2026 August 30/ 02:49: 20pm

विकास तिमल्सिना
खानीखोला

    नयाँ वर्षको अवसर पारेर खानीखोला गाउँपालिकाको ताल्ढुंगा केन्द्र पुग्ने गरी बनेपा–ताल्ढुंगाका लागि खानीखोला यातायात प्रालीले सुमो मार्फत सेवा शुरु गरेको छ । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले सेवा प्रारम्भ गरेका थिए । 
    ‘वर्षभरी नै यातायात सेवा संचालन गर्ने गरी शुरु गरेको खानीखोला यातायात प्रालिले नागरिकहरुका आवश्यकता पूरा गर्न साकोस’–अध्यक्ष थिङले भने–‘विहान सदरमुकाम पुगेर साँझ घर फर्कने गरी प्रारम्भ गर्न लागेको सेवाको निरन्तरताका लागि आवश्यक समन्वय र सहजीकरण गाउँपालिकाले गर्नेछ ।’ ताल्ढुंगाबाट बनेपासम्मका लागि एउटा बस नियमित संचालन हुँदै आएको छ । काभ्रे पुण्यवती प्रालिले पनौतीबाट नियमित जाने र आउने गरी बस सेवा संचालन गरेको छ । नागरिकहरुले बस छुट्ने सेवा बाहेक अन्य समयमा समेत यातायात सेवा सुचारु गर्ने गरी सुमो संचालन गर्न लागिएकोमा स्थानीयहरु समेत खुशी भएको उपाध्यक्ष दोर्जेमान जिम्बाले बताए । 
    खानीखोला यातायात प्रालिले पहिलो चरणमा पाँचवटा सुमो मार्फत सेवा दिनेछ । खानीखोला हुँदै मकनवानपुरका र ललितपुरका विभिन्न क्षेत्र हुँदै पनि बस सेवा शुरु भएको छ । ताल्ढुंगा हेटौडा सुमो सेवा पनि संचालनमा छ । तर ताल्ढुंगा बनेपा सुमो सेवा थिएन । ‘सुमो मार्फत खानीखोला बासीहरुलाई घर दैलोमा नै सेवा उपलब्ध गराउने घोषणा गरेका छौं’–कम्पनीका अध्यक्ष राजकुमार बञ्जाराले भने–‘खानीखोलाबाट धुलिखेलसम्म आउने नागरिकहरुलाई विहान ल्याएर बेलुका घर पु¥याउने गरी रुट र समय तय गरेका छौं ।’ अध्यक्ष बञ्जाराले स्थानीयहरुको आवश्यकता, सडकको अवस्थाका आधारमा सेवा उपलब्ध गराउने बताए । ‘हामी ब्यवसायसँगै सेवा दिन तत्पर भएर आएका छौं’–अध्यक्ष बञ्जाराले भने–‘नागरिकहरुले कुनै गुनासो नगर्ने गरी सेवा निरन्तर संचालन गर्नेछौं ।’ 
    सुमोले धुलिखेल सदरमुकामका विभिन्न कार्यालयहरुमा हुने सेवा लिएर घर फर्कने गरी यात्रुहरुलाई सहज सुविधा उपलब्ध गराउने र नागरिकहरुले चाहेको अवस्थामा धुलिखेल अस्पताल, मालपोत कार्यालय र नागरिकता बनाउने जिल्ला प्रशासन कार्यालयबाट नियमित भाडामा नै सेवा दिने गरी कम्पनीले निर्णय गरेको उनले बताए । खानीखोलाका विभिन्न स्थानसम्म जान र विरामी भएको अवस्थामा तथा यात्रुहरुको अवस्थालाई ध्यानमा राख्दै सेवा प्रवाह गरिने संचालक सुर्वण लामाले बताए । कम्पनीमा राजकुमार बञ्जारा, अशोक भुजेल, सुर्वण लामा, राजकुमार त्रिपाठी र सन्तोष रायभार संचालक छन् । बनेपामा प्रधान कार्यालय र काउन्टर रहने गरी स्थापना गरिएको उक्त यातायात प्रालीको ताल्ढुंगामा र पनौतमिा काउन्टर रहने छ । बनेपा–ताल्ढुङ्गा जाने गरी दुईवटा रुट तय गरेको छ । बनेपा–पनौती–ढुंर्खक–च्याम्ब्राङ्गबेशी–सुकुमफेदी–गुमराङ–कटुवादेवीडाँडा–हेल्टार–दुर्लुङ्गखोला हुँदै ताल्ढुंगा र बनेपा–खोपासी–कामिडाँडा–स्याउरेथली हुँदै ताल्ढुंगा तथा स्याउरेथलीबाट आवश्यकता अनुसार पालिकाका विभिन्न वडा हुँदै ताल्ढुंगा पुग्ने गरी रुट तय गरिएको अध्यक्ष बञ्जाराले बताए । २०७५ सालसम्म सडक सञ्जाल समेत नभएको खानीखोलामा अहिले विभिन्न मार्ग हुँदै ताल्ढुंगासम्मको यात्रा गर्न सकिन्छ ।