धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा आर्थिक वर्ष २०८०/०८१ को अन्त्य अर्थात असार मसान्तसम्म जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकमा मतदाता नामावलीमा ३ लाख ११ हजार ५ सय २७ जनाको सूची कायम भएको छ ।
जिल्ला निर्वाचन अधिकारी उमेश राईका अनुसार हरेक दिन कार्यालयले मतदाता नामावलीका लागि फोटो सहितको विवरण अद्यावधिक गरिरहेको छ । ब्यक्तिले विवरण अनलाईनमा भरे लगत्तै कार्यालयले उपलब्ध गराएको मिति र समयमा गएर ब्यक्तिले मतादाता नामावलीमा नाम दर्ता गर्न सक्ने ब्यवस्था निर्वाचन आयोगले गरेको छ । नागरिकता भएका सबै नागरिकहरुले मतदाता नामावलीका लागि नामावली दर्ता सहित फोटो खिचाउन सक्नेछन् । सरकारले निर्वाचनको मिति घोषणा गरे पछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित हुनेछ । त्यो अवधीमा १८ वर्ष उमेर पुगेका नागरिकहरुले मतदानमा भाग लिन पाउनेछन् । निर्वाचन आयोगले त्यो उमेर समुहका सबै नागरिकहरुको सूची मतदाता नामावलीमा समावेश गर्नेछ ।
जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका मतदाताहरु मध्ये १ लाख ५२ हजार ७ सय ७६ र पुरुष तर्फ १ लाख ५८ हजार ७ सय ४९ रहेको छ । अन्यमा २ जना छन् । आर्थिक वर्षको अवधीमा नयाँ मतदाताका रुपमा १ हजार ४ सय २ जना थपिएका छन् । ८२ जनाले मतदाता नामावलीमा भएको त्रुटि सच्याएका छन् । १ सय ३६ जनाले ठाउँसारी गराएका छन् । १ सय ८६ जनाको नामवलीबाट नाम हटाईएको छ । उनिहरुको निधन भएको सूचि स्थानीय तहबाट प्राप्त भए पछि निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय मार्फत उनिहरुको नामावली हटाउने ब्यवस्था छ । नागरिकता रद्द भएका ७ जनाको नामावली पनि मतदाता सूचीबाट हटाईएको जिल्ला निर्वाचन अधिकारी उमेश राईले बताए । ईलाम र बझाङमा २०८१ बैशाख १५ गते सम्पन्न उप निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको केन्द्रिय कार्यक्रम अन्र्तगत सार्वजनिक गरिएको मतदाता नामावली अद्यावधिक गरिँदा २०८१ बैशाख १४ गते १६ वर्ष पुगेका ३ लाख १० हजार ६३ मतदाता थिए । त्यतिबेला ३ लाख २० हजार १ सय ८९ जनाले फोटो खिचाएका थिए । अहिले २०८१ असार ३२ गते १६ वर्ष पुगेका मतदाता ३ लाख ११ हजार ५ सय २७ जना छन् । फोटो खिचाउनेको संख्या पनि केहि थपिएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार यस जिल्लामा ९१, ४२८ घरपरिवार रहेका छन् भने जनसंख्या ३,६४,०३९ (पुरुष १,७८,९०९ र महिला १,८५,१३०) रहेको छ । यस जिल्लाको जनघनत्व २६१ प्रति वर्ग किलोमिटर रहेको छ भने लैङ्गिक अनुपात ९६.६४, वार्षिक जनसंख्या वृद्धिदर (– ०.४६) प्रतिशत र साक्षरता दर ७५.६८ प्रतिशत (पुरुष ८४.१४ र महिला ६७.६०) रहेको छ । काभ्रेपलाञ्चोक जिल्लामा ५८ वटा जातजातिहरु रहेका छन् । जसअनुसार सबैभन्दा बढी तामाङ ५०.३९८ प्रतिशत रहेका छन् भने ब्राह्मण– पहाड र क्षेत्री क्रमश २०.१४८ र १३.५७४ प्रतिशत रहेका छन् भने जिल्ला भित्र जम्मा ८ वटा धर्म मान्ने मानिसहरु रहेका छन् । जसअनुसार सबैभन्दा बढी हिन्दु धर्म मान्ने व्याक्तिहरु ६३.३०६ प्रतिशत रहेका छन् । बौद्ध र क्रिश्चियन धर्म मन्ने व्यक्तिहरु क्रमशः ३३.८९० र २.१०५ प्रतिशत रहेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयद्धारा गरिएको नेपालको ग्रमिण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गिकरण अनुसार यस काभ्रेपलाञ्चोक जिल्लाका १३ स्थानीय तहका १३५ वडाहरुमध्ये ८७ वटा वडाहरु ग्रामिण (५०.४० प्रतिशत जनसंख्या), २५ वटा वडाहरु शहरोन्मुख २२.७६ प्रतिशत जनसंख्या र २३ वटा वडाहरु शहरी (२७.२० प्रतिशत जनसंख्या) रहेका छन् । यस अघि नगरपालिका क्षेत्रमा वस्ने जनसंख्यालाई शहरी जनसंख्या र गाउँपालिकामा वसोवास गर्ने जनसंख्यालाई ग्रामिण जनसंख्या अन्र्तगत राखिदा जिल्लाको कुल जनसंख्या ३,६४,०३९ मध्ये २,५०,२०९ जना अर्थात ६९ प्रतिशत जनसंख्या शहरी र बाँकी १,१३,८३० जना अर्थात ३१ प्रतिशत ग्रामीण जनसंख्या देखिएको थियो । उक्त नेपालको ग्रमिण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गिकरण अनुसार यस जिल्लाका सवै ७ वटा गाउँपालिकाका वडाहरु ग्रामिण क्षेत्रमा नै रहेको पाईएको छ भने ६ वटा नगरपालिका मध्ये २६ वटा वडाहरु ग्रामिण क्षेत्रमा, २५ वटा वडाहरु शहरोन्मुख क्षेत्रमा र २३ वटा वडाहरुलाई शहरी क्षेत्रमा वर्गिकरण गरिएको छ ।









