धुलिखेल/राष्ट्रिय प्राकृतिक स्रोत ताथ वित्त आयोगले स्थानीय तहहरुले गरेको कार्य सम्पादनका आधारमा उपलब्ध गराउने मुल्यांकनको अन्तिम नतिजा सार्वजनिक गरेको छ । ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको काभ्रेपलाञ्चोक जिल्लामा धुलिखेल नगरपालिकाहरु मध्ये प्रथम र १३ वटै पालिकाहरु मध्ये रोशी पहिलो भएको छ । रोशी गाउँपालिकाले ७२.३९ नम्वर प्राप्त गरेको छ । धुलिखेल नगरपालिकाले ६६.५३ नम्वर प्राप्त गरेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग कार्यसम्पादन मुल्यांकन बापत प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अन्तिम नतिजा फागुन २९ गते सार्वजनिक गरेको हो । फागुन ८ गते नेपाल सरकारबाट आर्थिक वर्ष २०८१÷०८२ का मा आयोगको सिफारिसमा उपलब्ध गराईने वित्तीय समानीकरण अनुदान अन्र्तगत कार्यसम्पादन मुल्यांकन वापत प्रदान गरिने अनुदानका लागि प्रदेश र स्थानीय तहले कार्यसम्पादन सूचक बापत प्राप्त गरेको अंकको नतिजा फागुन ८ गते प्रकाशन गरी पुनरावलोकनका लागि सात दिनको समय दिएको थियो । सोहि अवधीमा पालिकाहरुले प्राप्त गरेको नम्वरमा चित्त नबुझेको अवस्थामा प्रमाण र तथ्य सहित पुनरावलोकन गर्न सकिने थियो । पुनरावलोकनका लागि प्राप्त आवेदनहरुको अध्ययन पछि आयोगले फागुन २९ गते अन्तिम नतिजा सार्वजनिक गरेको थियो । वित्त आयोगले पालिकाहरुका लागि १७ वटा सूचकमा मुल्यांकन गरेको थियो । हरेक सूचकमा प्राप्त हुने नम्वरका आधारमा पालिकाहरुको मुल्यांकन गरिएको आयोगले जानकारी दिएको छ ।
१३ पालिकामध्ये धुलिखेल नगरपालिका दोश्रो भएको छ । जिल्लामा रहेका ६ वटा पालिका मध्ये धुलिखेल पहिलो भएको छ । धुलिखेलले ६६.५३ नम्वर प्राप्त गरेको छ । जिल्लाको सबै भन्दा कमजोर पालिकाका रुपमा भुम्लु गाउँपालिका रहेको छ । भुम्लुले ४३.५० नम्वर प्राप्त गरेको छ । बनेपा नगरपालिकाले ६६.५०, पाँचखाल नगरपालिकाले ६५.७६, चौरीदेउराली गाउँपालिका ६३.५८, नमोबुद्ध नगरपालिका ६२, बेथान्चोक गाउँपालिका ५९.४४ नम्वर प्राप्त गरेको छ ।
त्यस्तै महाभारत गाउँपालिकाले ५८.८२ प्रतिशत, पनौती नगरपालिका ५५.८२, तेमाल गाउँपालिका ५२.२४, खानीखोला गाउँपालिका ५०.३४, मण्डनदेउपुर नगरपालिकाले ४६.२८ नम्वर प्राप्त गरेको छ । नगरपालिकाहरु मध्ये मण्डन देउपुर नगरपालिका कमजोर देखिएको रहेछ । मण्डन देउपुर पछि पनौती नगरपालिका कमजोर देखिएको छ । चौरीदेउराली गाउँपालिकाले नमोबुद्ध नगरपालिकालाई उछिनेको छ ।









