३५ सय निजी आवास पूर्ण रुपमा भत्किएको प्रारम्भिक विवरण उपलब्ध भए पनि कृषि, पशुपालन, सरकारी कार्यालय तथा भवनहरु, विद्यालय, स्वास्थ्य संस्था, खानेपानी, संचार, विद्युत लगायतका क्षेत्रमा भएको क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।
धुलिखेल/जिल्लाका १३ स्थानीय तह मध्ये रोशी, बेथान्चोक, पनौती अति प्रभावित पालिकामा पर्छन । बनेपा र धुलिखेल संकटग्रस्त पालिकामा नपरे पनि क्षतिका हिसाबले धुलिखेलमा एक अरब भन्दा धेरैको क्षति भएको छ । ११ वटा पालिका संकटग्रस्तमा हुँदा धुलिखेल र बनेपालाई छुट्टाएकोमा पनि नगरपालिकाले आपत्ति ब्यक्त गरेको छ । कार्यपालिका बैठकले उक्त निर्णय तत्काल सच्याउन सरकारलाई अनुरोध गरेको छ । जिल्लामा असोज १०–१२ मा परेको अविरल वर्षातका कारण बाढी र पहिरोबाट हिजो बुधबारसम्म ७८ जनाको निधन भएको छ । ६ जना अझै बेपत्ता छन् । विपत्तिमा परेर ७९ जना घाईते भए । ८ सय ६७ जनाको हेलीबाट उद्दार गरिएको छ भने ३ हजार २ सय ९९ जनाको अन्य माध्यबाट उद्दार गरिएको छ । हालसम्म प्राप्त प्रारम्भिक विवरण अनुसार जिल्लामा आवास नीजि तर्फ पूर्ण क्षति ३ हजार देखि ३ हजार ५ सयसम्म हुन सक्ने अनुमान गरिएको छ । आंशिक क्षति ६ हजार देखि ७ हजार वटा घरहरु क्षति भएको अनुमान गरिएको छ । सरकारी भवन पूर्ण रुपमा १०–१५ वटा क्षति भएका छन् भने आंशिक क्षति २०– ३० वटा क्षति भएका छन् । सार्वजनिक भवन २५–३० वटा पूर्ण क्षति भएका छन् । आंशिक २५–३० वटा क्षति भएका छन् ।
सडक तर्फ विपी राजमार्गमा विभिन्न खण्डमा ८ किमी सडकमा अस्थायी डाईभर्सन गरिएको छ । रोशीको माम्ति र भ्याकुरे खोलामा हिम पाईप मार्फत क्रसिङ्ग गरिएको छ । १९ वटा प्रमुख ग्रामिण सडकहरुको अधिकांश खण्डमा पहिरो गई करिब ६ सय ५५ किमी सडक अवरुद्ध भएको छ । हाल खानीखोला बाहेक केन्द्र जोड्ने सबै सडक संचालनमा आएको छ । स्थानीय सडकहरु स्थानीय तहबाट सफा गर्ने कार्य जारी छ । पुल तर्फको ४८ वटा सडक पुलमा क्षति पुगेको छ । जसमध्ये ७ वटा पूर्ण क्षति भएको छ । ३ वटा आंशिक क्षति । ३८ वटा तत्काल सामान्य मर्मत गरेर संचालनमा ल्याएको छ । सिंचाई तर्फ ९६ वटा सिंचाई प्रणालीमा करिव २१ करोड ५० लाखको क्षति भएको छ । ३६ वटा तटबन्धको योजनामा २० करोडको क्षति भएको छ । केहि सिंचाई बाँध तथा कुलो अस्थायी रुपमा संचालन गर्न जोखिम युक्त स्थान संरक्षण गर्न १ सय ५० थान तारजाली वितरण गरिएको छ ।
खानेपानी तथा सरसफाई तर्फ सबैभन्दा धेरै क्षति भएको छ । जिल्लाका बाढी प्रभावित क्षेत्रका सबै वडा, टोल, पालिका र बस्तिमा रहेको खानेपानीका मुहान, पाईप र धारा, ट्याङ्कीहरुमा असर पुगेको छ । क्षतिको पूर्ण विवरण संकलन हुँदै छ । काभ्रे उपत्यका एकीकृत खानेपानीको २ किलोमिटर क्षेत्रको पाईप बगाएको छ । (पनौती,बनेपा र धुलिखेल) १० करोड बराबरको क्षति भएको छ । धुलिखेल खानेपानी उपभोक्ता समितिको ३ किमी पाईप बगाउँदा पानी संचालनमा आउन सकेको छैन । करिब ४ करोड बराबरको क्षति भएको छ । बृहत्त तेमाल खानेपानी आयोजना पूर्ण रुपमा क्षति भएको छ । करोडौ रकम बराबरको क्षति भएको आयोजनाले जानकारी दिएको छ । ५८ वटा खानेपानी आयोजनलाई तत्काल पाईप उपलब्ध गराएर पानी संचालनमा आएका छन् । अहिले जिल्लामा सबै भन्दा ठुलो समस्या खानेपानीको भएको छ ।
स्वास्थ्य तर्फ ४ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ । जस मध्ये रोशी गाउँपालिकामा पालिका स्तरको १० शैयाको अस्पताल बगाएको छ । महाभारत र खानीखोला गाउँपालिकाका स्वास्थ्य संस्थामा भने क्षति पुगेको छैन । स्वास्थ्य सेवा समेत प्रभावित भएको छ ।
संचार तर्फ नेपाल टेलिकमका २५ भन्दा धेरै टाओरमा क्षति भएको छ । विपद्मा बैकल्पिक ब्यवस्था नहुँदा भएका टाओर पनि संचालनमा आउन सकेका छैनन् । अप्टिकल फाईबर, टेलिफोन पोल, तारमा क्षति भएको छ । विभिन्न पालिकामा दिएको सेवा अझै सुधार हुन सकेको छैन । कृषि तर्फ ७ हजार १ सय ३० घर धुरी कृषक प्रभावित भएका छन् । १०१०८ हेक्टर क्षेत्रफलमा बर्षे धान लगाएको छ । क्षति भएको ६७० हेक्टर धान, ३० हेक्टर मकै, ४२८ हेक्टर तरकारी बाली गरी कुल ११२८ हेक्टर रहेको छ । २००९ मेट्रिक टन धान, ८४ मेट्रिक टन मकै, ४२७८ मेट्रिक टन तरकारी तथा अन्य बाली गरी कुल ६३७१ मेट्रिक टन उत्पादनमा क्षति पुगेको छ । कुल उत्पादनमा ४२ करोड ६३ लाख रुपैयाँ क्षति पुगेको छ ।
पशुपंक्षीतर्फ गाई ५००, गोरु १५, बाच्छाबाच्छी ११, दुहुना भैसी २५, राँगो १०, पाडापाडी ११, बोका बाख्रा १०००, बंगुर १५०, कुखुरा हाँस २ हजार, खरायो ५ गरी ३९७४ वटा पशु र उत्पादित दुध ८ लाख लिटर क्षति भएको छ । कुल १२ करोड ८४ लाख ५१ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ । विद्यूत्त तर्फ काभ्रेका १३ मध्ये १० वटा पालिकामा विद्युत्तका सामाग्रीहरुको क्षति भएको छ । ७ सय ७४ वटा एचटी लाईन जडान भएका ११ मिटर अग्ला पोल पूर्ण रुपमा क्षति भएका छन् । ८÷९ मिटर अग्ला पोल एमटी लाईन भएको ११४९ वटा लडेका छन् भने कण्डक्टर खोली तान्ने एचटी लाईन १ सय २३ किमीमा क्षति पुगेको छ । कण्डक्टर खोली तान्ने एचटी लाईन १ किमी क्षति भएको छ । ४४ वटा ट्रान्सफरमरमा क्षति पुगेको छ । २२ वटा पूर्ण रुपमा क्षति भएका छन् ।
विद्यालयतर्फ १ सय ७० वटा विद्यालयमा क्षति भएको छ । २६ वटा विद्यालयमा पूर्ण क्षति पुगेको छ । आंशिक क्षति भएका विद्यालयहरुमा घेराबार, वाल लगायतका स्थानमा क्षति पुगेको छ । २१ विद्यार्थीको निधन भएको छ २ अझै बेपत्ता छन् । महिला, बालबालिका, बृद्धबृद्धा तथा अपाङ्गता भएका ब्यक्ति लगायतमा परेको असर (नियमित औषधी उपचार, हेरचाहका लागि अझै काम हुन सकेको छैन ।









