2026 August 29/ 02:35: 28pm

– तीन अर्ब चाहिने, एक अर्ब २४ करोड बजेट विनियोजन
    धुलिखेल/सुर्यविनायक धुलिखेल सडक खण्ड निर्माण कार्यमा २७ प्रतिशत प्रगति भएको छ । सुर्यविनायक–साँगा खण्डमा २५ र साँगा–धुलिखेल खण्डमा ३० प्रतिशत निर्माण कार्य सकिएको छ । साईड वाल, कल्र्भट लगायतका महत्वपूर्ण निर्माणका कार्यहरु ८० प्रतिशत सकिएको छ । पर्याप्त बजेटको श्रोत नहुँदा निर्माण ब्यवसायीहरुले तोकिएको समयमा सडक निर्माण कार्य सक्ने सम्भावना कम हुँदै गएको छ । 
    ‘सुर्यविनायक–धुलिखेल सडक खण्डमा २७ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वाधार निर्माणको ८० प्रतिशत काम सकिएको छ’– आयोजनाका इन्जिनियर नारायण लामिछानेले भने–‘यतिखेर ४०–४५ प्रतिशत कार्य सकिनु पथ्र्याे । चालु आ.व.मा ५४ करोड रुपैयाँ मात्रै बजेट विनियोजन भएकाले निर्माण ब्यवसायीहरुलाई कामको चाप भए पनि प्रगति निकाल्ने गरी कार्य गराउन असम्भव भयो । तर पनि सरकारले ८३ करोड थप गरेकाले ढिलो गरी भए पनि सम्पन्न भएको कार्यको भुक्तानी सम्भव भयो ।’ पूर्वाधार निर्माणको धेरै कार्य सकिएकाले अब देखिने प्रगतिमा धेरै खर्च हुनेछ । उक्त खर्चको रेसियो आगामी वर्ष झण्डै ३ अर्ब बराबरको हुनेछ । तर सरकारले आयोजनाको सम्पूर्ण खर्च समेत गरी एक अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ । 
    श्रोत सुनिश्चित नहुँदा निर्माण ब्यवसायीहरुले मजदुर तथा निर्माण सामाग्री ब्यवस्थापनमा ढिला सुस्ति गर्नेछन् । जसका कारण तोकिएको समयमा आयोजनाको कार्य सम्पन्न हुने छैन । सडक आयोजनाले निर्माण सकिए लगत्तै सडकमा ग्राभेल, कालोपत्रेका लागि बेस विछ्याउने र पिचको कार्य शुरु गर्ने बताए । उक्त कार्य शुरु भए पछि प्रगति र खर्च दुबै धेरै देखिन्छ । तर पनि सरकारसँग पर्याप्त बजेट नभएकाले समयमै उक्त कार्य हुनेमा आशंका गरिएको छ । स्थानीय सरकारको समन्वयमा ढल तथा खानेपानीका लाईनहरुको मर्मत, सम्भार तथा विस्तार, विजुलीका लागि विद्युत्त पोलहरुको विस्तार लगायतका अन्य कार्यहरु भईरहेको आयोजनाका प्रमुख ईन्जिनियर राजेन्द्रप्रसाद दासले बताए । 
    सरकारले आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेटमा ५४ करोड विनियोजन गरेको भए पनि पछि ८३ करोड रकम थप गरेको थियो । कुल बजेट १ अर्ब ३७ करोडमा १ अर्ब १४ करोड भुत्तानी भएको छ । १५ करोड रुपैया जगाते, भैसेपाटी स्थित विकटेश्वर र बनेपा स्थित पुलबजारको पुल निर्माणका लागि आवश्यक ब्यवस्थापनका लागि खर्च भएको छ । आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि १ अर्ब २४ करोड रकम विनियोजन भएको छ । सोहि शिर्षकबाट १५ करोड रुपैया मुआब्जा शिर्षकमा विनियोजन भएको छ । घर टहरा लगायत कुनै कुनै स्थानमा जग्गाको समेत मुआब्जा दिनु पर्ने छ । २८ किलो नजिकै पेट्रोल पम्प अगाडिको ४ रोपनी जग्गाको सरकारी दररेटमा मुआब्जा उपलब्ध हुने भएको छ भने साँगा लगायतका केहि स्थानमा रहेका घर टहराको मुआब्जा भुक्तानी हुनेछ । जगाती लगायतका स्थानमा रहेका घरहरुको पनि मुआब्जा सोहि शिर्षकबाट भुक्तानी हुनेछ । पुल निर्माणका लागि १२ करोड रकम विनियोजन भएको छ । करिव ८६ करोड रकम मात्रै निर्माण क्षेत्रमा खर्च हुनेछ । 
    सडक आयोजना निर्माण भईरहँदा धुलिखेलबाट विद्युत्तका पोलहरु धमाधम गाड्न शुरु गरिएको छ । गाडिएका विद्युत्त पोलहरुमा एंगल राख्ने काम शुरु भएको छ । तार राख्ने कार्य छिट्टै गर्ने गरी शुरु तयारी गरिएको छ । बनेपाको बुडोलसम्म पोलहरु गाडी सके पछि बनेपा बजार आतंकित भएको छ । सोहि क्रममा पोल गाडिँदा बनेपामा बनि सकेका घरहरुको झ्यालमा तार पुग्नेछ । जोखिम धेरै हुने भएकाले आयोजनाले बजार क्षेत्र भित्र पोल राख्ने स्थानको खोजी गरिरहेको छ । ‘बनेपा बजार क्षेत्रमा विद्युत्त पोल र तारबाट उत्पन्न संकट आउन नदिन पोल गाड्ने र दीर्घकालिन समस्या समाधानको पहल भईरहेको छ’–आयोजना प्रमुख दासले भने–‘बजार आतंकित हुनु पर्दैन । त्यसको ब्यवस्थापन गर्ने तयारी भईरहेको छ ।’