१३ वटै पालिका फरक फरक विद्यामा उत्कृष्ट
धुलिखेल/जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८०÷०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा सेवा प्रवाहमा उत्कृष्ट स्थानीय तहका स्वास्थ्य शाखाहरुलाई सम्मान गरिएको छ ।
हरेक विद्यामा उत्कृष्ट हुने तीन पालिका र स्वास्थ्यका विभिन्न कार्यक्रम मध्ये फरक–फरक विद्यामा उत्कृष्ट भएका १३ वटै पालिकालाई सम्मान गरिएको छ । स्थानीय तह मुल्यांकन बर्गिकरणका आधारमा नागरिकहरुलाई उत्कृट सेवा प्रदान गर्ने जिल्लाको विकट पालिका महाभारत प्रथम हुँदै सम्मानित भएको छ । त्यस्तै धुलिखेल नगरपालिका दोश्रो भएको छ भने बेथान्चोक गाउँपालिका तेश्रो भएको छ । सबै प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराउँदै सेवा प्रवाहमा अझै गुणस्तर कायम गर्ने पालिकाहरुलाई अति उत्तम, उत्तम, सामान्य, न्युन र अनि न्यून मापदण्ड राखिएको थियो । जसमध्ये महाभारत, धुलिखेल र बेथान्चोक गाउँपालिका उत्तममा परेका छन् । अरु १० वटा पालिका सामान्यमा परेका छन् । तीनवटा पालिकाले ८० देखि ९० को बीचमा नम्वर प्राप्त गरे भने अन्यले ७० देखि ८० को बीचमा नम्वर प्राप्त गरे ।
त्यस्तै सोहि कार्यक्रममा स्वस्थ शहर घोषणा गर्न सफल भएकोमा धुलिखेललाई सम्मान गरिएको थियो भने पानीको गुणस्तर परिक्षण गरी गुणस्तर पानी उपलब्ध गराउन सफल भएकोमा पनौती नगरपालिकालाई सम्मान गरिएको थियो । रेविज न्यूनीकरणमा उत्कृष्ट कार्य गरे बापत पाँचखाल नगरपालिका उत्कृष्ट भएको छ । स्थानीय श्रोत परिचालन गरी स्वास्थ्य सेवा प्रवाह गर्नेमा मण्डनदेउपुर नगरपालिका उत्कृष्ट भएको छ । जेष्ठ नागरिकहरुलाई निःशुल्क दाँत राखिदिएर अभियान संचालन गरेको बनेपा नगरपालिका उत्कृष्ट भएको छ । साप्ताहिक रुपमा आईरन लगायतका औषधीहरु समुदायमा पु¥याउने नमोबुद्ध नगरपालिका उत्कृष्ट भएको छ । समयमा सूचना प्रदान गर्ने रोशी गाउँपालिका उत्कृष्ट भएको छ । त्यस्तै बर्थिङ्ग सेन्टरमा गुणस्तरीय र धेरै गर्भवती महिलाहरुलाई सेवा प्रदान गरेकोमा खानीखोला गाउँपालिका उत्कृष्ट भएको छ । टिभी शुन्य गर्ने अभियानमा सक्रिय भएको भुम्लु गाउँपालिका उत्कृष्ट भएको छ । समुदायमा आधारित मानसिक स्वास्थ्य सेवा मार्फत नागरिकहरुलाई घर घर औषधी पु¥याउँदै सेवा प्रदान गर्ने चौरीदेउराली गाउँपालिका उत्कृष्ट भएको छ । त्यस्तै मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम मार्फत नागरिकहरुलाई सेवा प्रदानमा सहजता उपलब्ध गर्ने महाभारत उत्कृष्ट भएको छ । आमा समुह परिचालन गरी समुदायको स्वास्थ्यमा सक्रियता प्रदान गर्ने बेथान्चोक गाउँपालिका उत्कृष्ट भएको छ । त्यस्तै जेष्ठ नागरिकहरुको स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर स्वास्थ्य कार्यक्रम संचालन गरिरहेको तेमाल गाउँपालिका उत्कृष्ट भएको छ ।
उत्कृष्ट पालिकाहरुलाई जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका योजना महाशाखा प्रमुख सागरप्रसाद घिमिरे, बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला ल्यावका निर्देशक नारायण कार्की, जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपती श्रेष्ठ, मेथिन्कोट अस्पतालका मेसु डा.अच्युत पौडेलले सम्मान गरेका थिए । कार्यक्रममा अतिथीहरुले जिल्लामा भएका स्वास्थ्य क्षेत्रका जटिलतालाई सहजता ल्याउन तीन तहका सरकार, दातृ संस्थाहरु तथा सहयोगी संस्थाहरुको समन्वय र सहकार्य आवश्यक रहेको बताएका थिए । जिल्लामा रहेका समुदाय स्तरका अस्पतालहरु, सरकारी अस्पतालहरु, निजी स्वास्थ्य संस्थाहरुको समेत सहकार्य र समन्वय आवश्यक रहेको निश्कर्ष निकालिएको थियो । दुई दिनसम्म आयोजित छलफल कार्यक्रममा हरेक पालिकामा भएका समस्या र समाधानका लागि सरोकारवाला निकायहरुले खेल्नु पर्ने भूमिकाका बारेमा छलफल भएको थियो ।
काभ्रेपलाञ्चोक जिल्लामा प्रदेश स्तरको मेथिन्कोट अस्पतिाल, ५ वटा नगर अस्पताल, ४७ वटा बर्थिङ्ग सेन्टर, ८४ वटा स्वास्थ्य संस्था र ९ सय ३७ जना महिला स्वास्थ्य स्वंसेविकालाई तीन तहका सरकारले समन्वय गरिरहेका छन् । जनस्वास्थ्य कार्यालयबाट संचालित कार्यक्रमहरु ९९ प्रतिशत सम्पन्न भए पनि ढिलो गरी प्राप्त हुने कार्यक्रम र बजेटका कारण समयमा कार्य गर्न असहज भएको सहभागिहरुले बताए । जिल्लामा रहेका १ सय ५१ वटा सार्वजनिक तहका माध्यमिक विद्यालय मध्ये ४५ वटा विद्यालयमा विद्यालय नर्स कार्यरत छन् । जसका कारण बालबालिकाहरुको स्वास्थ्य सेवामा मात्रै नभई विभिन्न खालका स्वास्थ्य कार्यक्रम विद्यालय तहमा संचालन गर्न सहज भएको बताईएको छ । कार्यक्रममा स्थानीय तहमा देखिएका समस्याहरुका बारेमा समुहगत छलफल भएको जनस्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठले बताईन् । ‘समुदायमा २० वर्ष भन्दा कम उमेरका महिलाहरु सुत्केरी हुन थालेका छन् । विद्यालय नर्स र उनिहरुले पु¥याएको स्वास्थ्य सेवालाई विस्तार र अझै गुणस्तर कसरी बनाउन सकिन्छ ? मानसिक स्वास्थ्यमा देखिएका समस्याहरुको समाधानका लागि तीन तहका सरकारको भूमिका के हुन सक्छ ? भईरहेका स्वास्थ्यका गतिविधीहरुलाई कसरी तथ्यांकका रुपमा संकलन गर्न सकिन्छ ? लगायतमा समुहग छलफल भएको छ’– जनस्वास्थ्य कार्यालय काभ्रेकी प्रमुख रागिश्री कक्षपति श्रेष्ठले भनिन–‘बार्षिक समिक्षा गोष्ठीले विगतको अभ्यासबाट आगामी दिनमा थप योजना निर्माण र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहज हुनेछ ।’
पछिल्लो समय स्थानीय सरकारले केहि औषधी खरिद गरी वडा तथा टोल स्तरका स्वास्थ्य संस्थामा उपलब्ध गराए पनि प्रदेश तहको सरकारको जिम्मेवारीमा रहेका नसर्ने रोगका औषधीहरु जस्तै सुगर, प्रेसर, दम लगायत परिवार नियोजनका अस्थायी साधनहरु डिपो, इम्प्लान्ट, नाभी मल्हम, भिटामिन ए उपलब्ध हुन सकेको छैन । प्रदेश सरकारको ढिलासुस्तिका कारण नागरिकहरुले सहज सेवा पाउन नसकेको सहभागीहरुले बताए । कार्यक्रममा जनस्वास्थ्य कार्यालय अधिकृत अनिता वाग्ले, डब्लुएचओ प्रतिनिधि डा. अनुप जिसी, जनस्वास्थ्य अधिकृत अस्मिता ढुंगाना, सहभागीहरुको तर्फबाट महाभारत गाउँपालिकाकी संगिता लामा, मण्डनदेउपुरका दिपक घिमिरे, बामगती प्रदेशका सिर्जन आचार्य लगायतले समिक्षा कार्यक्रममा पालिकाहरुले प्रदान गर्ने स्वास्थ्य सेवाका बारेमा धारणा राखेका थिए । दुई दिने कार्यक्रममा समीक्षा कार्यक्रमको पहिलो दिन जिल्लामा रहेका १३ वटा पालिकाका स्वास्थ्य शाखाहरुले पालिकास्तरका गरेका गतिविधिहरु प्रस्तुत गरिएको थियो भने दोश्रो दिन जिल्ला स्थित स्वास्थ्य संस्थाहरु धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र, स्वास्थ्य बीमा बोर्ड, डब्लुएचओ लगायतका स्वास्थ्य संस्थाहरुले भए गरेका गतिविधिहरु प्रस्तुत गरेका थिए ।









