2026 August 29/ 02:35: 28pm

बनेपा नाला लिंकन विद्यालयकी स्मृति श्रेष्ठले मात्रै ल्याईन चार जिपिए । २ सय १६ विद्यालय मध्ये १८ वटा विद्यालयले मात्रै शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराए । १३ वटा विद्यालमा शुन्य प्रतिशत विद्यार्थी उत्तिर्ण भए । 
    धुलिखेल/एसईई २०८० मा काभ्रेपलाञ्चोक जिल्लाका २ सय १६ माध्यमिक विद्यालयबाट नियमित तर्फ ५ हजार ७ सय ५१ जना परीक्षामा सहभागि भएका मध्ये २ हजार ३ सय ९५ जना अनुत्तिर्ण भएका छन् । बनेपा नालामा रहेको लिंकन इङ्गलिस स्कुलकी छात्रा स्मृति श्रेष्ठ ४ जिपिए ल्याएर जिल्ला प्रथम भईन् । 
    सामुदायिक तर्फका २ र निजीतर्फका १६ गरी १८ विद्यालयका विद्यार्थीहरु शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका हुन् । जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नम्वर ३ मा रहेको सामुदायिक विद्यालय बुद्ध हिमालय र बनेपा ६ मा रहेको संस्कृत विद्यालय नैमिषारन्यबाट सहभागी विद्यार्थी शतप्रतिशत उत्तिर्ण भएका छन् । संस्थागततर्फ नवरत्न, लिन इन्टरनेशनल, डिभाईनलाईट, सरस्वती शिक्षा सदन, बामगती ईङ्गलिस स्कुल, न्यू लिटिल स्टार, ग्रेसल्याण्ड, इन्द्रेणी विद्या मन्दिर, बाल विकास विद्याश्रम, रामभक्त मेमोरियल, विकटेश्वर, इम्मानुयल, पनौती इङ्गलिस स्कुल, मण्डन भ्याली बोर्डिङ्ग, आदर्श विद्या मन्दिर, ज्ञानसरोवर माविले शतप्रतिशत विद्यार्थी उत्र्तिर्ण गराएका छन् । 
    चक्रेश्वर मावि, बेथान्चोक, ज्योती मावि, महाभारत, बागदेवी मावि, भुम्लु, बालविकास मावि, खानीखोला, बुद्ध मावि, खानीखोला, भुृकटी मावि, खानीखोला, शारदा मावि, खानीखोला, धार्नेज्योती मावि, खानीखोला, नागदेवी मावि, जोगेश्वर मावि, दुग्धेश्वर मावि, देविस्थान मावि, काभ्रे बहिरा मावि समेत गरी १३ वटा विद्यालयका विद्यार्थी उत्तिर्ण हुन सकेनन् । शिक्षा समन्वय इकाई धुलिखेलकी प्रमुख उप सचिव देवका ढकालले एसईई परीक्षाको परीक्षाफल सार्वजनिक भएसँगै काभ्रेपलाञ्चोक जिल्लाका विद्यार्थीहरुको उपलब्धी स्तरको ब्यवस्था अनुसार तथ्यांक विश्लेषण गर्ने कार्य जारी रहेको बताईन् । विभिन्न पालिकाबाट सहभागी भएका विद्यार्थीहरुको ग्रेड, नन ग्रेड तथा अन्य विषयमा विश्लेषणात्मक तथ्याङ्क तयार गर्ने कार्य भईरहेको कार्यालयले बताएको छ । 
    जिल्लाको खानीखोला गाउँपालिका ८ वटा मध्ये ५ वटा विद्यालय शुन्य भएका छन् । बालविकास मावि, बुद्ध मावि, भुृकटी मावि, शारदा मावि, धार्नेज्योती मावि, खानीखोला शुन्य भएका हुन् । जनविकास मावि, जनहित मावि र कुमारी माविमा थोरै विद्यार्थी उत्तिर्ण भएका छन् । गाउँपालिका भित्रका १ सय ४८ जना विद्यार्थी मध्ये १७ जना मात्रै पास भएका छन् । १ सय ३१ जना फेल भएका छन् । कुल प्रतिशत ११.४९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका हुन् । पास भएका विद्यालयमा पनि जनविकास माविमा ४० मध्ये ८ जना पास भएका छन् । जनहितमा १४ मध्ये ४ जना पास भएका छन् । कुमारीमा २१ मध्ये ५ जना पास भएका हुन् । 
    भुम्लु गाउँपालिकामा बागदेवी मावि शुन्य विद्यार्थी उत्तिर्ण । ८ जना सहभागी थिए । अन्य सेतिदेवी मावि भुम्लु ४ याक्पामा १६ जनामा १४ जना पास भए । अन्य ८ वटामा १० जना पनि उत्तिर्ण हुन सकेनन् । सेतीदेवी मावि रिठ्ठेमा १८ जनामा ६ जना उत्तिर्ण भए । प्रकाश मावि भुम्लुमा ३३ जनामा ४ जना उत्तिर्ण भए । जनता माविमा २३ जनामा २ जना उत्तिर्ण भए । दुलालेश्वर माविमा ३५ जनामा १ जना उत्तिर्ण भए । वनदेवी माविमा १५ जनामा ९ जना उत्तिर्ण भए । अरुणोदयमा २२ जनामा २ जना उत्तिर्ण भए । शारदा माविमा ११ जनामा १० जना उत्तिर्ण भए । सेतिदेवी भुम्लु ४ मा १४ जनामा २ जना मात्रै उत्तिर्ण भए । 
    बेथान्चोकको चक्रज्योती मावि शुन्य विद्यार्थी उत्तिर्ण । १२ जना थिए । बेथान्चोक गाउँपालिकाका १० मध्ये अधिकांश विद्यालयको परिक्षाफल कमजोर रह्यो । भैरवमा १० जनामा ३ जना उत्तिर्ण भए । पार्वतीमा ३९ मा २३, कृष्णगोपालमा २२ जनामा ८, भुमिमातामा १२ मा १०, कालिकामा १३ मा ४, सरस्वतीमा १९ मा २, भिमसिनेश्वरमा ८ मा ५, आत्माविकासमा २४ मा २ र सरस्वतीमा ३४ मा ३ जना उत्तिर्ण भएका छन् । 
    महाभारत गाउँपालिकामा ज्योती माविमा शुन्य विद्यार्थी उत्तिर्ण भएका छन् । ८ वटा विद्यालयमा १ सय १८ मध्ये २७ जना मात्रै उत्तिर्ण भएका छन् । गोकुलेमा ५ मा ४, भैरवमा १७ मा ५, जनकल्याणमा १० मा ६, जनमोहनमा २६ मा ३, सिद्धेश्वरमा ७ मा १, ग्रामोन्नतीमा ३८ मा ७, कालीदेवीमा ८ मा १ र ज्योतीमा ७ जनामा कोहि पनि उत्तिर्ण हुन सकेन । 
    बनेपा नगरपालिकाबाट जिल्लाकै सबै भन्दा धेरै सामुदायिक तर्फका ३ सय ४२ जना विद्यार्थी सहभागि भएकोमा १ सय ७७ जना मात्रै उत्तिर्ण भए । १ हजार ७८ जना संस्थागत विद्यालयका विद्यार्थी मध्ये ९ सय ७८ जना मात्रै उत्तिर्ण भए । खुल्ला विद्यालयका १ सय ९१ जना मध्ये ३८ जना मात्रै उत्तिर्ण भए । १ हजार ६ सय ११ मध्ये ११ सय ९३ जना उत्तिर्ण भएका छन् । काभ्रे बहिरा विद्यालयका सबै विद्यार्थी फेल भएका छन् । 
    चौरीदेउराली गाउँपालिका १० वटा मध्ये एउटा विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराएको छ । २ सय ५६ जना विद्यार्थीहरु मध्ये ८९.४५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको पालिकाले जानकारी दिएको छ । पनौती नगरपालिका ९ सय १३ मध्ये ६ सय ७७ विद्यार्थीहरु उत्तिर्ण भएका छन् । २८ वटा माध्यमिक विद्यालयबाट विद्यार्थीहरु सहभागि भएका थिए । धुलिखेल नगरपालिकाबाट १८ वटा विद्यालयबाट ५ सय २७ मध्ये ३ सय ६० जना विद्यार्थी उत्तिर्ण भएका छन् । १८ वटा विद्यालयबाट परीक्षामा विद्यार्थीहरु सहभागि भएका थिए । मण्डनदेउपुर, पाँचखाल, रोशी, तेमाल, नमोबुद्ध लगायतका पालिकाका विद्यालयहरुको अवस्था पनि कमजोर देखिएको छ । 
    जिल्लाबाट ८० र सो भन्दा माथी ९० भन्दा कम उपलब्धी प्रतिशतमा स्विकृत अंक ३.६–४.० ल्याउने ३ सय ९५ जना छन् । उत्त उत्तिर्ण प्रतिशतलाई अत्युत्तम मानिन्छ । त्यस्तै ७० र सो भन्दा माथी ८० भन्दा कम उपलब्धी प्रतिशतमा स्विकृत अंक ३.२–३.६ ल्याउने १ हजार १ सय ५९ जना छन् । उक्त समुहमा उत्तिर्ण हुनेहरुलाई उत्कृष्ट मानिन्छ । त्यस्तै ६० र सो भन्दा माथी उपलब्धी प्रतिशतमा स्विकृत अंक २.८–३.२ ल्याउने १ हजार २ सय ६६ जना छन् । उक्त समुहमा उत्तिर्ण हुनेहरुलाई उत्तम समुह भनिन्छ । त्यस्तै ५० र सो भन्दा माथी ६० भन्दा कम उपलब्धी प्रतिशतमा स्विकृत अंक २.४–२.८ ल्याउने ६ सय ८० जना छन् । उक्त समुहमा उत्तिर्ण हुनेहरुलाई सन्तोषजनक मानिएको छ । ४० र सो भन्दा माथी ५० भन्दा कम २.०–२.४ ल्याउनेहरु ४९ जना छन् । उक्त समुहमा उत्तिर्ण हुनेहरुलाई ग्राहा भनिन्छ । त्यस्तै ३५ र सो भन्दा माथी ४० भन्दा कम उपलब्धी प्रतिशतमा स्विकृत अंक १.६–२.० ल्याउनेहरु कोहि छैनन । उक्त समुहलाई आधारभुत मानिएको थियो भने ३५ भन्दा कम ल्याउनेहरुलाई नन ग्रेडिङ्गमा राखिएको छ । 

जिल्ला प्रथम ‘स्मृति’लाई बधाई 
गोमा थापा
बनेपा

    बनेपा नगरपालिका वडा नम्वर ४ नालाको लिंकन इन्टरनेशनल स्कूलले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ जीपीए ल्याएर जिल्लाको उत्कृष्ट नजिता ल्याउने स्मृति श्रेष्ठलाई सम्मान गरेको छ । गत बिहिबार सार्वजनिक भएको एसईई परीक्षाको परिक्षाफलबाट ४ जिपिए ल्याएकी छात्रा स्मृतिलाई विद्यालयले सम्मान गरेको हो ।
    विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि हरेक क्षेत्रमा ध्यान दिने गरेको विद्यालयका प्रिन्सिपल सुन्दर श्रेष्ठले बताए । मेहनत अनुसार जिल्लाबाट उत्कृष्ट अंक ल्याएर जिल्ला प्रथम हुन सफल भएकी भन्दै अभिभावक गौमत श्रेष्ठले आफ्नो छोरीको उत्कृष्ट नतिजाले निकै खुसी भएको बताए । छात्रा स्मृतिसँगै लिंकन पनि उत्कृष्ट भएको संस्थापक निर्मला श्रेष्ठले बताइन् । वि.सं. २०५२ सालमा स्थापना भएको ज्ञानज्योति ईङिलस बोर्डिङ नामबाट संचालन भएको उक्त विद्यालयको पछि नाम परिवर्तन गरि लिंकन इन्टरनेशनल स्कुल राखिएको हो । एसएलसीमा सहभागी भएदेखि नै निरन्तर रुपमा नै उत्कृष्ट नतिजा ल्याउँदै आएको यो सफलता पनि उत्कृष्टताको निरन्तरता भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र सापकोटाले बताए । उनले भने– ‘स्कूलले निरन्तर एसईईमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । यो वर्षको नतिजा अझै उल्लेखिनिय छ । अब यो निरन्तरताको लागि हामी अझै लाग्ने छौं ।’ जिल्लाबाट उत्कृष्ट अंक ल्याएर जिल्ला प्रथम हुन सफल भएको भन्दै बधाई ज्ञापन गर्दै धिमे बाजा सहित नाला परिक्रमा गरिएको थियो । यस वर्ष विद्यालयबाट १९ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका थिए ।

यि हुन् उत्कृष्ट विद्यार्थी 
संस्थागतमा लिंकन, सामुदायिकमा भालेश्वर र प्राविधिकमा जनक माविका विद्यार्थी उत्कृष्ट देखिए । 

    धुलिखेल/एसईई २०८० को परीक्षाफलमा काभ्रेपलाञ्चोक जिल्लाबाट उत्तिर्ण भएका विद्यार्थीहरु मध्ये लिंकन इङ्गलिस बोर्डिङ्ग स्कुलकी छात्रा स्मृति श्रेष्ठ ४ जिपिए सहित प्रथम भईन् । बनेपामा रहेको प्रगति प्रभात एकेडेमीमा अध्ययनरत चन्दनी पराजुली र इनोभेटिभ एकेडेमी बनेपाका विमोचन ढकाल दुवैले बराबरी ३.९६ जिपिए सहित जिल्लामा दोश्रो भएका छन् । त्यस्तै गोल्डेन सिद्धार्थ एकेडेमीका प्रवेश श्रेष्ठले ३.९२ जिपिए ल्याए । नेपाल पुलिस स्कुलका सम्भव अधिकारी र सिद्धार्थ मावि बनेपाका अभिषेक बञ्जाराले ३.९१ जिपिए ल्याएका छन् । 
    सामुदायिक विद्यालय तर्फ भालेश्वर माविबाट सविना कार्कीले सबै भन्दा धेरै जिपिए ३.८६ जिपिए ल्याएकी छिन् । भालेश्वरकै सुशान्त हुमागाईले ३.८३ जिपिए ल्याए । प्रभा माविकी रिचा गिरीले ३.८२ प्रतिशत ल्याएकी छिन् । प्राविधिकतर्फ जनक मावि नमोबुद्धका कुशल खनालले ३.६० जिपिए ल्याए । जनक माविकै राविन यादवले ३.६६ जिपिए ल्याए । जनक माविकै श्रीखण्डराज खनालले ३.६८ प्रतिशत ल्याए भने खाँडादेवी माध्यमिक विद्यालय चौरीदेउरालीमा अध्ययन गर्ने प्रजिता श्रेष्ठले ३.६० जिपिए ल्याईन् । 

ग्रेड बृद्धिका लागि कक्षा
    माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड बृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीका लागि अतिरिक्त कक्षा संचालन गर्ने भएको छ । नेपाल टेलिभिजन र रेडियो नेपालबाट विहान ६ बजे देखि ७.५५ सम्म र साँझ साढे ४ देखि साढे ६ बजेसम्म कक्षा शुरु हुनेछ ।     नेपाल टेलिभिजनबाट अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषय विहान पढाई हुनेछ । त्यस्तै साँझ सामाजिक, विज्ञान, गणित र अंग्रेजी विषयको अध्ययन हुनेछ । रेडियो नेपालबाट गणित, सामाजिक, विज्ञान र अंग्रेजी विषयको अध्ययन हुनेछ । ग्रेड बृद्धिका लागि परीक्षा दिनेहरुले उक्त समयमा कक्षा लिन सकिने शिक्षा समन्वय इकाई काभ्रेका प्रमुख देवका ढकालले जानकारी दिईन् ।