बनेपा/उद्योग वाणिज्य कार्यालयको आयोजनामा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र मण्डन देउपुर नगरपालिकाको संयुक्त आयोजनामा मण्डनदेउपुर नगरपालिकाको कुन्ताबजार र सिपाघाट बजारमा रहेका होटल, औषधी पसल, मिठाई, खाद्यान्न, दुध डेरी, मासु पसलहरुको अनुगमन गरेको छ ।
उद्योग वाणिज्य कार्यालय काभ्रेका प्रमुख सिताराम घिमिरेको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काभ्रेका नकुल गिरी, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरिक्षक पुर्णप्रसाद पौड्याल, मण्डन देउपुर नगरपालिका उपप्रमुख विष्णुमणी नेपाल, जिल्ला समन्वय समितिका भरत सापकोटा उद्योग तथा वाणिज्य कार्यालय लेखा अधिकृत रुपक हुमागाई, उद्योग वाणिज्य कार्यालयका रविन्द्रप्रसाद चौंलागाँई, पुण्यवती श्रेष्ठ र सञ्चारकर्मी लगायतको टोलीले अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा कुन्ता बजारमा रहेका मिठाई पसलमा अखाद्य रङ्ग प्रयोग गरी मिठाई बनाएको र उक्त मिठाई नष्ट गरि सचेत गराईएको, होटलहरुमा सरसफाईको कमी, बेकरीमा खाद्य प्रविधिको ल्याब टेष्ट नगरी सञ्चालन गरिएकोमा ७ दिन भित्र ल्याब टेष्ट गरी लाइसेन्स लिन निर्देशन दिईएको, मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ सिपाघाटमा रहेको गोल्मेश्वर खाद्य स्टोरमा म्याद गुज्रेको सामान फेला परेको अनुगमन संयोजक सिताराम घिमिरेले जानकारी दिए । उक्त खाद्य स्टोरमा बदम जुस ४५ बट्टा, एभ्रिडे पाउडर दुध २७ पाकेट, भेजिटेबल स्न्याक्स १२ पाकेट, विस्कुट ४५ पाकेट, पापड ७० पाकेट, रियल जुस लगाएतका विभिन्न खाद्य सामानको म्याद गुज्रिएको भेटिएकाले उक्त पसललाई १० हजार जरिवाना गरी सचेत गराईएको घिमिरेले बताए ।
अनुगमनका क्रममा धेरै पसलहरुले दर्ता नगरेको भेटिएकाले दर्ता गर्न सचेत गराईएको अनुगमन प्रमुख तथा उद्योग बाणज्यि कार्यलयका प्रमुख घिमिरेले बताए । घिमिरेले उपभोक्ताको अधिकार सुनिश्चितताका लागि बजार अनुगमनमा जोड दिइएको बताए । बजार अनुगमन निरन्तर गरिने र विभिन्न पसलहरुलाई सचेत गराईएको उनले बताए ।
बनेपामा बजार अनुगमन, अधिकांश पसलमा अस्वस्थ खाद्यान्न
बनेपा नगरपालिकाको आयोजनामा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य कार्यालय, नाप तौल विभाग र काभ्रे उद्योग वाणिज्य सघंको संयोजनमा बनेपा रहेका मिठाई, खाध्य, मासु, हार्डवयेर किराना पसलहरुमा धाधम अनुगमन गरिएको छ ।
नगरपालिका उप प्रमुख तथा बजार अनुगमन संयोजक विमला सापकोटाको नेतृत्वमा बनेपा बजारमा अनुगमन गरेको हो । अनुगमनका क्रममा ईजि शपमा म्याद सकिएका खाद्य सामान, सामना मिट शपमा १४ केजी कुहिएको मासु, अतिथी रेष्टुरेन्ट गोदामचोकमा पानीको लेबल नपुगेको, अखाद्य कलर प्रयोग गरेको, बजारमा धेरै जसो जोख्ने काटाहरु विना दर्ता प्रयोगमा ल्याएको, नगरपालिकामा अधिकाशं पसल दर्ता नगरेको पाईएको उप प्रमुख सापकोटाले बताईन् । अधिकांश पसलहरुलाई कानुन अनुसार कार्वाही गरी सचेत गराईएको सापकोटाले बताईन् । तिहार नजिकिए सगै ब्यापारीहरुले सामानको मुल्य अस्वभाविक रुपमा बढाएको गुनासो आएसँगै बजार अनुगमन गरिएको सापकोटाले बताईन् । मानव जिबनमा प्रत्यक्ष असर पार्ने केमिकल प्रयोग गर्ने मिठाई पसलहरु र म्याद गुज्रेका सामान बेच्ने र कुहिएको मासु बेच्ने ब्यवसायीहरुलाई कानुन अनुसार कार्वाही गर्न स्थानीयले माग गरेका छन् । चाडबाडमा मात्रै नभई नियमित बजार अनुगमन गर्न समेत स्थानीय र उपभोक्ताले माग गरेका थिए ।