2026 August 29/ 04:13: 23pm

    बनेपा/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, उद्योग वाणिज्य कार्यालय र पनौती नगरपालिकाको संयुक्त आयोजनामा पनौतीमा रहेका मिठाई पसलहरुको अनुगमन गरिएको छ । त्यस्तै बनेपा र धुलिखेलमा रहेका मिठाई पसलहरुको पनि अनुगमन गरिएको छ । चाडपर्व लक्षित अनुगमनमा मिठाई पसलहरुलाई केन्द्रित गरिएको थियो ।  
खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यलय काभ्रेका प्रमुख मनिषा चापागाईको  नेतृत्वमा जिल्ला प्रशासन कार्यलय काभ्रेका नकुल गिरी, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन काार्यलयका खाद्य निरिक्षक पुर्णप्रसाद पौड्याल, उद्योग तथा वाणिज्य कार्यालय काभ्रेका रविन्द्रप्रसाद चौंलागाँई र सञ्चारकर्मी लगायतको टोली बजार अनुगमनमा सहभागी भएको थियो । अनुगमनका क्रममा मिठाई पसलहरुमा बेसन १० केजी, जेरी लगाएत अन्य मिठाईहरु एक सय केजी भन्दा बढी नष्ट गरिएको अनुगमन प्रमुख मनिषा चापागाईले बताईन् । मिठाईहरुमा अखाद्य केमिकल मिसाईएको, अत्याधिक रङ प्रयोग गरी विक्रि वितरण गर्दै आईरहेको फेला परेकाले नष्ट गरिएको चापागाईले बताईन् । 
अनुगमनका क्रममा पनौतीका अधिकाशं मिठाई पसलमा अखाद्य केमिकल प्रयोग गरिएको, अत्याधिक रङ मिसाईएको, सरसफाईमा ध्यान नदिएको फेला परेको थियो । बनेपा र धुलिखेलका मिठाई पसलहरुमा रङ प्रयोग गरिएको पाईएको चापागाईले बताईन । अनुगमन गरेका पसलहरुमा अब उप्रान्त त्यस्ता अखाद्य केमिकल र रङ प्रयोग नर्गन निर्देशन समेत दिएको उनले बताईन् । अनुगमनमा डिभिजन प्रमुख मनिषा चापागाईले नियमित बजार अनुगमन गरिरहेको र अहिले चाडबाड लक्षित मात्रै मिठाई पसलमा केन्द्रित भएको बताईन् । उपभोक्ताको अधिकार सुनिश्चितताका लागि बजार अनुगमनमा जोड दिइएको र बजार अनुगमन निरन्तर गरिने उनले बताईन ।  मानव जिबनमा प्रत्यक्ष असर पार्ने त्यस्ता केमिकल प्रयोग गर्ने मिठाई पसलहरुलाई कानुन अनुसार कार्वाही गर्न स्थानीयले माग गरेका छन् । चाडबाडमा मात्रै नभई नियमित बजार अनुगमन गर्न समेत स्थानीय र उपभोक्ताले माग गरेका थिए । 

दोलालघाट र पाँचखालमा संयुक्त बजार अनुगमन
भुम्लु/भुम्लु गाउँपालिकाको दोलालघाट बजार अनुगमन गरिएको छ । दोलालघाट बजारमा रहेका खाद्यान्न, औषधी, होटल, किराना तथा अन्य पसलहरुको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत दिपेश उप्रेतीले बताए । 
जिल्ला प्रशासन कार्यालय काभ्रेका अधिकृत उप्रेतीको नेतृत्वमा उद्योग तथा वाणिज्य कार्यालय धुलिखेलका प्रमुख यज्ञबहादुर ओली, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख मनिषा चापागाई, जिल्ला समन्वय समिति काभ्रेका अधिकृत भरत सापकोटा, उद्योग तथा वाणिज्य कार्यालय काभ्रेका रविन्द्रप्रसाद चौंलागाँई, पुण्यवती श्रेष्ठ र सञ्चारकर्मी लगायतको टोली बजार अनुगमनमा सहभागी भएको थियो । जिल्लाको बेथान्चोक, रोशी तथा पाँचखाल, मण्डनदेउपुर, बनेपा, पनौती, धुलिखेल लगायतका पालिकाहरुमा यसअघि विभिन्न मितिमा बजार अनुगमन गरिएको छ । 
अनुगमनका क्रममा पसलहरुमा म्याद गुज्रेका, जंकफुड र अखाध्य रङ्ग प्रयोग गरिएका माछा, पकौडा लगायतका खाध्य सामाग्री नष्ट गरिएको छ । यस्तै दर्जनौं पसललाई सचेत गराईएको छ । भुम्लु गाँउपालिकाको दोलालघाटका फिस हाउस एण्ड रेष्टुरेण्टका प्रोपाईटर लालमाया तामाङले म्याद गुज्रेका सामान विक्री वितरण गरेको, माछा र पकौडामा अखाध्य रङ प्रयोग गरी विक्री वितरण गर्दै आईरहेको फेला परेकाले जरिवना गरिएको उद्योग तथा वाणिज्य कार्यालय काभ्रेका प्रमुख यज्ञबहादुर ओलीले बताए । उक्त पसलबाट मात्रै २० केजी माछा र अन्य पसलहरुबाट २० केजी माछा गरी ४० केजी अखाध्य कलर मिसाएको माछा नष्ट गरीको ओलीले बताए । 
अनुगमनका क्रममा पाँचखाल नगरपालिका वडा नम्बर ३ मा रहेको लक्ष्मी नारायण बेकरी उद्योगलाई तत्काल उत्पादन रोक्न निर्देशन दिएको छ । उद्योगले विगत ४ बर्ष देखी विना लेवल आफ्ना उत्पादन बजार पठाउदै आएको अनुगमनमा भेटीएको छ । अनुगमन क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको, सरसफाईमा ध्यान नदिएको, म्याद सकिएका खाद्य सामाग्री विक्री गरेको लगायतका त्रुटी भेटिएकाले तत्काल उक्त कार्य नगर्न नगराउन सचेत गराईएको ओलीले बताए । उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख यज्ञबहादुर ओलीले उपभोक्ताको अधिकार सुनिश्चितताका लागि बजार अनुगमनमा जोड दिइएको बताए । बजार अनुगमन निरन्तर गरिने र  विभिन्न पसलहरुलाई सचेत गराईएको उनले बताए ।