2026 August 30/ 03:49: 03pm

    धुलिखेल/धुलिखेल नगरपालिकालाई पूर्ण खोप सुनिस्चितता दिगोपना नगर घोषणा गरिएको छ । नगर खोप समन्वय समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगर, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, स्वास्थ्य संस्थाका प्रमुखहरुले उक्त घोषणामा हस्ताक्षर गरेका थिए । 
    कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगर नेपालकै पहिलो स्वस्थ नगर घोाषणाको क्रममा रहेको बताए । धुलिखेलका नागरिकहरुको घर धुरी सर्वेक्षण मार्फत सबै खालका रोग, समस्या तथा स्वास्थ्य सेवाको आवश्यकताका बारेमा जानकारी लिदै स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने गरी अशक्त, अपाङ्गता भएका, गरिव, दलित, सिमान्तकृत तथा जेष्ठ नागरिकहरुका हकमा विशेष ब्यवस्था गरिएको नगर प्रमुख ब्याञ्जुले बताए । उपप्रमुख निराजन जंगमले नगरबासिहरुको स्वास्थ्य नगरको पहिलो कर्तब्यका र दायित्वका रुपमा लिदै योजनाहरु कार्यान्वनमा ध्यान दिएको बताए । प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगरले नागरिहरुलाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने गरी सबै वडामा रहेका स्वास्थ्य संस्थाहरुको नियमित अनुगमन, नागरिक मैत्री सेवाका लागि समन्वय र सहजिकरण गरिएको बताए । स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले नगरपालिकाका सबै वडामा भएका स्वास्थ्य गतिविधीहरुका बारेमा जानकारी गराउँदै अवको बाटो र योजनामा सबै पक्षको सक्रियता आवश्यक रहेको बताएका थिए । स्वास्थ्य शाखाका अधिकृत सरोज थापाको संचालनमा सम्पन्न कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एवं वडा अध्यक्ष गणेश आचार्यले नगरपालिकाको स्वास्थ्य लगायतका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अघि बढाएको बताए । 
    १५ महिना देखि २ वर्षसम्मका सबै बालबालिकाहरुलाई पूर्ण खोप लगाएको वडा स्तरबाट घोषणा हुँदै नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । नगर भित्र रहेका बालबाकिलाहरुलाई लक्ष्य भन्दा धेरै १२७ प्रतिशतमा खोप लगाईएको छ । सदरमुकाम, विश्वविद्यालय तथा अस्पताल, रिर्साेटहरु तथा अन्य सेवा क्षेत्रका कारण जिम्मेवारी भन्दा बाहिरका २७ प्रतिशत बालबालिकाहरुलाई खोप सेवा प्रदान गरिएको छ । कार्यक्रममा बाल क्लव, महिला स्वस्थ्य स्वयंसेविकाहरु समेतको सहभागिता थियो । 
    पूर्ण खोप सुनिश्चितता कार्यक्रममा १९ जना महिला स्वस्थ्य स्वयमंसेविकाहरुलाई  ६० वर्ष उमेर पुगेका कारण नगद २० हजार सहित विदाई गरिएको छ । नगर भित्र ६९ जना स्वयमंसेविकाहरु कार्यरत छन् । २०४७ साल देखि निरन्तर सेवा दिईरहेका स्वंयमसेविकाहरु मध्येबाट यज्ञ श्रेष्ठले अनुभव सहितको मन्तब्य राखेकी थिईन् । नगर भित्र १५ वटा स्वास्थ्य केन्द्र, २७ वटा खोप केन्द्र रहेका छन् । आधा घण्टा भन्दा कम समयमा स्वास्थ्य संस्थामा पुग्न सक्ने गरी केन्द्रहरु स्थापना गरिएको छ । आधारभुत सेवा सोहि केन्द्रहरुबाट उपलब्ध हुने गरेको छ । धुलिखेलले पहिलो पटक २०६४ सालमा पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गरेको थियो । हरेक वर्ष उसले पूर्ण खोप सुनिश्चित भएको पालिकाका रुपमा घोषणा गर्दै आएको छ ।