशंका गरिएको छ । स्थानीय सरकारको समन्वयमा ढल तथा खानेपानीका लाईनहरुको मर्मत, सम्भार तथा विस्तार, विजुलीका लागि विद्युत पोलहरुको विस्तार लगायतका अन्य कार्यहरु भईरहेको आयोजनाका प्रमुख ईन्जिनियर राजेन्द्रप्रसाद दासले बताए । सरकारले आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेटमा ५४ करोड विनियोजन गरेको भए पनि पछि ८३ करोड रकम थप गरेको थियो । कुल बजेट १ अर्ब ३७ करोडमा १ अर्ब १४ करोड भुक्तानी भएको थियो । १५ करोड रुपैयाँ जगाते, भैसेपाटी स्थित विकटेश्वर र बनेपा स्थित पुलबजारको पुल निर्माणका लागि आवश्यक ब्यवस्थापनका लागि खर्च भएको छ । आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि १ अर्ब २४ करोड रकम विनियोजन भएको छ । सोहि शिर्षकबाट १५ करोड रुपैयाँ मु–आब्जा शिर्षकमा विनियोजन भएको छ । घर टहरा लगायत कुनै कुनै स्थानमा जग्गाको समेत मु–आब्जा दिनु पर्ने छ । २८ किलो नजिकै पेट्रोल पम्प अगाडीको ४ रोपनी जग्गाको सरकारी दररेटमा मु–आब्जा उपलब्ध हुने भएको छ भने साँगा लगायतका केहि स्थानमा रहेका घर टहराको मुआब्जा भुक्तानी हुनेछ । तर मुआब्जाको कुरा अझै मिलेको छैन । जगाती लगायतका स्थानमा रहेका घरहरुको पनि मु–आब्जा सोहि शिर्षकबाट भुक्तानी हुनेछ । पुल निर्माणका लागि १२ करोड रकम विनियोजन भएको छ । करिब ८६ करोड रकम मात्रै निर्माण क्षेत्रमा खर्च हुनेछ ।
सडक आयोजना निर्माण भईरहँदा विद्युतका पोलहरु धमाधम गाड्न शुरु गरिएको छ । गाडिएका विद्युत पोलहरुमा एंगल राख्ने काम शुरु भएको छ । तार राख्ने कार्य सम्पन्न भई लाइन समेत सूचारु गरिएको छ । बनेपाको बुडोलसम्म पोलहरु गाडी सकेपछि बनेपा बजार आतंकित भएको छ । सोहि क्रममा पोल गाडिँदा बनेपामा बनि सकेका घरहरुको झ्यालमा तार पुग्नेछ । जोखिम धेरै हुने भएकाले आयोजनाले बजार क्षेत्र भित्र पोल राख्ने स्थानको खोजी गरिरहेको छ । ‘बनेपा बजार क्षेत्रमा विद्युत पोल र तारबाट उत्पन्न संकट आउन नदिन पोल गाड्ने र दीर्घकालीन समस्या समाधानको पहल भईरहेको छ’–आयोजना प्रमुख दासले भने–‘बजार आतंकित हुनु पर्दैन । त्यसको ब्यवस्थापन गर्ने तयारी भईरहेको छ ।’









