2026 August 30/ 11:49: 15am

– धुलिखेलमा बागमती प्रदेश स्तरीय स्वास्थ्य तालिम केन्द्र स्थापना गर्ने निर्णय

    धुलिखेल/धुलिखेल नगरपालिका नगर कार्यपालिकाको २७ औ बैठकले नगरपालिकाका विभिन्न गतिविधिहरुलाई प्रभावकारी रुपमा संचालन गर्न नगर स्तरीय ७ वटा परिषद् गठन गर्ने निर्णय गरेको छ । यस अघि ५ वटा परिषद्ले नगर भित्र विभिन्न गतिविधिहरु संचालन गरिरहेका छन् । नगर क्षेत्र भित्रको गरिवी न्यूनीकरण गर्न तथा आम नागरिकहरुको पहूँच स्थापित गर्न परिषदहरु प्रभावकारी हुनेछन् । 
    नगर कार्यपालिका अध्यक्ष एवं नगरपालिका प्रमुख अशोक ब्याञ्जुले धुलिखेलाई पर्यटन, कृषि, खेलकुद, उद्यम तथा ब्यवसाय, कला र साहित्य लगायतका क्षेत्रको विकाससँगै नगरका समग्र योजनाहरुको निर्माणका लागि थप ७ वटा परिषद् गठन गर्ने निर्णय गरेको जानकारी दिए । ‘कला, साहित्य र संगितको विकासका लागि प्रज्ञा परिषद्, धुलिखेलको समग्र पर्यटन क्षेत्रको विकासका लागि पर्यटन परिषद्, कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि कृषि परिषद्, उद्योगहरुको विकासका लागि उद्यम परिषद, ब्यवसायीहरुको हित तथा विकासका लागि ब्यवसायी परिषद्, खेल क्षेत्रको विकासका लागि खेलकुद परिषद् र समग्र योजनाहरुको निर्माणका लागि योजना परिषद् गठन गर्ने निर्णय भएको छ’–नगर प्रमुख ब्याञ्जुले भने–‘यस अघि गठन भएका युवा, महिला, दलित, अपाङ्गता र आदिवासी जनजाति परिषद्ले गरेका कार्यहरुको उपलब्धी र आगामी दिनमा थप प्रभावकारी बनाउन गर्नु पर्ने कार्यहरुका बारेमा समेत नगर कार्यपालिकाको बैठकले सुझाव सहितको निर्णय गरेको छ ।’ 
    सामाजिक समावेशी, गरिवी न्यूनीकरण, बालबालिका तथा बैदेशिक रोजगार ब्यवस्थापनका लागि परिषद्हरु गठन तथा परिचालन गर्दै आएको नगर कार्यपालिकाका सदस्य सचिव एवं प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगरले बताए । ‘नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने सबै वर्ग विशेष गरी अपाङ्गता, महिला, दलित, आदिवासी जनजाति तथा युवा बर्गलाई लाभ पुग्ने गरी स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी विभिन्न परिषद्हरु गठन भएका थिए’–प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगरले भने–‘परिषद्हरु गठन तथा संचालनका लागि २०७५ मा जारी गठन तथा संचालन कार्यविधि अनुसार मेयर गरिवी निवारण कार्यक्रम मार्फत लक्षित कार्यक्रमहरु कार्यान्वयनका लागि थप परिषद्हरु गठन गरिएको हो ।’ परिषद्को अध्यक्षमा नगर प्रमुख र सह अध्यक्षमा नगर उपप्रमुख रहने ब्यवस्था छ । साथै सम्वन्धित वर्गको प्रतिनिधि कार्यकारी उपाध्यक्ष रहने र सबै वडाहरुबाट तत् तत् वर्गबाट १÷१ जना सदस्य रहने ब्यवस्था परिषद गठन तथा संचालन कार्यविधि २०७५ ले गरेको छ । 
    परिषद्हरुले सम्वन्धित वर्गको आवधिक तथा बार्षिक योजनाको उदेश्य, लक्ष्य तथा नीति तय गर्ने, सबै लक्षित वर्गको लगत तयार गर्ने, नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न नगरकार्यपालिकालाई सुझाव दिने, जीवन स्तरमा सुधार ल्याउने खालका आयमुलक तथा रोजगारमुलक कार्यक्रमहरुको पहिचान, संचालन गर्न सहयोग गर्ने, नगर तथा वडा स्तरीय कार्यक्रमहरु संचालन गर्न सहजिकरण गर्ने, लक्षित वर्गको समग्र विकास र सशक्तिकरणका विषय क्षेत्रहरु तय गर्ने, योजना तर्जुमा तथा कार्यान्वयनमा आधिकारीक सहभागिता गराउने, संचालित कार्यक्रमहरुको अनुगमन गर्ने र तत्काल सुधारका लागि पृष्ठपोषण प्रदान गर्नेछन । यस अघि गठित परिषद्हरुले गरिवी निवारणका लागि आयमुलक कार्यहरु गरी महत्वपूर्ण भूमिका खेलेका छन् । 
    नगर कार्यपालिकाको बैठकले बागमती प्रदेश सरकारले काभ्रेको धुलिखेलमा स्थापना गर्ने गरी निर्णय गरेको प्रदेश स्तरीय स्वास्थ्य तालिम केन्द्रका लागि आवश्यक पर्ने जग्गा र तत्कालका लागि भवन उपलब्ध गराउने निर्णय गरेको छ । उक्त कार्यका लागि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट धुलिखेल नगरपालिकालाई मन्त्रीस्तरीय निर्णय सहित जग्गा र भवन उपलब्ध गराउन माग भएको थियो । सोहि माग अनुसार जग्गा र भवन उपलब्ध गराउने निर्णय भएको हो ।