2026 August 30/ 10:50: 40am

बिजयभक्त श्रेष्ठ
    राज्यले निश्चित उमेर पार गरेको अवस्थाका नागरिकलाई जेष्ठ नागरिकको दर्जा दिई सोहि बमोजिमको सामाजिक सेवा सुविधा उपलब्ध गराउने नीति बनाउँछ । नीति बन्नु र नियती भोग्नु अलग अलग बिषय हुन । जीवन र जगतका बारेमा हामीले धेरै सुनेका छौ । जानेका र भोगेका छौ । मानविय कर्म र धर्मका बारेमा पनि हामी सचेत छौ । हामीले आ–आफ्नो जिम्मेवारी बोध गरि दायित्व निर्वाहमा इमान्दारिता पस्कन सके सुन्दर शान्त र बिशाल हाम्रो घर परिवार समाज मुलुक र जगत नै लाग्न सक्छ ।
    एउटा प्रयास जेष्ठ नागरिक मिलन केन्द्रको नाममा थालेका छौ । सुवर्ण श्रेष्ठको पहलमा थालिएको जिउँदा देवगणहरुको स–सम्मान जीवन गुजारा गर्न सहजीकरण गर्ने अभियान हो यो । शनिवारका दिन भेला भएर बातचित गर्ने रमाइलो गर्ने व्यक्तिगत सरसफाइ गर्ने लगायत आगामी नीति तथा कार्यक्रमहरु बनाउने सम्बन्धमा छलफल गरि साप्ताहिक भेटघाटले निरन्तरता पाई रहेकै छ । हरेक जमघटमा एकखाले उर्जा मिल्छ । अब केहि हुन्छ । केहि गर्नुपर्छ । अवश्य पनि साथ र सहयोग पाईन्छ । सबैको सुझाव सल्लाह आर्शिवादले केन्द्रको ओत र ओज बिस्तार हुन्छ भन्ने लागि रहेछ । हाम्रा शुभचिन्तक तथा अनन्य मित्रहरुले पनि हाम्रो चर्तिकलाको निकै तारिफ गर्नु भएको र हामीलाई नि सम्झनुस् है भन्नु भएको छ । त्यही भएर हामी हौसिएका छौं ।
    जेष्ठ नागरिकको हैसियत तथा अवस्था जोसुकैले पाउन सक्ने अवस्था होइन । कुरा सुन्नु बुढाको त्यसै भनिएको होइन । उहाँहरुको ज्ञान अनुभवसँग साक्षात हुन सके पुस्तान्तरणको समस्या हुने थिएन । बैज्ञानिक उपलब्धताका कारण विश्व साँघुरिएको अवस्थामा जेष्ठ नागरिकहरुसँग समय विताउन कसलाई फुर्सद होला र ? कृत्रिम संसारमा रमाउन खोज्नेहरुले जिउँदा देवताहरुसँगको सानिध्यतालाइ बेवास्ता गरि आएको अवस्थालाई क्रमभङ्ग गर्नु जरुरी छ । उमेर ढल्केको महसुस नहुने गराई स्वास्थ्य तन्दुरुस्त बनाउन स्वास्थ्य शिविर तथा प्रवचनहरु आयोजना गर्ने, सरसफाई सहित सुहाँउदो पहिरनमा सुसज्जीत गराई विभिन्न स्थलहरुको अवलोकन भ्रमणमा लिएर जाने, घरपरिवारका सदस्यहरु समेत साथै राखि विज्ञहरु सँग घुलमिल गराउने, मनोरञ्जन खेलकूद र व्यायाम तथा योगका ज्ञान र सरल अभ्यासहरु गराउने, समग्रमा उमेर घटाउने र आयु बढाउने फर्मुला अपनाउने जस्ता कार्यहरूले निश्चितरूपमा जीवन र जगतलाई हेर्ने नजरियामा सकारात्मकता बृद्धि गराउँछ । जेष्ठ नागरिक घरका बोझ होइनन् उत्प्रेरणाका श्रोत हुन् । कतै आश्रममा थन्काइनु पर्ने सामान होइनन् अपरिहार्य गहना हुन । टोलटोलमा मिलन केन्द्रहरु सञ्चालन हुनुपर्छ । मिलन केन्द्रमा घरपरिवारका अन्य सदस्यहरु समेत आउने बस्ने र सहयोग गर्ने वातावरण बन्नुपर्छ । मोबाइल तथा सामाजिक सञ्जालमा रुमलिनु भन्दा उहाँहरु सँग भलाकुसारी गरेर घुलमिल भएर साथ दिनु पर्छ । एकापसमा समन्वय गरि जेष्ठ नागरिकको स्याहार संरक्षण गर्ने घरपरिवारलाइ प्रोत्साहित गरिनु पर्छ । स्थानीय तहले पुरस्कृत गरोस् जेष्ठ नागरिकमैत्री घरलाई । स्थानीय कार्यक्रमहरुमा उहाँहरुलाइ नै प्रमुख अतिथि तथा बिशेष अतिथिको सम्मान दिन सकिन्छ । ठुलाबडाहरुको खोजी जरुरी छैन । राज्यले दिएको सेवा सुविधा समेतबाट बञ्चित गराउने वा घटिया राजनिति गर्ने प्रवित्तिलाई दुरुत्साहन गर्नु पर्छ ।
    मिलन केन्द्रले जेष्ठ नागरिकहरूलाइ तीर्थ यात्रा, स्वास्थ्य शिविर, प्रवचन, सचेतना, नाचगान लगायतका विविध कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । सबै कार्यक्रम तथा अभियानहरूले खुशी नै बाँडेको छ । बिल्कुलै नयाँ कार्यक्रमका रूपमा श्रृँगार शिविर सञ्चालन गर्ने सोच बनाएका छौ । के कसरी यस शिविरलाई सफलीभुत बनाउन सकिन्छ भन्ने सन्दर्भमा यहाँहरूको अमुल्य सहयोग र सुझावका अपेक्षा गरिएको छ ।

के हो श्रृँगार शिविर
    ‘बुढो भयो रूप रँग गयो आँगन भयो परदेश’ भन्ने पुरानो उखानलाइ सुधार गर्नु जरुरी छ । उमेर पचपन तर मन बचपन । उमेर गयो बैश गयो मन भने तन्नेरी । अव मन मात्रै होइन तन पनि तन्नेरी बनाइ राख्न दैनिक जीवनमा केहि नयाँ अभ्यासहरु थालनी गर्नुपर्छ । योग ध्यान जप हिँडाइ घुमाई मनोरञ्जन र पोषिलो खानपिनका साथै साजसज्जाले मज्जा अनुभूति गराई जीवन जीउन उत्साहित गर्ने हेतुले केन्द्रले निरन्तर केहि न केहि नयाँ कार्यक्रम गरि आएको छ । नयाँ कार्यक्रम हो श्रृँगार शिविर । केश श्रृँगार र मुहारको सरसफाइ गरि अनुहारमा चमक ल्याउने प्रयत्न हो श्रृँगार शिविर । ब्युटी तथा हेन्डसम पार्लरलाई व्यवसायका रुपमा सञ्चालन गरि आउनुहुने महानुभावहरुका लागि जीउँदा देवगणहरुलाइ सेवा गर्ने अवसर हो श्रृँगार शिविर । 
    श्रृँगारिक सामाग्रीहरु विक्रीवितरण पेशामा सँलग्न महानुभावहरुका लागि पनि सेवा गर्ने अवसर हो श्रृँगार शिविर । उत्पादकहरुका लागि व्यवसायिक प्रर्वद्धनको अवसर हो श्रृँगार शिविर । समग्रमा जेष्ठ नागरिकहरुको मुहारमा चमक ल्याउने यस कार्यक्रमले घर परिवार समाजका समस्त नागरिकहरुको अनुहारमा उज्यालो देख्न पाउने सुवर्ण अवसर हो श्रृँगार शिविर ।

– कहिले ? २०८० चैत्र महिनाको तेश्रो शनिवार विहान ११ बजेदेखि २ बजेसम्म । 
– कहाँ ? जेष्ठ नागरिक मिलन केन्द्र नौविसेफाँट पनौती नगरपालिका वडा न ९ काभ्रेपलाञ्चोक ।
– कति ? लाभान्वित सँख्या ६५ जना ९ सउ २० पुरुष र ४५ महिला । 
– को कस्ले गर्ने ? व्युटी पार्लर व्यवसायी शुभेच्छुकहरुको सक्रियतामा गर्ने ।
– के कती सामाग्रीहरु चाहिन्छन ? व्युटी पार्लर पेशाकर्मी सँगको परामर्श गरेर तय गरिने ।
– कता बाट उपलव्ध गराउने ? पसल व्यवसायीहरु सँग माग गर्ने र नपुग सामाग्रीहरु खरिद गर्ने ।
– के के गर्ने ? केश बनाउने । मेहेन्दी लगाउने । दाह्री जुँगा काँटछाट गर्ने । मुहार सफा गरिदिने । फेसवास । क्लिन्जीङ्ग । मोस्चराइजिङ्ग । टिका गाजल लिपिस्टिक लगाउने । नङ सफा गरिदिने । र परामर्श दिने । दाताहरुले सहभागी जेष्ठ नागरिकहरुलाइ विभिन्न उपहारहरु पनि दिन सकिनेछ जस्तै कि नेल कटर चुरा पोते टुथ ब्रश ग्लिसिरिन धागो आदि ।
– को हुन सम्पर्क व्यक्ति र कति हो नम्वरहरु ? ९८५१०१२५५२ सुवर्ण । ९८४१३१२२९९ बिजय । ९८४९०१२६६ उद्धव । ९८४०८२४८११ सुवास । ९८४१००७७७० ओमकृष्ण ।

अहिले नगरे कहिले ? हामीले नगरे कसले ? मनन गरौ । सोचौ । सम्झौ ।
कस्तो हुनुपर्छ त केन्द्र ?
केन्द्रले के के गर्ने ?
कसरी गर्ने ?
कहिले गर्ने ?
तपाइको राय र भुमिका के ?
    यि र यस्तै विविध विषय र जिज्ञासा उपर यहाँहरुको राय सुझावले योजना र अभियानलाई सार्थक सहज र सफल बनाउने बिश्वास छ । म पनि भोलिको जेष्ठ नागरिक हुनेछु भन्ने हेक्का सदैव राख्नुहोस् । हामीलाई पनि घच्घच्याई रहनुस् । यो केवल शुरुवात हो । कहिल्यै नसकिने नटुँगिने अभियान हो । अभियानको अविरलताका लागि साथ सहयोग र सुझावहरु अपेक्षित छ । धन्यवाद ।

पनौती ९ नौविसेफाँट
काभ्रेपलाञ्चोक ।