धुलिखेल/भोलि चैत्र १५ गते विहिबारबाट शुरु हुने एसईई परीक्षा २०८० को शिक्षा समन्वय इकाई काभ्रेपलाञ्चोकले सम्पूर्ण तयारी पूरा गरेको छ । शिक्षा समन्वय इकाई धुलिखेलकी प्रमुख उप सचिव देवका ढकालका अनुसार जिल्लामा तय गरिएका सबै परीक्षा केन्द्रका लागि आवश्यक पर्ने प्रश्नपत्र र उत्तरपुस्तिका प्रहरी कार्यालय मार्फत उपलब्ध गराई सकिएको छ ।
‘जिल्लामा ५ हजार ९ सय ५६ विद्यार्थीहरुका लागि ४० वटा परीक्षा केन्द्र तय गरिएको छ’–शिक्षा समन्वय इकाई धुलिखेलकी प्रमुख उप सचिव देवका ढकालले भनिन–‘नियमित तर्फ ५ हजार ७ सय १९, एक्जाम्टेड तर्फ ३२ र प्राविधिक विषयका २ सय ५ जना विद्यार्थी परीक्षामा सहभागि हुनेछन् ।’ परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिका सुरक्षा निकाय मार्फत सम्वन्धित केन्द्रहरुमा उपलब्ध गराई सकिएको छ । परीक्षाका लागि प्रति केन्द्र १५ जना प्रहरी खटिनेछन् । ६ सय प्रहरीले परीक्षा केन्द्रमा सुरक्षा दिनेछन् । परीक्षा संचालन गर्न आवश्यक पर्ने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकहरु छनौट गरी आवश्यक प्रशिक्षण समेत दिई सकिएको छ ।
यो वर्ष तीनवटा केन्द्रमा महिला केन्द्राध्यक्ष रहेका छन् । विद्यार्थी संख्याका आधारमा सहायक केन्द्राध्यक्ष र निरिक्षक राखिएको छ । ‘परीक्षालाई मर्यादित, ब्यवस्थित, शान्तिपूर्ण र भयरहित वातावरणमा संचालन गर्ने गरी तयारी पुरा भएको छ’– समन्वय इकाई प्रमुख उप सचिव देवका ढकालले भनिन्–‘एसईई परीक्षाका बारेमा स्थानीय सरकारलाई अनुगमनका लागि अनुरोध गरिएको छ भने जिल्ला परीक्षा समन्वय समितिका पदाधिकारीहरुबाट समेत परीक्षाको नियमित अनुगमन गरिनेछ ।’ कार्यालयले अनुगमनका जानेहरुलाई पनि मर्यादा कायम राख्न पास लगायतका ब्यवस्था नगरिएको जनाएको छ ।
परीक्षामा पूर्ण सञ्जिवनी मावि, सर्वमंगला मावि, लक्ष्मीनारायण मावि, आजाद मावि बनेपा, हनुमान मावि, सरस्वती मावि गोठपानी र गोकुले मावि महाभारतमा प्राविधिक विद्यालयका केन्द्रहरु तोकिएका छन् । नजिक रहेका प्रहरी चौकीहरु मार्फत प्रश्नपत्र र उत्तरपुस्तिका लैजाने गरी ब्यवस्था मिलाईएको छ । परीक्षा दिनेहरुमा बहिरा विद्यालयबाट ११ जना छन् । ३४ वटा विद्यालयबाट १० भन्दा कम विद्यार्थी छन् । गाउँमा रहेका अधिकांश विद्यालयहरुमा विद्यार्थी संख्या घटिरहेको छ । शहरी क्षेत्रका विद्यालयहरुमा निजीमा भन्दा सामुदायिकमा धेरै देखिएका छन् । आजाद मावि बनेपाबाट खुल्ला तर्फका १० जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् भने अनौपचारिकतर्फ १ सय ८१ जना विद्यार्थी विद्याकुञ्ज अनौपचारिक माविबाट सहभागी हुँदैछन् ।
शिक्षा समन्वय इकाई धुलिखेलकी प्रमुख उप–सचिव देवका ढकालले गतवर्ष कायम भएका केन्द्रहरुलाई नै यो वर्ष निरन्तरता दिएको बताईन् । कृष्ण मावि दाप्चाले प्राविधिक कारण देखाउँदै केन्द्र राख्न असहमति गरे पछि नजिकै रहेको लक्ष्मी नारायण माविमा केन्द्र राखिएको छ भने तेमालमा रहेको पञ्चकन्या माविबाट नारायणस्थान मावि पोखरीनारायणस्थान सारिएको छ ।









