2026 August 29/ 04:13: 22pm

    बनेपा/१ सय २२ वर्ष देखि निरन्तरता पाई रहेको बनेपाको कन्या पूजामा सोमबार ६ हजार ६ सय कन्या पुजिएका छन् । कन्या पुजाको तयारी स्वरुप गाईजात्राको दिन देखि स्वारी पोल्ने कार्य गरिएको थियो । ६ हजार ६ सय कन्यालाई २२ हजार स्वारी उपलब्ध गराउने गरी सनातन कन्या पूजा प्रबन्ध समितिको आयोजना तथा ब्यवस्थापनमा स्वारी पोल्ने कार्य हुँदै आएको छ । 
    कन्या पूजा प्रबन्ध समितिले हरेक वर्ष कन्या पूजाको व्यवस्थापन गर्दै आएको छ । बनेपामा आयोजना गरिएको कन्या पूजामा प्रति कन्या पाँच सय रुपियाँ बराबरका सामाग्री उपलब्ध गराईएको थियो । ६ हजार ६ सय  कन्याका लागि ३५ लाख भन्दा धेरै खर्च हुने गरेको छ । कोरोना महामारीका कारण दुई वर्ष सामूहिक कन्या पूजा गरिएको थिएन । सनातन कन्या पूजा प्रबन्ध समितिका अध्यक्ष गोपाल सिं मुस्याजुको निधन पछि समितिको बैठकले अध्यक्षमा रामगोपाल कायस्थलाई मनोनीत गरेको थियो । कन्या पूजा भव्य रुपमा सञ्चालन गर्न र कन्याहरूलाई पूजा तथा प्रसाद वितरण गर्न भक्तजनहरूलाई समितिले अनुरोध गरेको थियो । ७५ भन्दा धेरै भक्तजनहरू विभिन्न प्रकारका सामाग्री सहित कन्या पूजामा सहभागी हुने गरि ब्यवस्थापन गरिएको थियो । 
    अविवाहित तथा रजस्वला नभएका, बेल विवाह नगरिएका कन्याहरूलाई विभिन्न विधिका साथ पूजा गरिँदै आएको छ । ‘घरबाट सुरु गरिएको कन्या पूजा अहिले नेपालमै नमुना भएको छ’ –कन्या पूजा प्रबन्ध समितिका सचिव सुरकृष्ण वैद्यले भने–‘बाजे बराजुले शुरु गरेको संस्कृतिलाई जतिसुकै खर्चिलो भए पनि पूरा गर्ने अभियान चलाएका छौँ ।’ बनेपा आसपास ७ गाउँका कन्याहरूलाई बनेपामा पूजा गरिँदै आएको परम्परालाई व्यवस्थित गर्न समिति नै गठन गरिएको थियो । बनेपाको भोलाखाटोलबाट शुरु भएको बृहत कन्या पूजाको शुरुवातमा भोलाखा गणेशलाई पूजा गरी विधिअनुसार सुरकृष्ण वैद्यको घरबाट निस्किएको पूजा, टीका र जंजका (काँचो धागो) तेलले कन्यालाई स्वारी, मालपुवा, चकलेट, छोकडा, बिस्कुट सहित पूजा गरिन्छ । सिजन अनुसारका खानेकुराहरु, फ्रुटी, चाउचाउ, दक्षिणा सहित एउटी कन्यालाई करिव ५ सय रुपैयाँ बराबरको सामाग्री उपलब्ध गराईन्छ । भोलाखाटोलबाट पूर्वतिर भोलाखाटोल, स्वधाटोल र वकुटोलसम्म बसिरहेका कन्याहरूलाई पूजा गर्दै घुमेर, पश्चिमतिर फर्की वकुटोल, स्वधाटोल, भोलाखाटोल हुँदै दक्षुटोलसम्म दायाँतर्फका सडकको पेटीमा आसनमा बसिरहेका कन्याहरूलाई पूजा गर्दै लायकु ध्वाखासम्म आई, पूर्वतिर फर्केर दायाँतिरका पेटीमा बसिरहेका कन्याहरूले पूजा गर्दै भोलाखाटोल पुगेपछि विसर्जन हुने गरेको छ । कन्याहरूलाई पूजा गर्दा सु–स्वास्थ्य, सुभ–मङ्गल र सुखमय जीवनको कामना गरिन्छ । कन्याहरूलाई पूजा गर्दा उनीहरूको आर्शीवादका कारण मन हलुङ्गो हुने, आत्मसन्तुष्टि मिल्ने, इच्छा पूरा भएको र केही हराएको बस्तु पाएको जस्तो महसुस हुने गरेको विश्वास छ । बनेपाको अलावा, साँगा, बुडोल, नाला, चौकोट, धुलिखेल, पनौती, धनेश्वर लगायतका विभिन्न स्थानमा पनि कन्या पूजा गर्न शुरु गरिएको छ । 

साता दिन देखि तयारी 
    ‘केहि वर्ष अघिसम्म १३ दिन अघि देखि स्वारी मालपुवा पकाउने गरिएको थियो । गुणस्तर तथा भण्डारणमा कठिनाई भए पछि दिन घटाएर संख्या बढाएर एक साता अघि देखि स्वारी पकाउन शुरु गरेका छौं’–अध्यक्ष रामगोपाल कायश्थले भने–‘दैनिक १५ जना खटिएर ३ हजार ५ सय देखि ४ हजार वटा स्वारी पोल्ने कार्य भईरहेको छ ।’ गत वर्ष ६ हजार ५ सय कन्या पुजिएका थिए । यो वर्ष ७ हजार कन्या पुजिने प्रारम्भिक अनुमान गरी ब्यवस्थापन गरिएको कोषाध्यक्ष दिनेश कायश्थले बताए । ७ हजार कन्याका लागि प्रति कन्या ३ पिस स्वारी उपलब्ध गराउने गरी तयारी गरिएको उनले बताए । स्वारी पकाउने कार्यका लागि ४ लाख भन्दा धेरै खर्च भएको छ भने समग्र पूजा ब्यवस्थापनका लागि ५ लाख भन्दा धेरै खर्च समितिका तर्फबाट गरिने छ । चन्दा तथा दाताहरुको सहयोगबाट हरेक वर्ष पूजा संचालन गरिदै आएको कोषाध्यक्ष कायश्थले बताए । कन्याहरुलाई समितिका तर्फबाट तीन पिस स्वारी, २ पाकेट विस्कुट र १ वटा चाउचाउ उपलब्ध गराईनेछ । नगद, छोकडा, चकलेट जस्ता विभिन्न मिठाईहरुबाट ७५ जना भन्दा धेरै ब्यक्तिहरुले विभिन्न प्रकारका सामानबाट पूजा गरिएको सदस्य प्रकाश कायश्थले बताए ।
    शुरुका वर्षहरुमा ९० हजार स्वारी पकाउने गरिएको थियो । यो पटक गाईजात्राको दिन भाद्र ४ गते देखि स्वारी पोल्न शुरु गरिएको थियो । भाद्र ९ गते साँझसम्म २२ हजार भन्दा धेरै स्वारी पोलिसक्ने गरी ब्यवस्थापन गरिएको थियो । पकाएका स्वारीहरुलाई ओशिलो हुन नदिन र ढुसी आउन नदिन भण्डारणमा विशेष ध्यान पु¥याईएको छ । कन्या पूजाका दिन सहज रुपमा ढुवानी गर्न सजिलो होस भन्ने उदेश्यले कन्याहरु पुजा गर्ने स्थानको आसपास पकाउने गरिएको छ । ‘विस्तारै विस्तारै स्वारी पोल्ने र भण्डारण गर्ने स्थान पाउनै कठिन हुन थालेको छ’–कोषाध्यक्ष दिनेश कायश्थले भने–‘यसको ब्यवस्थापनमा नगरपालिका तथा स्थानीय सरकारले खासै चासो देखाएको छैन ।’ हालसम्म समितिका सदस्यहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहयोगले उक्त पूजा संचालन हुँदै आएको छ । समितिमा अध्यक्ष रामगोपाल कायश्थ, सचिव सुरकृष्ण बैद्य, कोषाध्यक्ष दिनेश कायश्थ, सदस्यहरुमा प्रकाश कायश्थ, धु्रर्वराज कर्माचार्य, रामेश्वर श्रेष्ठ, निरञ्जुल कायश्थ, मणिराज कायश्थ, ग्रुवेन तौजले, शुभराज जोशी, प्रताप बैद्य, उदय सिं मुस्याजु छन् । दाताहरुले दिएको रकम अभाव भएमा वा पूजामा नपुग भएमा समितिका तर्फबाट खर्च ब्यवस्थापन हुँदै आएको छ । व्यापारीक र ऐतिहासिक नगरी बनेपा र जिल्ला आसपासका विभिन्न क्षेत्रमा कृष्णजन्माष्टमीको अवसरमा कन्याहरू पुजिदै आएका छन् । 

कन्या पूजामा जसले नगद सहयोग गरे
    कन्या पुजाका लागि रामगोपाल कायश्थ, बालगोपाल कायश्थ, नवराज शाक्य, यशुपति श्रेष्ठ, अकलपान कपाली, मनोज भालु, लोकदीप भोक्षिभोयिा, संगितकुमार तामाङ, उदयराम कायश्थ, रविन्द्र तौजले, रोशन श्रेष्ठ र महेश्वरभक्त भोक्षिभोयाले ३ लाख रुपैया सहयोग गरेका थिए भने प्रेमराज कायश्थ, रामगोपाल कायश्थ, मुनेश्वर कायश्थ, दिनेशराज कायश्थ र प्रकाश कायश्थको तर्फबाट २ लाख रुपैया सहयोग गरिएको छ । त्यस्तै बर एण्ड बधु फिल्म परिवारको तर्फबाट १ लाख ११ हजार १ सय ११, हरिमाई दाहाल मार्फत प्रल्हाद दाहालले ५१ हजार १ सय, पतञ्जली योग समितिको तर्फबाट २५ हजार, माई चण्डेश्वरीमा संचालित आरती भजन खलको तर्फबाट २५ हजार, राजाराम श्रेष्ठ र अंगना बैद्यको तर्फबाट २५ हजार नगद सहयोग उपलब्ध गराईएको छ । बनेपामा ६ हजार ६ सय कन्या पुजा गरिएको छ ।